पहिलो प्रेग्नेन्सी ‘टेक्स्ट बुक’ जस्तो भए पनि अरू दुईमा नसोचेका समस्या आए!

पहिलो पटक आमा बन्दा मात्र सबै कुरा नौलो लाग्छ भन्ने कतिले सोच्नुहुन्छ? Mum माने आमा पोड्कास्टका सहभागीले त गर्भावस्थाको अनुभव हरेक पटक नयाँ नै हुने बताएका छन्।

Jamuna Adhikari Rijal

Jamuna Adhikari Rijal with her children Source: Supplied

गर्भवतीलाई बोलीचालीको भाषामा 'भारी जिउ' को भनेर चिनिन्छ र सामान्यतया ९ महिना रहने यो अवस्थामा त्यो भारी जिउले धेरै किसिमका अप्ठ्याराहरू छिचोल्नु पर्ने हुन्छ।

पेट भित्र अर्को जीवन निर्माण गर्ने वातावरण बनाउन गर्भ बसेदेखि नै शारीरिक र मानसिक रूपमा महिलाहरूमा धेरै किसिमका परिवर्तनहरू आउँछन्।

कुनै परिवर्तन समस्याका रूपमा लामो समयसम्म रही रहन्छन् भने कति समय बित्दै जाँदा ठिक हुन थाल्छन्।

GESTATIONAL DIABETES
Source: SBS

यस्तै अनुभवहरू सुनाएका छन् Mum माने आमा  पोड्कास्टमा सहभागी भएका आमाहरूले।

हरेक पटक गर्भवती बन्दा केही छुट्टै अनुभव सँगालेकी मेलबर्न निवासी रोजी अर्यालले पहिलो पटक 'टेक्स्ट बुक' जस्तो कुनै समस्याबिना नै गर्भावस्था पार गरेको बताइन्।

दोस्रो पटक गर्भ बस्दा ९ महिनामा पाउने त हो नि भनेर ढुक्क बसेकी उनलाई १४ हप्तामा गर्भमा रहेको बच्चाको शरीरमा धेरै पानी जम्मा हुने  'हाइड्रप्स' भन्ने स्वास्थ्य अवस्था रहेको बताइयो।

र १८ हप्तामा बच्चाको मुटुको धड्कन भेट्टाइएन।

Rosi Aryal Lees with her kid
Source: Rosi Aryal Lees/supplied

तेस्रो पटक गर्भवती हुँदा उनलाई पेल्भिक गर्डल पेन वा नाइटो भन्दा तलको हड्डीको भागमा हुने दुखाईले सतायो।

" १४/१५ हप्तापछि पेल्भिक गर्डल पेनको कारण म हिँड्न पनि नसक्ने भएँ। मलाई यसको बारेमा थाहा थिएन अनि डाक्टरलाई यसको लक्षणहरू कस्तो हुन्छ भनेर भन्न पनि आएन।"

गर्भावस्थामा हिँडडुल गर्न नै गाह्रो भएको अनुभव जमुना अधिकारी रिजालको पनि छ।

तर उनलाई भने साइटिका भनिने शरीरको तल्लो एक भागमा र विशेष गरी खुट्टामा हुने दुखाइ थियो।

उनि भन्छिन्, "घरमा यता उति जानु पर्‍यो भने चाहिँ श्रीमानले एक साइड बोकेर लैजाने। अलिकति हिँडेपछि चाहिँ केही हुन्थेन तर सुरुमा बसे पछि उठेर हिँड्न नमिल्ने।"

रोजी र जमुना दुबैलाई स्वीमिङ्ग गर्न थालेपछि भने दुखाइबाट राहत मिलेको थियो।

सुष्मिता खत्री खड्काले दुखाइ खासै अनुभव नगरेको भए पनि 'गन्ध लाग्ने' वा सिकनेस भने झेल्नु पर्‍यो।

Sushmita Khatri Khadka
Source: Sushmita Khatri Khadka/supplied

"लगभग ५ महिनाको सुरु सम्म पनि केही पनि खान नहुने के पानी मात्र खान हुने अलि अलि नट्स खान हुने। केही खाने कुरा नै खान नहुने भमिट भइहाल्ने।"

जीपी डा सिर्जना शर्माले गर्भावस्थामा दक्षिण पूर्वी एसिया पृष्ठभूमि भएका गर्भवतीहरूमा जेस्टेस्नल डायबिटिजको जोखिम रहने बताएकी छन्।

यस्तो अवस्थामा आमाहरूमा आफूले खाएको कारणले यस्तो भएको हो कि भनेर आफूलाई दोष दिने देखिने गरेकोमा डा सिर्जना शर्मा खाएर मात्र यो अवस्था नआउने भनाइ राख्छिन्।

Dr Sirjana Sharma
Source: Sirjana Sharma/supplied

"म चाहिँ के भन्न चाहन्छु भने, डायबेटिज लाग्यो भन्दैमा तपाईँले केही गरेर लागेको होइन यो।"

उनी थप्छिन्,"त्यसो भन्दैमा जथाभाबी खाएर चाहिने भन्दा बढी मोटाउने त्यस्तो त गर्नु हुँदैन तर खानालाई कन्ट्रोल गरेर मैले धेरै खाएर यस्तो भएको (भन्ने) त्यो चाहिँ होइन।" 

डा सिर्जना शर्मा यसका लागी प्रोफेसनल डाइटिसियन को सुझाव लिनु पर्ने बताउँछिन्।

तेस्रो भागबारे:

तीन गर्भावस्थाको अनुभव बोकेका रोजी अर्याल लीज र जमुना अधिकारी रिजालका साथै पहिलो पटक आमा बनेकी सुष्मिता खत्री खड्काले यस भागमा प्रस्तोता द्वय शिखा बस्नेत र सुनिता पोखरेलसँग अनुभव साटेका छन्। त्यस्तै सिड्नीमा जेनेरल प्राक्टिस्नर रहेकी सिर्जना शर्माले गर्भावस्थामा स्वास्थ्य हेरचाहबारे आफ्ना सुझाव राखेकी छन्। 

तेस्रो भागमा समेटिएका प्रमुख विषयहरू:

  • एकै व्यक्तिमा गर्भावस्था अनुभव भिन्न- भिन्न हुन सक्छ
  • स्वास्थ्य समस्याहरू (साइटिका, पेल्भिक गर्डल पेन, जेस्टेस्नल डायबिटिज)
  • गर्भपातको अनुभव
  • गर्भावस्था सम्बन्धी अस्ट्रेलियामा उपलब्ध हुने सेवाहरू
  • गलत डाइग्नोसिसको अनुभव
तेस्रो भाग सुन्नुहोस् : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू Mum माने आमा पोडकास्टमा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुती भने यहाँबाट सुन्न सकिन्छ।

पोडकास्ट शृङ्खलाका बारेमा:

अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।

सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ। 

Mum माने आमा पोडकास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।

पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव
नोट: यस पोडकास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।


Share

3 min read

Published

Updated

By Sunita Pokharel




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now