निकै विवादित बनेको पत्रकार एन्निका स्मेथर्स्टको क्यानबेरामा अवस्थित घरमा गरिएको खोज तलासी पश्चात् पनि उनी विरुद्ध मुद्दा दायर गर्न पर्याप्त प्रमाणहरू नजुटेको भन्दै प्रहरीले उनी माथि कुनै मुद्दा नलगाउने बताएको हो।
तर प्रहरीले एक छुट्टै विषयमा एबीसीका दुई पत्रकारहरू माथिको अनुसन्धान भने जारी राख्ने बताएको छ।
गत वर्ष सङ्घीय प्रहरीले पत्रकार एन्निका स्मेथर्स्टको घरमा गरेको खोज तलासीले पत्रकारहरू आफ्नो कामलाई लिएर कति सुरक्षित छन् त भन्ने बहस सुरु गराएको थियो।
अस्ट्रेलियाली सङ्घीय प्रहरीले न्युज कर्पोरेसनकी पत्रकार एन्निकाको क्यानबेरा स्थित घरमा उनको फोन समेत खोसेर घण्टौँसम्म खान तलासी गरेको थियो।
उनले अस्ट्रेलियालीहरू माथि जासुसी बढाउने योजनाका सम्बन्धमा समाचार बनाएकी थिइन र प्रहरीले सोही समाचारसँग सम्बन्धित कागजात र प्रमाणहरूको खोजीका लागी उनको घरमा छापा मारेको थियो।

तर प्रहरीको उक्त खोज तलासीको झन्डै एक वर्ष पछि सङ्घीय प्रहरीका उप आयुक्त इयान मकार्टनीले उक्त मुद्दालाई अगाडी नबढाउने जानकारी दिएका छन्।
गत महिना उच्च अदालतले सङ्घीय प्रहरीले उनको घरमा छापा मार्नलाई प्रयोग गरेको पक्राउ पुर्जी मान्य नभएको निर्णय गरेको थियो।
जासुसी बढाउने योजनाका बारेमा समाचार प्रकाशन गरिएको दुई वर्ष बिती सकेको र यसलाई सुल्झाउन यति लामो समय लगाएको भन्दै महान्यायाधिवक्ता क्रिस्चियन पोर्टरले दिक्दारी व्यक्त गरेका छन्।
तर उनले उक्त छापामा सरकारको कुनै संलग्नतालाई भने अस्वीकार गरेका छन्।
यो मुद्दालाई सुल्झाउन यति लामो समय किन लाग्यो भन्ने सम्बन्धमा भने उप आयुक्त मकार्टनीले जटिल अनुसन्धान भएको र त्यस्तो अनुसन्धानमा समय लाग्ने भन्दै स्पष्टीकरण दिएका छन्।
गत वर्षको जुन महिनामा प्रहरीद्वारा गरिएको विवादास्पद छापा एन्निकाको घरमा मात्र सीमित थिएन। सोही महिनामा प्रहरीले अर्को सञ्चार गृहमा पनि छापा मारेको थियो।
प्रहरी अधिकारीहरूले अर्को उच्च तहको उपस्थिति सिड्नी स्थित एबिसीको मुख्यालयमा जनाएका थिए।
अफगानिस्तानमा अस्ट्रेलियाली विशेष बलद्वारा गलत आचरण प्रस्तुत गरेको आरोपहरूबारे एबिसीले रिपोर्ट बनाए पश्चात् उक्त सञ्चार गृहमा पनि प्रहरीले खान तलासी गरेको थियो।

ग्रिन्सले एबिसीका रिपोर्टरहरू माथि लागेको मुद्दाहरूलाई पनि खारेज गरिनु पर्ने बिचार राखेको छ।
उप आयुक्त मकार्टनीले सो सम्बन्धमा प्रहरीको खोजी अझै जारी रहेको बताएका छन्।
यी दुई घटनाहरूका कारण प्रेस स्वतन्त्रता र सर्वसाधारणको सूचनाको हकका सम्बन्धमा समीक्षा हुनु पर्ने धारणाहरू व्यक्त भएका छन्।
क्रिस्चियन पोर्टरले उक्त सुधारका लागी आफू कटिबद्ध रहेको बताएका छन्।
