अस्ट्रेलियामा रहेका नेपालीहरूको मानसिक स्वास्थ्य अवस्था बारे पहिलो अध्ययन

अस्ट्रेलियामा पहिलो पटक नेपाली समुदाय र विद्यार्थीहरूमा मानसिक स्वास्थ्यको अवस्था, साथै यस सम्बन्धी सहयोग पाउन के कस्ता अप्ठ्याराहरू रहेका छन् भन्ने सम्बन्धमा अध्ययन भइरहेको छ।

COVID-19 update

The mental health impact of the pandemic. Source: Getty

समुदायकै संलग्नतामा तथ्यमा आधारित र प्रमाणहरू समेत प्रस्तुत गर्ने अध्ययन प्रतिवेदन तयार पार्न मेलबर्न र सिड्नीमा रहेका  नेपाली समुदायका नेतृत्व र विद्यार्थीहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ। 

सो अध्ययनले अस्ट्रेलियामा रहेका नेपालीहरूको मानसिक स्वास्थ्य अवस्था साथै यसबारे उनीहरूको बुझाइका बारेमा पनि  धेरै जानकारी प्रदान गर्ने बताइएको छ।

अक्टोबर १० मा सार्वजनिक हुने उक्त प्रतिवेदन तयार पार्न वेस्टर्न सिड्नी युनिभर्सिटीका सामाजिक विज्ञान सङ्कायका निर्देशक डा. निल हलका साथ अन्य दुई नेपालीहरूको सहभागिता रहेको छ।

Neil Hall Portrait for Men's Health Week
Neil Hall Source: Neil Hall

मानसिक स्वास्थ्यको क्षेत्रमा गैर नाफामूलक अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क नामक संस्थामा आबद्धतासँगै नेपाली समुदायमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएका भरत नेपाल र वेस्टर्न सिड्नी युनिभर्सिटीमा सामाजिक कार्य सम्बन्धी सङ्कायमा अध्यापन गराउँदै आएकी दिव्या श्री क्षेत्री उक्त परियोजनामा जुटेका छन्।

यस परियोजनाका लागी विज्ञहरूको ज्ञानको आधारमा भन्दा पनि सम्बन्धित पक्षकै प्रत्यक्ष सहभागितामा विषयको विश्लेषण गर्ने उद्देश्यले  नेपाली समुदायहरूकै सहभागी रहेका  दुई वटा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो। जसमा  पछिल्लो समयमा समुदाय भित्र बढेका आत्महत्याका घटनाबारे छलफल भएको थियो।

भरत नेपाल भन्छन्, "समुदायमा आत्महत्याको समस्या धेरै हुने गरेका छन्, त्यसले गर्दा यो समस्यालाई अलि महत्त्व दिएर सम्बोधन गर्ने हिसाबले यो छलफल भयो।"

Bharat Nepal - Mental Health First Aid Trainer
भरत नेपाल Source: Supplied

सेप्टेम्बर १० मा विश्व आत्महत्या निवारण दिवस मनाइँदै गर्दा आत्महत्या जस्तो गम्भीर समस्याका बारेमा नेपाली समुदाय भित्र पनि विचार विमर्श गर्ने वातावरण बनोस् भन्ने भरत नेपालको चाहना छ। 

भरत नेपाल सँग विगत केही वर्षदेखि मानसिक स्वास्थ्य समस्या र यसमा  सामाजिक तत्त्वहरूको भूमिकाबारे सहकार्य गर्दै आएका निल हललाई बहुसांस्कृतिक समुदाय र त्यसमा पनि नेपाली समुदायमा यस सम्बन्धी अनुसन्धानको कमी भएको महसुस भएको थियो।

"विश्व स्वास्थ्य सङ्गठनले पनि अस्ट्रेलिया र नेपाल बिच आत्महत्याको तथ्याङ्क र त्यसमा पनि सङ्ख्या, लैङ्गिकतालाई लिएर मा धेरै समानता रहेको बताएको छ। तर नेपाली समुदायमा यो समस्या किन भई रहेको छ त भन्ने बारे पर्याप्त अनुसन्धान नै भएको पाइँदैन।"

निल हल भन्छन्, हाल अस्ट्रेलियामा रहेको सहयोग स्रोतका रूपमा सबैभन्दा प्रभावकारी भनेको हेल्प लाइनहरू हुन्  तर त्यसले मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने विषयहरू जस्तै बेरोजगारी, पारिवारिक सम्बन्धमा देखिएका समस्याका बारेमा सम्बोधन गर्दैन।

दिव्या श्री क्षेत्रीलाई आफूले अध्यापन गराउँदै आएको विषयसँग मेल खाने र समुदायको बिचमा पनि जान सकिने भएकोले यो अध्ययनमा सहभागी हुन प्रेरित गरेको थियो।

दिव्या श्री क्षेत्री
दिव्या श्री क्षेत्री Source: Dibya Shree Chhetry

यसअघि पनि आफ्नो पढाइका क्रममा नेपालमा रहेका मानसिक स्वास्थ्य समस्याबारे अध्ययन गरिसकेकी उनलाई अस्ट्रेलियामा पनि बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरूमा उक्त समस्या छ भन्ने व्याप्त छ भनिने गरिएकोमा साँच्चिकै नेपाली समुदायको बुझाई के छ त भन्ने बारे जान्ने उत्सुकता रहेको थियो।

"मानसिक स्वास्थ्य समस्याबारे नेपाली समुदायका मान्छेहरूले कसरी बुझ्छन् त, उनीहरूले (यस समस्यालाई लिएर) सहयोग लिन सक्छन्  कि सक्दैनन्  वा चाहन्छन् कि चाहँदैनन् भन्ने अध्ययन गर्नु पर्‍यो भने पछि मलाई पनि रोचक लाग्यो।"

समुदायसँग भएका अन्तरक्रियामा आधारित रहेर सुरु गरिने अनुसन्धानमा मानसिक स्वास्थ्यलाई लिएर के कस्ता अड्चन रहेका छन् त भन्ने बारे उक्त प्रतिवेदनमा जानकारी पाउन सकिने क्षेत्रीको भनाइ छ।

"मानसिक स्वास्थ्यमा सुसूचित हुन अड्चनका रूपमा भाषा, संस्कृति, परिवार र एउटा रोचक भनेको शब्द छनौट भन्ने पनि आएको छ। यसको बारेमा विस्तृतमा चाहिँ रिपोर्ट आएपछि थाहा हुन्छ।"

डिप्रेसन,  एङ्जाइटी लगायतका शब्दहरू नेपाली भाषामा नरहँदा त्यसलाई कसरी अनुवाद गर्ने भन्ने समस्या रहने गरेको क्षेत्रीको भनाइ छ।

हल थप्छन् नेपालीहरूले प्रयोग गर्ने शब्द' चिन्ता' लाई विभिन्न परिप्रेक्ष्यमा प्रयोग गरिँदा त्यसको पछाडिको अर्थलाई बुझ्न अप्ठ्यारो हुन्छ।

समुदायको सहभागितामा जोड दिएको यस अध्ययनका लागी सम्बन्धित अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी र समग्र  नेपाली समुदायका सदस्यहरूको सहभागिता महत्त्वपूर्ण रहने गर्दछ।

यस्तैमा अन्तरक्रिया र समग्र अध्ययन प्रतिवेदन निर्माणमा नेपाली समुदायको सहभागिता कस्तो रह्यो त भन्ने प्रश्नमा भरत नेपाल भन्छन्, "सिड्नीमा जति जनघनत्वको हिसाबले जति सङ्ख्यामा उपस्थिति हुनु पर्ने हो त्यति भएन। मेलबर्नमा हुन त हामीले ३५ देखि ४० को अनुमान गरेका थियौँ  तर ७०  जनाले उपस्थिति जनाउनु भएको थियो जुन चैँ आश्चर्यजनक रह्यो।"

हल, क्षेत्री र नेपालसँगको कुराकानी सहितको हाम्रो रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यस्ता कार्यक्रमहरूमा सम्बन्धित व्यक्ति, सहयोग गर्ने क्षमता राख्ने व्यक्ति  वा समुदायका प्रतिनिधिको कम सहभागिता हुने  गरेको भए पनि सीमित सहभागिताबाट पनि उक्त प्रोजेक्टका लागी निकै उपयोगी विषयहरूमा छलफल भएको बताएका छन्।

जसमध्ये नेपाली समुदायमा रहेको मानसिक समस्यालाई नकारात्मक रूपमा हेरिने र वर्जित विषयका रूपमा रहने गरेकोमा यसलाई कसरी हटाउने भन्ने सम्बन्धमा भने समुदायभित्र निकै चासो रहेको भरत नेपालले पाएका छन्।

सामाजिक दृष्टिकोणको डरलाई हटाउन समुदायमा प्रभाव पार्ने व्यक्तिहरूको यसका बारेमा बोल्दिनाले पनि समस्यामा रहेकालाई सहयोग लिन प्रोत्साहन मिल्ने भनाइ दिव्य श्रीको छ।

त्यस्तै विभिन्न मानसिक स्वास्थ्य सम्बन्धी कार्यशाला सञ्चालन गर्दै आएका भरत नेपालले नेपाली समुदायमा समस्याले जटिल रूप लिए पछि मात्र सहयोग लिने रहेको  बताउँछन्। मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई उनीहरूको नजिक रहेका परिवार, साथी तथा आफन्तहरूले सहयोग लिने सहज वातावरण बनाउनु पर्नेमा उनले जोड दिए। 

डा. हलले यो अध्ययनले प्रमुख तिन क्षेत्रमा परिवर्तन ल्याउने अपेक्षा गरेका छन्।  समुदायलाई मानसिक स्वास्थ्य समस्याका बारेमा बोल्न र सहयोग लिन प्रोत्साहित गर्ने, सांस्कृतिक रूपमा सुहाउँदो सहयोग प्रदान गर्ने र सरकारी स्तरमै नेपाली समुदायमा देखिएको  सामाजिक तथा सांस्कृतिक अड्चनहरूलाई सम्बोधन गर्ने उद्देश्य उक्त अध्ययनको रहेको छ।

 

 


Share

4 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now