मेलबर्नकी पारु सापकोटा आफ्नो बच्चालाई अटिजम् छ भनेर डाक्टरहरूले बताउँदा, आफूलाई उक्त कुरा स्विकार्न केही समय लागेको भनाइ राखेकी छिन्।
Mum माने आमा पोडकास्ट श्रृङ्खलाको छैठौँ भागमा आफ्नो मातृत्वको अनुभव सुनाउने क्रममा उनले आफ्नो बच्चामा केही अटिजम्का लक्षणहरू देखिए पनि त्यो अवस्थालाई स्विकार्न गाह्रो भएको बताएकी हुन्।
छोरीको जाँच गरेर अन्त्यमा डाइग्नोसिसको कागज दिँदा आफूले होस् नै गुमाएको सम्झँदै उनी भन्छिन्, "बिहानदेखि बेलुकासम्म जाँच भइराखेको थियो। अनि एउटा ठुलो पेपर थियो। अनि त्यो पेपर हेरेपछि ... म फेन्ट भएँ कि जस्तो लाग्छ है।"
केही दिन पश्चात् उनले आफूलाई सम्हालेर यो यथार्थलाई स्विकार्ने निर्णय गरेको बताउँछिन्।

अहिले छोरीको हेरचाहमा ध्यान केन्द्रित गरेकी पारु अटिजम्बारे एक अर्काको अनुभव साटासाट गरेर थप हौसला र जानकारी पाउन सजिलो हुने विश्वास व्यक्त गर्छिन्।
सिड्नीमा बस्ने मिरा यादव छोराले बोलाउँदा पनि नसुन्ने र प्रतिक्रिया नदिने लगायत उनको उमेर समूहका बच्चाले गर्ने व्यवहार भन्दा फरक देखेपछि अटिजम्बारे अध्ययन गर्न थालेको अनुभव सुनाउँछिन्।
"(अटिजम्बारे) रिसर्च गर्दा जे पनि (छोराको व्यवहारमा) लागु हुन्छ। स्पेसलिस्टलाई देखाउँदा खेरि चाहिँ उनीहरूले फेरी नभन्ने रै'छ कन्फर्म नहुँदा खेरि।"

यादवलाई आफ्नो जेठो छोरा मानिसहरूसँग र विशेष गरी आफ्नो भाइसँग घुलमिल नभएको देख्दा चिन्ता लाग्न सुरु भएको थियो।
उनी भन्छिन् एकान्तमा बस्ने र आफ्नै धुनमा रहने छोराका केही गतिविधिहरूले उनमा अटिजम् हो कि भन्ने आशङ्का पैदा भयो।
डाइग्नोसिसका लागी प्रक्रिया अघि बढाइन् तर लामो समयको पर्खाइ पश्चात् पनि आफ्नो पालो नआउँदा उनी दिक्दार भएकी छन्।
"यसो बच्चा हेर्यो र ल न त प्रोसेसमा जाऊँ न त (भन्यो), त्यहाँ देखि प्रोसेस भा'को एक डेढ वर्ष भइसक्यो अहिलेसम्म प्रोसेस(मा) छ।"
मिरालाई अस्ट्रेलियामा सेवा र सुविधा भए पनि प्रक्रियामा ढिलाइ हुँदा यदि अटिजम् नै हो भने सोही अनुरूपको स्याहार वा इन्टरभेन्सनमा ढिलाइ हुने हो कि भन्ने चिन्ता छ।
स्पीच थेरापीको अध्ययन अस्ट्रेलियाबाट गरिसकेकी आस्था कोइराला यो प्रक्रियामा धेरै क्षेत्रका विज्ञहरूसँग सहकार्य गर्नु पर्ने भएका कारण पनि यति लामो समय लाग्ने बताउँछिन्।
"मुख्यतया १८ महिना देखि ३ वर्ष सम्म यसको डाइग्नोसिस हुन लाग्छ। र यो मल्टिडिसिप्लिनरी टिमले काम गर्ने भएको भएर यसको डाइग्नोसिस हुन पनि टाइम लाग्छ।"

डा रिजा खनाल सरकारी माध्यमबाट डाइग्नोसिस गर्ने प्रक्रियाका लागी केही समय पर्खनु पर्ने बताउँछिन्।
तर निजी बिमा भए पनि निजी माध्यमबाट जान खोज्दा भने आफूले तिर्नु पर्ने रकम धेरै नै हुने गरेको उनको भनाइ छ।
तर उनले डाइग्नोसिसको लागी हतार भएकाहरूले केही सरकारी र केही निजी माध्यमबाट पनि जान सकिने Mum माने आमालाई बताएकी छिन्। ।
"१,२ कन्सल्ट प्राइभेट्ली पिडियाट्रिसियनलाई आउट अफ पकेट तिरेर जब सम्म आफ्नो पब्लिक सर्भिसेस (सरकारी स्वास्थ्य सेवा प्रदायक)मा नाम आउँदैन त्यस्तो गर्दा पनि हुन्छ।"
छैठौँ भाग सुन्नुहोस्:

६. बच्चामा अटिजम स्पेक्ट्रम डिसअर्डर
छैठौँ भागका बारेमा:
Mum माने आमाको छैठौँ भागमा मेलबर्न निवासी पारु सापकोटा लगायत आफ्नो बच्चामा अटिजम्को आशंका लागे पछि त्यसको डाइग्नोसिसको लागी पर्खेर बसेकी सिड्नी निवासी मिरा यादवले आफ्ना चिन्ता खुलेर बताउन किन आवश्यक छ भन्नेबारे आफ्नो अनुभव राखेकी छिन्।
अटिजम् स्पेक्ट्रम भनेको के हो र के कस्ता लक्षण देखिए पछि सहायताका लागी प्रक्रिया अगाडी बढाउँदा ठिक हुन्छ भन्ने बारे बाल स्वास्थ्यको क्षेत्रमा नै कार्यरत रिजा खनाल र नेपालमा स्पीच थेरापिस्टका रुपमा काम गरि सकेकी र अस्ट्रेलियामा पनि सोहि विषयको अध्ययन गरेकी आस्था कोइरालासँगको कुराकानी पनि राखिएको छ।
यस भागमा समावेस गरिएका विषयहरू:
- अटिजम् स्पेक्ट्रम डिसअर्डर भनेको के हो र अस्ट्रेलियामा सहायताका लागि के कस्ता सुविधाहरू रहेका छन्
- के कस्ता लक्षणहरू देखिए विशेषज्ञको राय लिनुपर्छ
- अटिजम् डाइग्नोसिस प्रक्रिया लामो हुँदा, धेरै ढिला हुने हो कि भन्ने चिन्ता
- अटिजम्लाई लिएर समुदायमा रहेको हिच्किचाहट कस्तो छ
- अटिजम् भएका बच्चाको स्याहार कसरि गर्ने
पोड्कास्ट शृङ्खलाका बारेमा:
अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।
सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ।
Mum माने आमा पोड्कास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।
Mum माने आमा पोड्कास्टमा रहेका सामाग्री उपलब्ध सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुति भने यहाँबाट सुन्न सकिन्छ।
नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित सामाग्री:

अस्ट्रेलियाका नेपाली आमाहरूको कल्पनाको संसार र यथार्थ








