ओम ढुङ्गेलले एक उच्च तहको सरकारी ओहोदामा रहेर आफ्नो क्षेत्रमा नीति निर्माणका कुरा गरी रहँदा केही वर्षमा नै घरबार विहीन बन्छु भनेर किन कल्पना गर्थे होला र?
तर आफू मात्र नभई आफ्ना बाबु आमा समेत जन्मे हुर्केको देशबाट रित्तो हात भाग्ने परिस्थितिको सामना गरेका ओम ढुङ्गेलको जीवन कथा चलचित्र भन्दा कम छैन।
भुटानबाट भाग्दा
भुटानको राष्ट्रिय टेलिकममा योजना र विकासका प्रमुख रहेका उनले आफ्नो बाबु आमा, श्रीमती र एक छोरीको साथमा आनन्दको जीवन बिताइरहेका थिए।
उनले भोगेको त्यो 'स्वर्णिम युग' ९० को दशकमा एकाएक परिवर्तन भयो र देशमा राजनीतिक समस्या बढ्दै जाँदा उनी जस्तै नेपाली भाषी भुटानीहरूको जीवन अत्यन्त कष्टकर बन्यो।

उनकै भाषामा 'जातीय सफाया' गर्ने मनसायले सरकारले ल्याएका एक पछि अर्को नियमहरूले आफ्नै देशमा उकुसमुकुस हुने अवस्था आयो।
उनी आफैंले पनि एक वर्ष सम्म निरन्तर सरकारको निगरानीमा बस्दाको अनुभव बोकेका छन्।
उनी भन्छन् सरकारलाई आफू कहाँ जान लागेको भन्ने जानकारी त दिनु पर्थ्यो नै घरको लागी किनेको सामानको पनि विवरण हुबहु दिनु पर्थ्यो।
"दुई किलो स्याउ लगेको छ भने त्यो पनि लेख्नु पर्ने, दुई किलो चिनी लगियो भने त्यो पनि लेख्नु पर्ने दुई किलो भन्दा तिन किलो भयो भने त्यो खोलामा फ्यालिदिने, त्यस्तो अवस्थामा बसियो।"
भुटानमा रहेका नेपाली भाषीहरूलाई केही नयाँ सराकारी नीतिहरूले दैनिकी असहज बनाउन थालेको थियो।
ढुङ्गेल भन्छन् हरेक समय राष्ट्रिय पोसाक लगाउने नियम ल्याइदा दैनिक कामकाजमा निकै समस्या पर्ने गरेको थियो।
गर्मी स्थानहरूमा राष्ट्रिय पोसाक बक्खु लगाउन सम्भव थिएन।
नेपाली भाषीका लागी मात्र होइन सबैका लागी यो व्यवहारिक भएन। गाई दुहुन जानु छ बक्खु लगाएर जाँदा गाईले सुरुसुरुमा दूध नदिने लुगा देखेर।
साथै नेपाली भाषा प्राथमिक विद्यालयहरूमा पढाइ रहेकोमा सो भाषा पढाउन प्रतिबन्ध मात्र लगाइएन कति पय स्थानहरूमा किताबहरूलाई जलाएर मानिसहरूको भावनामा चोट पुर्याउने काम भएको उनी सम्झन्छन्।

सरकारको अर्को नीतिमा भुटान र भारतको सीमा भएको १ किलोमिटर भित्र ग्रिन बेल्ट बनाउने रहेको थियो।
जसले गर्दा त्यस क्षेत्रका धेरै घरहरूलाई निकै छोटो समय सीमामा भत्काएर रुख रोप्ने भनियो।
यो निर्णयका कारण ढुङ्गेलको ससुराली घर पनि भत्काउनु पर्ने भयो।
यी सम्पूर्ण सरकारी निर्णयले आगोमा घ्यु थप्ने काम मात्र गरेको थियो मुख्य समस्या त ८० को दशकमा भएको जनगणना थियो।
जनगणनामा देशवासीहरूलाई सन् १९५८ को कर तिरेको प्रमाण पेस गर्नु पर्ने थियो।
ढुङ्गेलको परिवार तिन पुस्ता देखि नै भुटानमा नै रहेकाले उनको परिवारलाई खासै त्यसले समस्या पारेन।
तर अन्य अन्य धेरैले सन् १९५२ को प्रमाण पेस गरे पनि १९५८ को चाहिँ देखाउन नसके उनीहरूलाई दोस्रो दर्जाको नागरिकका रूपमा वर्गीकरण गरियो।

सात वटा दर्जामा देशका नागरिकहरूलाई वर्गीकरण गरिदा धेरैलाई यो कुरा असह्य भयो र यसको विरोधमा आन्दोलन गर्न थालेको ढुङ्गेलले बताए। ।
ओम ढुङ्गेलका बुबा सहित नजिकका आफन्त धेरै जनालाई जेल हाल्ने र यातना दिने काम भयो र उनी समेत गृह नजरबन्दमा परे।
आफू कार्यरत दूरसञ्चार क्षेत्रको प्रतिनिधित्व गर्दै देश विदेश पटक पटक यात्रा गरेका उनलाई बिस्तारै आफू बस्दै आएको देशको राजधानी थिम्पु छोडेर कहीँ जानू परे पनि स्वीकृति लिनु पर्ने हुन थाल्यो।
एक पटक आफ्नो चिनजानबाट आफूलाई प्रहरीले पक्रन सक्ने थाहा पाए पछि उनले देश छोडेर भाग्नुको विकल्प रहेन।
अनि सन् १९९२ मा आफ्नो २ वर्षीय छोरी र श्रीमतीलाई छाडेर भारत कामको सिलसिलामा जाने बहाना बनाएर भुटानलाई सधैँको लागी छोडेर भागे।
त्यसको केही दिनमा श्रीमती र छोरीले पनि भुटान छोडेर भारत गए पछि उनीहरूको भेट भयो।
त्यति बेला सम्म ढुङ्गेलसँग आफूले हाँकेर आएको गाडी थियो त्यसबाहेक आफ्नो परिवार भागेको थाहा नहोस् भनेर अन्य केही सामान बोक्ने अवस्था नभएको उनको भनाइ छ।
शून्यबाट सुरुवात गर्न ओम ढुङ्गेल आफ्नो परिवारको साथ नेपाल छिरे।
नेपालमा शून्यबाट सुरुवात
शरणार्थीको रूपमा नेपाल छिरे पछि उनलाई पहिलो सोचाइ आयो "मैले सबै कुरा गुमाएँ।"
पेसागत र पारिवारिक दुवै हिसाबले 'धर्ती मै स्वर्ग' थियो उनको तर एका एक शून्यबाट सुरुवात गर्नु पर्यो।
भुटानी शरणार्थीहरू नेपाल प्रवेश गरेको एक वर्ष जस्तो भइसकेकोले उनले आफ्ना मान्छेहरू झापा जिल्लाको माई धारमा बसेको जानकारी पाए।
र उनी त्यहाँ जाँदाको पहिलो दिन अझै पनि उनलाई याद आउँछ।
दिउँसोको ३/४ बजेको थियो त्यहाँ पुग्दाखेरि नै एक छिन पछि नै यति ठुलो हुण्डरी आयो, मलाई अहिले पनि झलझली याद आउँछ मान्छेहरू एउटा त्रिपाल एउटा रुखबाट अर्को रुखमा त्रिपाल टाँगेको अनि त्यसको मुनि मान्छेहरू सुतेको।
सरकारी स्तरमा पहल नगरेसम्म शरणार्थीहरूको अवस्थामा सुधार हुने नदेखे पछि ओम ढुङ्गेल सहितको टोली काठमान्डु लागे।

उनि भन्छन् निकै दौडधुप र सरकारी स्तरमा पहल गरे पश्चात् सरकारबाट शरणार्थीहरूका केही समस्याहरूलाई सम्बोधन हुने देखियो।
धेरै अभावहरू भए पनि नेपाल सरकार र नेपालीहरू प्रति आभारी छन् उनी।
त्यहाँ हामी बाँच्नु पनि नेपालको मान्छेले नेपाल सरकारले सहयोग गरेको थिएन भने हामी बाँच्ने पनि थिएनौँ।
नेपालमा श्रोत साधन सीमित भए पनि उनका लागी छरछिमेकले देखाएको आत्मीयता भुलिसक्नु छैन।
ढुङ्गेल अस्ट्रेलियामा बस्दा उनको बुबा आमालाई परिवार जस्तो व्यवहार गर्ने एक छिमेकीलाई उनी नेपाल जाँदा समेत भेट्न गएका छन्।
उनले नेपाल बसाइका क्रममा शरणार्थी बालबालिकाहरूका लागि विद्यालय निर्माण गर्न पहल गरे र विद्यालय स्थापना पनि गरेको बताए।
त्यति बेला आफूहरूले शरणार्थी शिविरका केहीलाई विश्वविद्यालय भर्ना गराउन गरेको प्रोत्साहन र पहलले गर्दा अहिले ती विद्यार्थीहरू आफ्नो व्यावसायिक तथा पेसागत जीवनमा सफल भएको देख्दा उनलाई निकै खुसी लाग्छ।

"त्यति बेला आफू सँग केही नभएको बेलामा पनि धेरै गरे जस्तो लाग्छ ।"
पाँच वर्ष लगातार शरणार्थीहरूको अधिकारका लागी सङ्घर्ष गरेका उनलाई अब भने आफ्नो छोरी र परिवार प्रतिको जिम्मेवारीले झकझकायो।
आफ्नो परिवार हेर्ने जिम्मेवारी बोध सँगै उनले अस्ट्रेलियामा एमबिए गर्न आउने निधो गरे।
अस्ट्रेलियामा सङ्घर्ष र सफलता
नेपालका शरणार्थीहरूको व्यवस्थापनका लागी केही समय खर्चिए पछि ओम ढुङ्गेल अस्ट्रेलिया आए विद्यार्थीका रूपमा, फेरी पनि आफ्नो परिवारलाई नेपालमा नै छाडेर।
अस्ट्रेलियाका सुरुवाती दिन निकै सङ्घर्षपूर्ण रहे पनि उनले आफ्नो क्षेत्र अर्थात् दूर सञ्चारको क्षेत्रमा काम गर्ने अभिलाषा राखेका थिए।
टेलिकम इन्जिनियर पेसागत पृष्ठभूमि भएका ओम ढुङ्गेललाई लामो समय आफ्नै क्षेत्रमा काम गरेको अनुभव त थियो तर अस्ट्रेलियामा आफ्नो क्षमता हुँदा हुँदै पनि निकै समय लाग्यो आफ्नो क्षेत्रमा नै काम पाउन।
इन्जिनियर प्लस एमबीए गरिसके पछि त के के न हुन्छु भन्ने थियो तर काम पाउन त्यति सजिलो छैन भन्ने पनि बुझिसकेको थिए।
असम्भव नभए पनि सही ढङ्गबाट प्रयास गरे आफ्नै क्षेत्रमा काम पाइन्छ तर त्यसको लागी मानसिकता र अहमलाई छोड्न सक्नु पर्ने रहेछ भन्ने उनको बुझाइ छ।
उनले आफ्नो डिग्रीहरूलाई लिएर निकै गर्व गर्ने कारण जुन कुनै जागिरका लागी पनि निवेदन हाल्दा त्यसको उल्लेख गर्न नछोड्नाले धेरै कामहरूबाट हात धुनु परेको स्मरण गरे।

एउटा स्टोरमा चेक आउट अपरेटरको लागी अप्लाइ गरेको छु अनि रेज्युमेमा चाहिँ टेलि कम्युनिकेसन इन्जिनियर, जापान, अमेरिकामा गएर तालिम लिएको भनेर लाउने बित्तिकै धेरै विज्ञ भनेर काम नपाउने।
धेरैले काम अनुसारको रेज्युमी बनाउन सल्लाह दिए पछि उनले निकै गाह्रो मान्दै आफ्ना योग्यताहरूलाई हटाएर काम सुहाउँदो तिन पाना बाट एक पानाको रेज्युमी बनाए पछि एक सुपर मार्केटमा काम पाए।
काममा त प्रगति हुँदै थियो तर श्रीमती र आठ वर्षकी छोरीलाई नेपालमा नै छोडेर आएका उनी पटक पटक मानसिक रूपमा तनावमा हुन्थे।
पढाइ, काम, अनि श्रीमती, छोरीका साथै शरणार्थी शिविरमा रहेका आमा बुबा र भाइहरूलाई आर्थिक सहयोग गर्नु पर्ने अनि त्यसमाथि परिवार साथमा नहुँदा मानसिक रूपमा निकै सङ्घर्ष गरेको ढुङ्गेलले एसबीएस नेपालीलाई बताए।
काम र पढाइको धपेडीमा ४/५ दिन देखि नसुतेको र त्यसमाथि परिवार नेपालमा छन् भन्ने चिन्ताका बिच एक पटक त उनी बाटोमा नै बेहोस भएको सम्झिए।
त्यस पछि उनले आफ्नो नियन्त्रण बाहिर भएको कुराका बारेमा चिन्ता गर्न कम गर्ने निर्णय गरेको बताए।

पढाइ सके पछि आफ्नो क्षेत्रमा नै काम गर्ने हुटहुटी अझै पनि जीवितै भएकाले उनले कम्तीमा पनि ५२ ठाउँ निवेदन हालेकोमा सम्पूर्णबाट अस्वीकार मात्र पाए।
उनि भन्छन् दक्ष आप्रवासीहरूको व्यवस्थापन सम्बन्धी अधिकारी मेरिना हलले उनलाई हिम्मत नहार्न उर्जा दिइरहन्थिन।
र उनले ओम ढुङ्गेलले काम नपाउनुको कारण पनि थाहा पाइन् जब उनले ढुङ्गेलसँग कामको अन्तर्वार्ता लिएको नक्कल गरिन्।
उनले ढुङ्गेलले अन्तर्वार्ता दिँदा आँखा झुकाउने गरेको पत्ता लगाइन।
भुटानमा ग्र्याजुएसन सकिएपछि आफू भन्दा ठुलो मान्छेको अनुहार हेर्नु हुँदैन भनेर तालिम नै दिने गरिन्थ्यो, तर यहाँ चाहिँ आँखा झुकाए पछि झुटो बोलेको अथवा कुरा बनाएको जस्तो बुझिँदो रहेछ।
उनले उक्त सुझावलाई मानेर दिएको पहिलो अन्तर्वार्तामा नै सफलता पाए।
तर हप्ता दश दिन पछि नै टेल्स्ट्रामा पनि अन्तर्वार्तामा बोलाए पछि उनको लामो समय देखिको टेलिकम्युनिकेसन इन्जिनियरका रूपमा काम गर्ने सपना पुरा भएको सुनाए।
अहिले नेतृत्व विकासका लागी कार्यक्रमहरू निर्माण गर्ने आफ्नै व्यवसाय गर्दै आएका ओम ढुङ्गेलले अस्ट्रेलियामा पनि भुटानी शरणार्थीहरूको सहयोगार्थ विभिन्न कार्यहरूमा प्रत्यक्ष संलग्नता जनाउने गरेका छन्।
अस्ट्रेलियामा स्वयंसेवा
ओम ढुङ्गेल स्वयंसेवा गर्न पैसा भन्दा पनि मन हुनु पर्नेमा विश्वास गर्छन्।
आफूले अस्ट्रेलियाका सुरुवाती दिनहरूमा कामहरू नपाउने र साँझ बिहानको छाक टार्नै धौधौ हुने समयमा एमनेस्टी इन्टरनेशनलका लागी सहयोग जुटाउन खटेको स्मरण गरे।

उनि भन्छन्, "अरूलाई दिन जहिले पनि सकिन्छ, हामी उल्टो गर्छौँ, काम पाको छैन काम पाएपछि गर्छु भन्ने तर काम नभाको बेला, सङ्घर्ष गरेको बेलामा तपाईँ जानुस् र सेवा गर्नुस्। "
उनि अस्ट्रेलिया आउँदा ४ परिवार भुटानी नेपाली भाषी रहेकोमा अहिले विविध कारणले धेरैले सिड्नी छोडेर गए पनि हाल समुदायमा लगभग ९५ परिवार रहेको आङ्कलन गर्छन्।
सरकारमा आश्रित भएर मात्र बस्नु भन्दा समुदाय आफैँ सक्रिय भए परिवर्तन सम्भव भएको नेपालको शरणार्थी शिविरबाट सिकेका उनलाई अस्ट्रेलियामा पनि देशमा भर्खर आएका शरणार्थीहरूलाई सहायता गर्ने चाह थियो।
त्यसैले उनि भुटानी शरणार्थीहरूको वासस्थान व्यवस्था र उनीहरूलाई अस्ट्रेलियामा आइसके पछि जानकारी राख्नु पर्ने आधारभूत विषयहरूमा सहयोग गर्ने कार्यमा जुटे।
उनले पहिलो पटक अस्ट्रेलिया आएका भुटानी शरणार्थीहरूलाई विमानस्थलमा नै लिन जाने, घर खोज्ने, सामान्य भान्छामा ग्यास कसरी बाल्ने देखि, किनमेल गर्न र यात्रा गर्ने बारेमा सहायता गर्ने गर्दथे।
म एयरपोर्टमा लिन गए भने देखि भोलि त्यही मान्छे अर्को नयाँ मान्छे आउँदा आफू लिन जानुभयो भने पछि त्यो एउटा कल्चर नै बन्यो हाम्रो।
उनि भन्छन् अस्ट्रेलियाका भुटानी समुदायको कोही एक जना अनिवार्य रूपमा अहिले पनि नयाँ आउने आफ्नो समुदायको मान्छेलाई विमानस्थलमा लिन जाने गर्दछन्।
राष्ट्र सङ्घीय शरणार्थी आयोग युएनएचसीआरको पछिल्लो तथ्याङ्कका अनुसार अहिले विश्वमा २ करोड ६३ लाख शरणार्थीहरू रहँदा ८ करोड २४ लाख मानिसहरू आफ्नो घर छाडेर भाग्न बाध्य पारिएका छन्।
त्यसैले ओम ढुङ्गेल त्यति धेरै मानिसहरू मध्ये आफूले अस्ट्रेलियामा पाएको जीवनका लागी सदैव अस्ट्रेलियाली सरकार प्रति कृतज्ञ रहने बताउँछन्।
हामीलाई त आफ्नै देशमा बस्न पुरा अधिकार थियो नि तर त्यहाँबाट त खेदायो भने अस्ट्रेलियाले त खुल्ला हात र हृदयले हामीलाई संसारभरबाट ल्याएर राखेको छ त्यसको लागी चैँ हामीले के गर्न सक्छौँ, हामीले सुरुवात नै कृतज्ञता व्यक्त गरेर गर्नु पर्छ।
अहिले ओम ढुङ्गेलले आफ्नो कामको स्पष्ट योजना बनाएका छन्। जसमा ५० प्रतिशत समय आफ्ना लागी कमाउन खर्चिने र ५० प्रतिशत स्वयंसेवाका लागी छुट्याएका छन्।
ब्लाकटाउन बोई
उनको जीवन कथालाई समेटेर तयार पारिएको एक रिपोर्टमा उनको अस्ट्रेलियाली भूमिमा रहेका अनुभवहरू समेटिएको छ।
जेम्स बटनद्वारा लिखित रिपोर्टमा सिड्नीको ब्लाकटाउन किन सांस्कृतिक विविधताले भरिएको छ भन्ने बारे त्यहीँका निवासी ओम ढुङ्गेललाई एक प्रतिनिधि पात्रका रूपमा राखिएको छ। उनले आफू बस्दै आएको ब्लाकटाउनलाई सामान्यतया हेरिने दृष्टिकोण भन्दा फरक रहेको भनेर व्याख्या गरेका छन्।

"सामाजिक रूपमा पिछडिएको भन्ने गरिन्छ तर अब देशकै धनी स्थानीय सरकार क्षेत्र मध्येको एक हो। आकारको हिसाबले न्यु साउथ वेल्सको ठुलो स्थानीय सरकार क्षेत्र मध्ये मै पर्दछ। यहाँ १८८ राष्ट्रका १८२ भाषा बोल्ने मानिसहरू बस्छन् अरू के चाहियो ?"
सुरक्षाका दृष्टिले ब्ल्याकटाउन क्षेत्रलाई ढुङ्गेलले निकै सुरक्षित रहेको पाएका छन्।
"यहाँ कहिले १० बजे पनि हिँडेको छौँ कहिले ११ /१२ बजे पनि हिँड्न जान्छौँ तर अहिले सम्म केही समस्या भएको छैन" तर त्यसो भनी रहँदा गलत प्रवृत्ति जहाँ पनि हुन सक्ने भन्दै उनि आफू ब्लाकटाउन बासी हो भन्न पाउँदा गर्व लाग्ने बताउँछन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
