SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा भर्खर आमा बनेकाहरूले नेपालबाट पाउने सबै सुझाव लागू गर्न किन सम्भव छैन ?

गर्भावस्था र बच्चा जन्मिएपछि नेपालमा रहेको परिवारका सम्पूर्ण सुझावहरूलाई मान्न गाह्रो लाग्ने अस्ट्रेलियामा आमा बनेका नेपालीहरूको अनुभव छ।

Richa Silwal with her daughter_Mum Mane Ama
Richa Silwal with her daughter Source: Supplied

3 min read

Published

Updated

By Sunita Pokharel



Skip to article content

Mum माने आमा पोड्कास्टको चौथो एपिसोडमा हामी नेपालमा बस्ने र भर्खरै आमा भएका हरूलाई पनि सबै सुझाव शत प्रतिशत ठिक लाग्छ त भन्ने बारे चर्चा गर्दै छौं। 

गर्भावस्था र सुत्केरी भएको समयमा आफू नजिक नहुँदा आमा र बच्चाको स्वास्थ्यलाई लिएर  नेपालमा रहेको परिवार बढी चिन्तित हुने गरेको पाइएको छ।

यस्तो बेलामा टाढा रहेको परिवारले दिन सक्ने भनेको सुझाव मात्र हो तर तिनलाई पछ्याउन सधैं सम्भव नहुने केही नव-आमाहरूले Mum माने आमालाई बताएका छन्।

अस्ट्रेलियामा पहिलो पटक आमा बनेकी रिचा सिलवाललाई नेपालबाट सुझावहरूको ओइरो नै लागेको थियो।

 

ती मध्ये धेरै सुझावहरू मानेको भए पनि केही कुराहरूको आधार पत्ता लगाउन नै गाह्रो परेको उनको अनुभव छ।

बच्चालाई टोपी, मोजा र बाक्लो कपडाहरू नलगाइदिएको देख्दा नेपालमा बस्ने परिवारको कुरा संझिदै ऋृचा भन्छिन्, "बच्चालाई नाङ्गै हिडा'को छ। मोजा पनि लगाइदिएको छैन, टोपी पनि ला'छैन, आफू पनि बुच्चै भनेको जस्तो कुरा गरिसिन्छ।"

"गर्मी भइराखेको हुन्छ आफूलाई, बाक्लो लुगा कसरी लाउने गर्मीमा?"

अस्ट्रेलियामा बस्ने आमाहरूले नेपालको सुझाव र आफूले पाएको स्वास्थ्य सुझावलाई मिलाएर अगाडी बढेको बताउँदा नेपालमा नै रहेका आमाहरूले कस्तो अनुभव गरेका छन् त?

Sewa Bhattarai_Mum Mane Ama
Sewa Bhattarai Source: Supplied

एसबीएस नेपाली नेपाल संवाददाता सेवा भट्टराई, पहिलो पटक आमा बन्दाको अनुभव साट्दै भन्छिन् कि परिवारसँगै भएका कारण दैनिकीमा धेरै सहयोग पुगेको छ।

आफूले आराम गर्न पनि समय पाएको उनले बताईन्।

सुत्केरी भएको बेला दाँत कमजोर हुने भएकोले दाँत माझ्न हुँदैन भनेको परिवारको सुझावहरू आफूलाई चित्त बुझेको सेवाको भनाइ छ।

"दाँत पनि नमाझ भन्नु भा'को थियो अनि त्यो कुरालाई वास्ता गरिराखेको थिइन। भरे त मैले एकदमै सफ्ट एउटा त्यो  छोगडा हुन्छ नि डेट्सहरू एकदमै गिलो खालको, त्यो खाँदा खेरि पनि मेरो त दाँत दुख्यो के।"

तर अरू केही चलनहरू बुझ्न गाह्रो भएको उनको भनाई छ ।

"कुन बार नयाँ लुगा लगाई दिने, छोरीलाई बाहिर लिएर हिँड्दा कुन बार चाहिँ लिएर हिँड्न हुन्छ, कता फर्काएर सुताउनु पर्छ…यस्ता कुराहरूको आधार मैले पाइन।"

साथै नेपालमा गर्भवतीहरूको मानसिक स्वास्थ्यलाई लिएर खासै चासो नराखिने र श्रीमानहरूको सक्रिय भूमिकालाई पनि धेरै जोड नदिने परम्परा हावी रहेको बताउँछिन्।

"प्रिपार्टम चाहिँ मलाई धेरै गाह्रो भा'थ्यो, आफ्नो मेन्टल हेल्थको हिसाबले। त्यसको बुझाइ चैँ  मैले मेडिकल सिस्टम अथवा फेमिली सिस्टमबाट खासै पाइन तर आफ्नो समकालीन साथीहरूबाट चाहिँ पाए मैले।" 

सिड्नीमा जेनेरल प्राक्टिस्नरका रूपमा कार्यरत डा सिर्जना शर्मा भने आफन्तजनले राम्रो अभिप्रायले नै यस्ता सुझावहरू दिने गरेको भए पनि, गर्भवती र सुत्केरी स्याहारमा विज्ञानले पुष्टि गरेको तरिकालाई पछ्याउनु पर्नेमा जोड दिन्छिन्।

अस्ट्रेलियामा बच्चालाई धेरै गुम्स्याएर राख्न नहुने भन्ने बुझाईका कारण धेरै तहका लुगा नलाउने चलन रहेको उनले बताइन्।

त्यस्तै एक वर्ष मुनिका बच्चालाई गाईको दूध खुवाउने चलन स्वास्थ्यका दृष्टिकोणले राम्रो नभएको पनि डा शर्माको भनाई छ।

nepali mums_Mum Mane Ama
Source: Inhabitat/flickr
"१२ महिनाको नानी नभएसम्म हामीले काउ मिल्क, एलर्जी हुने जोखिम एकदम धेरै भा'को भएर, यो इन्करेज गर्दैनौँ र खानु हुँदैन नै भन्छु म पनि।"

साथै नेपालमा पास्नीमा मह चटाउने चलन पनि स्वास्थ्यकर्मीहरूले नसुझाउने उनले Mum माने आमा पोड्कास्टलाई बताइन।

चौथो भागमा समावेश गरिएका विषयहरू:

  • कुनै निर्णय लिनु पूर्व आमाको मन्जुरीलाई कतिको प्राथमिकता दिइन्छ?
  • नव-आमाको मानसिक स्वास्थ्यलाई लिएर रहेको धारणा 
  • स्वास्थ्य प्रणाली र सेवाहरू कत्तिको सहयोगी छन् 
  • सुत्केरी र नवशिशुको स्याहार तरिका
  • परम्परागत चलन मान्ने कि स्वास्थ्य सुझाव लिने?
चौथो भाग सुन्नुहोस्: ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव Mum माने आमा पोडकास्टमा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

पोडकास्ट शृङ्खलाका बारेमा:

अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।

सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ। 

Mum माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।

पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग: ३. गर्भावस्था: अनुभव र चुनौतीहरू
नोट: यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now