अदालतद्वारा पक्राउ पुर्जी अमान्य रहेको बताइसक्दा पनि उक्त छापाका क्रममा उनको घरबाट बरामद गरेका सामाग्रीहरू भने प्रहरीसँग नै रहेको छ।
बुधवार उच्च अदालतले पत्रकारको घरमा छापा मार्ने प्रहरीको कदम उचित वारेन्टका साथ नभएको बताएको हो।

सन् २०१९ मा अस्ट्रेलियाली सङ्घीय प्रहरी एएफपीले न्युजकर्प कि पत्रकार एन्नीका स्मेथर्स्टको घरमा छापा मारेको थियो।
एएफपीले एन्नीका स्मेथर्स्ट को घरमा प्रवेश गरी उनको कम्प्युटर, फोन लगायतका उपकरण कब्जा गरी खोज तलासी गरेको थियो।
राष्ट्रिय राजनीतिक विषयमा सम्पादकको भूमिकामा रहेकी स्मेथर्स्टले अघिल्लो वर्ष अस्ट्रेलियालीहरू माथि जासुसी गर्ने सरकारको कथित योजना बारे रिपोर्ट बनाएको आधारमा प्रहरीले तलासी गरेको बताइएको छ।
स्मेथर्स्ट र उनी कार्यरत सञ्चार गृहले उक्त मुद्दालाई चुनौती दिँदै त्यसरी छापा मारिनु कानुन संवत् नभएको बताएका थिए।
उच्च अदालतले बुधवार एएफपीले अमान्य किसिमको पक्राउ पुर्जीमा आधारित भई कदम चालेको भन्दै उक्त घटना हुन नहुने थियो भनेको हो।
सङ्घीय प्रहरीका आयुक्त रीस कर्श भन्छन् उच्च अदालतको निर्णयलाई उनले स्वीकार गरेका छन्।

यस्ता विषयहरूमा सबैले चुनौती गर्न सक्ने प्रजातान्त्रिक व्यवस्थामा रहेको भन्दै कर्शले अदालतको निर्णयलाई सम्मान गर्ने बताएका हुन्।
सर्वसम्मत निर्णयमा उच्च अदालतले उक्त वारेन्टले कुन गैर कानुनी क्रियाकलापका लागी अनुसन्धान गरिएको हो भन्ने उल्लेख नगरेको साथै सम्बन्धित कानुनी व्यवस्थालाई गलत ढङ्गबाट व्याख्या गरिएको बताएको छ।
साथै अदालतले एएफपीलाई पत्रकार स्मेथर्स्ट र उनी कार्यरत न्युजकर्पलाई क्षतिपूर्ति दिन पनि आदेश दिएको छ।
सञ्चार मन्त्री पल फ़्लेचरले प्रहरी सहित कोही पनि कानुन भन्दा माथि नरहेको बताएका छन्।
यद्यपि अदालतको निर्णय पश्चात् पनि स्मेथर्स्ट र उनको टोलीको पूर्ण जित भने भएको छैन।
सङ्घीय प्रहरीले छापाका क्रममा बरामद गरेका सामाग्रीहरू फिर्ता दिने वा नदिने भन्ने सम्बन्धमा उच्च अदालतका न्यायधिसहरू बिच मत बाझिएको थियो।

यसको अर्थ स्मेथर्स्टको मोबाइलबाट जफत गरिएका जानकारीहरू अझै पनि प्रहरी सँग नै रहेको बुझिएको छ।
एएफपी आयुक्त रीस कर्शले जफत गरिएका सामाग्रीहरूका सम्बन्धमा उचित कदम चालिने बताएका छन्।
सोही हप्ता प्रहरीले अस्ट्रेलियन ब्रोड्कास्टिंग कर्पोरेसन (एबिसी) को प्रमुख कार्यालयमा खान तलासी गरेका थियो।
दुई दिनमा अस्ट्रेलियाली सङ्घीय प्रहरीले दुई छुट्टाछुट्टै स्थानमा छापा मारेपछि अस्ट्रेलियाली सञ्चार क्षेत्रहरूमा यो विषयमा धेरै चिन्ता र चासोहरू व्यक्त भएका थिए।
सङ्घीय प्रहरीले एक वक्तव्य जारी गर्दै एबिसी र क्यानबेरा स्थित पत्रकार एन्निका स्मेथर्स्टको घरमा गरिएको तलासी बिच कुनै सम्बन्ध नभएको बताएको थियो।
अस्ट्रेलियाली सेनाले अफगानिस्तानमा गैर कानुनी ढङ्गबाट हत्या गरिएको आरोप सहितका रिपोर्टहरूलाई लिएर एबिसीको कार्यालयमा छापा मारिएको थियो।
एबिसीले पनि उक्त वारेन्ट मान्य नरहेको चुनौतीका साथ सङ्घीय अदालतमा दायर गरेको मुद्दामा निर्णय एबिसीको विपक्षमा आएको थियो।
एबिसी र एन्नीका स्मेथर्स्ट माथिको प्रहरी छापाका कारण राष्ट्रिय र विश्व व्याप्ति रूपमा नै प्रेस स्वतन्त्रका बारेमा बहस सुरु भएको थियो।

न्युजकर्पले उक्त निर्णयको स्वागत गरेको भए पनि एएफपी फेरी पनि स्मेथर्स्ट माथि मुद्दा दायर गर्न सक्ने सम्भावना यथावत् नै रहेको छ।
मिडिया, इन्टरटेन्मेन्ट र आर्ट्स एलाइन्सका प्रमुख कार्यकारी पल मर्फीले भविष्यमा खोज पत्रकारितालाई निरुत्साहित पारिएको बताएका छन्।
मर्फीले कानुनमा संशोधन आवश्यक रहेको बताएका छन्।
