अस्ट्रेलियामा सुत्केरी बिदामा बस्दा हातमा कम पैसा, काममा फर्कुँ भन्दा बच्चा कसले हेरिदिने?

सुत्केरी बिदामा कार्यस्थल एवं सरकारबाट पाउने सुविधा अस्ट्रेलियामा बस्ने सबैले प्रयोग गर्न नपाउने र काम गर्छु भन्दा पनि आफ्नै किसिमका अफ्ठ्याराहरू हुने केही नेपाली नव-आमाहरूले मम् माने आमा पोडकास्टलाई बताएका छन्।

Richa Silwal video calling her daughter from work.

Richa Silwal video calling her daughter from work. Source: Supplied

अस्ट्रेलियामा सुत्केरी बिदामा बस्दा नव-आमाहरूका लागी विभिन्न आर्थिक सहायता उपलब्ध त रहेका छन् तर विविध कारणले ती सुविधाहरू सबैले प्रयोग गर्न नपाउने केही नेपालीभाषी महिलाहरुको भनाई छ।

सुष्मिता खत्री खड्काका अनुसार काम नगरी बच्चाको स्याहारमा बसेको बेला आर्थिक तनाव झेल्न तयार हुनु पर्छ। 

पीआर पाए पछि निश्चित समयसिमाको मापदण्ड पुरा हुनु पर्ने लगायतका योग्यताहरूको कारण भर्खरै आमा बनेकाहरूले पाउन सक्ने सरकारी भुक्तानीहरू उनले सुरुवातको केही समय पाउन नसकेको उनले Mum माने आमालाई बताएकी छिन्।

उनी भन्छिन् त्यस समयमा कुनै आय नहुँदा निकै गाह्रो भएको थियो।

"हामी बाहिर छौँ अनि हामीले ब्याक होम (नेपालको परिवारलाई) पनि हेर्नु पर्‍यो भने पछि त त्यो इम्याजिन नै नगर्न सक्ने सिचुएसन आउँछ।"

Sushmita Khatri Khadka
Sushmita Khatri Khadka with her newborn. Source: Supplied

आर्थिक भार कम गर्न सुष्मिताले घरबाटै आफ्नो एक व्यवसायको थालनी गरेको बताएकी छिन्।

काममा फर्कने समय आएसँगै बच्चालाई चाइल्ड केयरमा राख्ने निर्णय पनि तनावयुक्त हुने कुरा केही अन्य नेपाली पृष्ठभूमिका महिलाहरूले मम् माने आमासँग बाँडेका छन्।

बच्चालाई चाइल्ड केयरमा पहिलो पटक छोड्ने निर्णय सहज नभए पनि त्यसमाथि समाजबाट आउने प्रश्नहरूले परिस्थितिलाई झन् जटिल बनाउने गरेको अनुभव उनीहरूको छ।

काममा पुरा समय काममा फर्कने सोचका साथ छोरालाई पाँचै दिन चाइल्ड केयरमा राख्ने निर्णय गर्दा, कतिपयले आश्चर्य व्यक्त गरेको क्रिस्टिना थापाको भनाई छ।

Krishtina Thapa with her son.
Krishtina Thapa with her son. Source: Supplied

उनी भन्छिन्, "सबै जनाले हुन्छ नि नेपालमा चाइल्ड केयर (राख्ने) भनेपछि बिचरा भन्ने अनि अब ओहो! लौ न पाँचै दिन राख्ने र त्यत्रो सानो बच्चा ? भनेर सुनेको भएर.… सुरुवातमा चैँ मलाई अब त्यो प्रेसर, एङ्गजाइटी (हुन्थ्यो)।"

बाहिर सुनिने नकारात्मक कुराहरूले गर्दा भर्खरै आमाबाबू बनेकहरूलाई चाइल्ड केयरलाई लिएर धेरै चिन्ता हुने गरेको उनको बुझाइ छ।

दिन रात आफूले हेरिराखेको बच्चा अरूको भरमा छोडेर जाने निर्णय लिन गाह्रो हुनु स्वाभाविक भए पनि, डा रिजा खनालको बिचारमा भने यसलाई आफ्नै उमेर समूहका अन्य बच्चाहरूसँग घुलमिल भएर धेरै कुरा सिक्ने अवसरका रूपमा हेर्नुपर्छ।

"अरू सकारात्मक प्रभावहरू हुन्छ, चाइल्ड केयरमा गएर अरू बच्चाहरूसँग सोसियलाइज गर्ने, अरू एडल्टहरूसँग बन्डहरू फर्म गर्ने।"

उनका अनुसार सुरुवातका दिनमा बच्चाहरूलाई चाइल्ड केयरको वातावरणमा रमाउन केही गाह्रो हुने भए पनि केही घण्टाबाट सुरु गरेर बिस्तारै त्यो समय बढाउँदा अभिभावक र बच्चाको लागी पनि सजिलो हुन्छ।

ऋचा सिलवालले छोरी ६ हप्ताको हुँदा देखि नै काममा फर्कने निर्णय गरेकी थिइन्।

भिसा अवस्थाका कारण निकै गाह्रो मानेर काममा गएकी उनले भनिन्, "ब्रेस्टफीडिङ मदर, कहिले काहीँ (ब्रेस्ट मिल्क) लिकेज हुन्थ्यो। काममा कहिले कहिले त मेरो युनिफर्म मै देखिन्थ्यो।"

Richa Silwal video calling her daughter from work.
Richa Silwal video calling her daughter from work. Source: Supplied

त्यति बेला आफ्नो बच्चाले त्यो दूध खान पाएको भए हुन्थ्यो जस्तो आफूलाई लाग्ने उनले मम् माने आमा पोडकास्टलाई बताएकी छिन्।

साथै ऋचाले त्यो समयमा आफूले ठिक गरी राखेको छैन कि भन्ने जस्तो प्रश्न आउने गरेको समेत बताइन्।

"ब्रेस्ट फीडिङ बेबीलाई अब दूध नदिँदा खेरि चाहिँ आफू काममा हिँड्दा एकदमै आफूले नेग्लिजेन्स गरेको हो कि जस्तो फिल हुन्छ।"

Mum माने आमाकी अर्की सहभागी मिरा यादवलाई भने समाजले एक आमा माथि औँला उठाउने सामाजिक दृष्टिकोण पटक्कै मन नपर्ने धारणा व्यक्त गरिन्।

उनी भन्छिन् अनेकौँ तनावबाट गुज्रिएका आमाहरूको स्याहारलाई लिएर प्रश्न उठाउनु भन्दा सुझावहरू दिए त्यो सहयोगी हुन्छ।

उनले भित्री सङ्घर्ष नबुझेकाहरूले सामाजिक सञ्जालमा राखेको फोटो हेरेर आफ्नो बारेमा धारणा बनाउनु उपयुक्त नभएको बिचार राखेकी छिन्।

Mira Yadav
Mira Yadav says the judgement from people is unhelpful. Source: Sydney Vibes

"म आमा हो मैले उसलाई (बच्चाको स्याहारमा) कति प्रयास गरेको छु त्यो मलाई थाहा छ नि तिमीले आएर मलाई भनी राख्नु पर्दैन टर्चर दिई राख्नु पर्दैन, म धेरै कुराहरूबाट गुज्रिरहेको छु।"

आठौँ भाग सुन्नुहोस्: ८. काम र बच्चा स्याहारको सन्तुलन Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुति भने यहाँबाट सुन्न सकिन्छ।

आठौँ भागका बारेमा:

दुई बच्चाकी आमा मिरालाई उनको बाहिरी आवरणलाई हेरेर "ओहो! कस्तो राम्रो जीवन छ है" भनेर सोच्ने धेरै भए पनि आफ्नो मानसिक तनावका बारेमा कसैले पनि चासो नराखेको अनुभव छ।

Mum माने आमा पोड्कास्ट शृङ्खलाको आठौँ भागमा नव आमाहरूले सुत्केरी बिदामा बस्दा र काममा फर्किदा झेल्नु पर्ने चुनौतीहरूका बारेमा चर्चा गरिएको छ।

यस भागमा नव आमाहरू क्रिष्टिना थापा, सुष्मिता खत्री खड्का, मिरा यादव र ऋचा सिलवालले आफ्ना अनुभवहरू राखेका छन्। साथै डाक्टर रिजा खनालले बच्चालाई चाइल्ड केयरमा राख्दा अभिभावकहरूमा देखिने चिन्ताका बारेमा केही सुझावहरू दिएकी छिन्।

यस शृङ्खलामा प्रस्तुत मुख्य विषयहरू:

  • सुत्केरी बिदामा आय श्रोत घट्दा पर्ने आर्थिक भार
  • सुत्केरी स्याहारका लागी बुवाले पाउने बिदा पनि पर्याप्त छैन
  • सानो बच्चा घरमा छोडेर काममा फर्किएका आमाका अनुभव
  • बच्चालाई स्याहार केन्द्रमा राख्ने निर्णय र चिन्ताहरू
  • बाल स्याहार केन्द्रमा राख्दाका सकारात्मक पाटो
  • बच्चाको स्याहारलाई लिएर आमाहरूमाथि प्रश्न उठाइने व्यवहार

पोड्कास्ट शृङ्खलाका बारेमा: 

अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।

सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ। 

Mum माने आमा पोड्कास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।

पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती

नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।


Share

5 min read

Published

Updated

By Sunita Pokharel




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now