कोरोनाभाइरस कारणले संसारका धेरै देशहरूले आफ्नो सीमा बन्द गरेका छन्। तर अर्को महिना जुलाई देखि भने अस्ट्रेलियालीहरू भ्रमणका लागि न्युजिलयाण्ड जान सक्ने छन्। अनि त्यसै गरी, न्युजिल्याण्डवासीहरु पनि यसतर्फ आउने सक्ने छन्।
दुवै देशले कोरोनाभाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न निकै सफलता पाएका छन्, र दुई देशबिच यात्राको बाटो खुल्नाले आर्थिक गतिविधि बढ्न आशा लिएका छन्। साथै, यस निर्णयले पर्यटन क्षेत्रले केही भए पनि टेवा पाउने दुवै पक्षले विश्वास लिएका छन्।
योजना अनुसार, १ जुलाईका दिन, अस्ट्रेलियाको राजधानी क्यानबेराबाट न्युजिल्याण्डको राजधानी वेलिङ्गटनका बिच हवाई सेवा सुरु हुनेछ।
हालका लागि सीमित विमान सेवा राखेर कोरोनाभाइरसको सङ्क्रमणलाई अनियन्त्रित रूपमा बढ्ने नदिने ध्येय दुवै देशको रहेको छ। अनि बिस्तारै विमान सेवाहरू देशका अन्य भागहरूमा पनि सारिने अधिकारीहरूले बताएका छन्।
न्युजिल्याण्डमा अन्तरक्षेत्रिय सीमा खुल्ला रहेकाले, त्यहाँ जाने यात्रुहरूलाई पुरै देश भ्रमण गर्ने अनुमति रहने छ।
तर अस्ट्रेलिया आउनेहरूले भने- मात्र ए सी टी, न्यु साउथ वेल्स र भिक्टोरियाको क्षेत्र भ्रमण गर्न पाउने छन्। अस्ट्रेलियाका अन्य राज्य तथा क्षेत्रहरूले कोरोनाभाइरसको सङ्क्रमणलाई लिएर आफ्नो सीमा बन्द राखेका छन्।

अकल्याण्ड बिजनेस च्याम्बरका प्रमुख माइकल बारनेटले यो अगाडि सारिएको प्रस्ताव दुवै देशको आर्थिक उन्नतिका लागि निकै महत्त्वपूर्ण रहेको र यसले दुई देश बिच गरिने भ्रमण सुरक्षित रहेको पनि विश्वास दिने बताउँछन्।
“अस्ट्रेलियालीहरू हाम्रो सबैभन्दा महत्त्वपूर्ण पाहुनाहरू हुन्। हामीलाई उनीहरूको साथ चाहिएको छ। पर्यटनमा निर्भर रहेका सबै व्यवसायहरू अहिले प्रोत्साहनको खोजीमा रहेका छन्,” उनले भने।
दुवै देशका सरकारहरूले यस प्रस्तावलाई औपचारिकता दिन भने बाँकी नै छ। क्यानबेरा रहेको क्षेत्र- ए सी टिका मुख्यमन्त्री एन्ड्रयु बारले यस प्रस्तावको स्वागत गरेका छन्।
“कोरोनाभाइरसको सङ्क्रमणमा देशको सबैभन्दा सुरक्षित स्थानमध्ये एक रहेको क्यानबेरा शहर, हाम्रो छिमेकी राष्ट्रबाट आउने पाहुनाहरूलाई स्वागत गर्न तयार रहेको छ,” उनले बताए।

उता न्युजिल्याण्डमा पनि यस सम्बन्धमा निकै उत्साह रहेको देखिन्छ।
त्यहाँका उप-प्रधानमन्त्री विन्सटन पिटर्सले दुई देशहरू बिच हुन लागेको यात्राको सुविधाको समर्थन गरे, तर यसको ढिलाइका लागि अस्ट्रेलिया जिम्मेदार रहेको आरोप लगाए।
“हामीले यसको पहल धेरै अगाडि गरेका हौँ,” पिटर्सले बताए।
अस्ट्रेलियाको क्विन्सल्याण्ड लगायतका अन्य राज्यहरूले सीमा खुलाएको खण्डमा दुई देश बिचको यात्राको योजनाले झनै लोकप्रियता पाउने पर्यटन व्यवसायीहरूले उल्लेख गरेका छन्।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:

