बच्चा जन्मिने बित्तिकै केही आमाहरू बच्चालाई आफ्नो दूध खुवाउन नसक्दा चिन्तित हुने गरेको पाइन्छ।
आमाको दूध बच्चाको लागी पहिलो प्राथमिकतामा रहने गरे पनि सबै आमाहरूका लागी यो सम्भव नहुन सक्छ।
यस्तो समयमा आमाहरूले आफूलाई दोष दिन नहुने डा रिजा खनालको भनाइ रहेको छ।
Mum माने आमासँग कुरा गर्दै उनले बच्चा जन्माउने बित्तिकै आमाको दूध आउनु नै पर्छ भन्ने नहुने बताएकी छिन्।

"प्रत्येक आमाहरूको आफ्नै जन्मसँग सम्बन्धित कथा हुन्छ, बच्चा पाउँदा फ्लुइड नपुगेको हुन सक्छ, अरू स्वास्थ्य समस्या हुन सक्छ। यो एकदम जटिल (विषय) हो।"
कति आमाहरूलाई बच्चा जन्मिए पछि देखिने डिप्रेसनका कारण पनि दूध चुसाउन निरन्तर प्रयास गरी रहन गाह्रो हुने उनको बुझाई छ।
तर यस्तो अवस्थामा फर्मुला बच्चाहरूको लागी सुरक्षित विकल्प भएको खाद्य विशेषज्ञ क्रिष्टिना थापा बताउँछिन्।
"यदि ब्रेस्ट फीड गराउन सक्नु हुन्न भने फर्मुलामा बेबीको ग्रोथको लागी चाहिने सबै पौष्टिक तत्त्व, मिनिरल, भिटामिन त्यसमा हुन्छ र छ महिनासम्म कि आमाको दूध कि त फर्मुला खुवाउनु नै सबैभन्दा उत्तम विकल्प हो बच्चाको वृद्धि विकासको लागी।"

त्यति मात्र होइन छ महिना पछि बच्चालाई खाना खुवाउन थाले पछि पनि ठुलै चुनौतीहरू आउने सहभागीहरूको बिचार छ।
बच्चालाई आफैँ खान दिने कि खुवाउने, के गर्दा ठिक हुन्छ ? आफ्नो अवस्था र सहजतालाई हेरेर काम गर्ने गरेको एक छोराकी आमा क्रिष्टिना थापा बताउँछिन्।
"(मलाई) खुवाउने भन्ने बित्तिकै दिक्क लाग्ने। ९९ % म उसलाई नै खान दिन्छु उसले एक दुई चम्चा खुवाई दे भन्यो भने मात्र हो।"
सुष्मिता खत्री खड्कालाई भने आफ्नो छोरालाई खुवाउन खासै समस्या छैन।
"सुरुमा अलिकति गाह्रो नै भएको थियो। अहिले त उसले जे कुरा दिए पनि इन्जोय गर्छ।"
तर उनलाई टोइलेट ट्रेनिङ चाहिँ कसरी सुरु गर्ने भन्ने लागिरहेको छ।

डा रिजा खनाल टोइलेट ट्रेनिङलाई लिएर बच्चालाई धेरै दबाब नदिन सुझाउँछिन्।
यसले गर्दा बच्चामा टोइलेट भन्ने बित्तिकै जान नमान्ने र अन्य स्वास्थ्य समस्या आउन सक्ने पनि उनको भनाइ छ।
"२ बर्षमा २ मिनेट ३ बर्षमा ३ मिनेट गर्दै दैनिक टोइलेटमा बसाउने बानी लगाउने। एकदम अपसेट भएर उसलाई (बच्चालाई) झन् प्रेसर भयो भने चैँ कन्स्टिपेसन हुने, रोकेर राख्ने, टोइलेट जान नमान्ने त्यस्तो पनि हुन सक्छ।"

सातौँ भाग सुन्नुहोस्: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुति भने यहाँबाट सुन्न सकिन्छ।
यस भागका बारेमा:
Mum माने आमाको सातौँ भागमा क्रिष्टिना थापा, रोजिना महर्जन र सुष्मिता खत्री खड्काले आफ्नो बच्चालाई प्रथम शिक्षिकाको रूपमा बच्चालाई ब्रेस्टफीड गर्न देखि टोइलेट ट्रेनिङ गराउने सम्मको सिकाउने यात्रामा भोगेका अनुभव सुनाएका छन्।
क्रिष्टिना थापा जो आफै खाद्य विशेषज्ञ हुन्, उनले फर्मुला बच्चाको लागी कस्तो हुन्छ भन्ने बारे बताएकी छिन्।
त्यस्तै बाल स्वास्थ्यको क्षेत्रमा कार्यरत डा रिजा खनालले यसरी बच्चाहरूलाई कुनै नयाँ कुरा सिकाउँदाके कस्ता कुराहरूमा ध्यान दिने भन्ने बारे सुझाव दिएकी छिन्।
सातौँ भागमा समावेश गरिएका विषयहरू:
- आमाको दूध खुवाउन सबैका लागी सम्भव हुँदैन, विकल्प के त ?
- बच्चालाई खाना खुवाउन सुरु गर्दा ध्यान दिनु पर्ने कुराहरू
- टोइलेट ट्रेनिङलाई लिएर आमाहरूको चिन्ता
- सुत्ने ट्रेनिङ (सँगै सुत्ने कि छुट्टै ?)
- नेपाली भाषा सिकाउँदा बच्चामा भाषालाई लिएर द्विविधा हुन्छ ?
पोड्कास्ट शृङ्खलाका बारेमा:
अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।
सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ।
Mum माने आमा पोड्कास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।
पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर
नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
