आगामी सङ्घीय निर्वाचन पछि लेबर सरकार स्थापना भए हाल महिला र पुरुष बीच रहेका पारिश्रमिक असमानता सार्वजनिक गर्न देशभर रहेका संघ संस्थाहरुलाई बाध्य बनाउने योजना पार्टी नेता एन्थनी अल्बनिजीले सार्वजनिक गरेका छन्।
अन्तर्राष्ट्रिय महिला दिवसको दिन पत्रकारहरूसँग बोल्दै उनले आफ्नो पार्टीको समान आय सम्बन्धी एक वेबसाइट खडा गरेर त्यसमा प्राइभेट सेक्टरको तलबी तथ्याङ्क प्रकाशित गर्ने योजना रहको बताएका हुन्।
कोरोनाभाइरस महामारीका क्रममा महिला र पुरुष बीच तलबमा रहेको असमानता १३.४ प्रतिशतमा झरेको आँकडा अघिल्लो महिना सार्वजनिक भएको थियो। तथापि पुरुषहरूको तुलनामा महिलाहरूले फुल टाइम कामका गर्दा प्रति हप्ता २४२ डलर कम तलब प्राप्त गर्ने गरेका छन्।
यसै तथ्यलाई आधार बनाउँदै विपक्षी नेता एन्थोनी अल्बनिजीले, सन् २०२१ मा यो सही कुरा नभएको बताएका हुन्।
महिला मन्त्री मरिस् पेनले भने कोभिड-१९ का कारण उत्पन्न विषम परिस्थितिबाट देशको अर्थतन्त्र उँभो लाग्दै गर्दा जेन्डर पे ग्याप अस्थिर रहेको बताएकी छिन्।
पेन भन्छिन् कि तथ्याङ्कहरूलाई आधार बनाएर हेर्दा लैङ्गिक आयमा रहेको दुरी घट्दै गए तापनि महामारीको प्रभावका कारण हाल यो अस्थिर अवस्थामा छ।
"लैङ्गिक आयमा असमानता बढ्नुलाई अर्थतन्त्रमा देखिएको कोरोनाको असरबाट अलग राखेर हेर्न सकिँदैन, यो त्यति सोझो कुरा होइन, " उनले भनिन्।

उता, लेबर सिनेटर जेन्नी मक्अलिस्टरले भने अस्ट्रेलियामा जेन्डर पे ग्याप लामो समयसम्म उच्च रहेको बताउँदै अब यसबारे ठोस् कदम चाल्नुपर्ने समय आइसकेकोमा जोड दिइन्।
अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्स (एसीटीयु)ले सोही दिन सार्वजनिक गरेको एक रिपोर्ट अनुसार लैङ्गिक आयको समानता सम्बन्धी विश्वव्यापी सूचकाङ्कमा अस्ट्रेलिया ४४ स्थानमा रहेको छ। सन् २००६ मा अस्ट्रेलियाको स्थान १५ औँ रहेको पनि उक्त प्रतिवेदनमा उल्लेख छ।
एसीटीयुका प्रमुख मिशेल ओ'नील भन्छिन् कि अस्ट्रेलियाको उद्योग तथा पेसाहरू निकै हदसम्म लैङ्गिक रूपमा अलग छन् र ती मध्य प्राय: महिला केन्द्रित काम तथा पेसाहरूमा कम तलब सुविधा तथा सुरक्षा उपलब्ध छन्।
"ऐतिहासिक रूपमै महिलाहरूले गर्ने कामको सही मूल्याङ्कन नहुँदा यस्तो स्थिति उत्पन्न भएको हो," उनले प्रस्ट पार्दै भनिन्।
हाल, अस्ट्रेलियामा कम्पनीहरूले वर्कप्लेस जेन्डर इक्वालिटि एजेन्सीलाई लैङ्गिक आय डाटा बुझाउनु पर्छ तर कुन कम्पनीमा महिला-पुरुष बिच तलबलाई लिएर कत्तीको समानता छ, त्यो तथ्य सार्वजनिक हुँदैन।
सोमवार घोषणा भएको लेबरको योजना अनुसार, २५० भन्दा बढी कर्मचारी हुने कुनै पनि कम्पनीले आफूकहाँ रहेको महिला-पुरुष बिचको तलबी अन्तर सार्वजनिक गर्नुपर्नेछ।
यसका लागि १,००० भन्दा बढी कर्मचारी रहेका कम्पनीहरूलाई दुई वर्ष र अन्यलाई चार वर्षको समय दिइने पनि बताइएको छ।
लेबरले योसँगै फेयर वर्क कमिसनको कार्यक्षमता बढाउन तर्फ पनि पहल गर्ने प्रतिबद्धता जाहेर गरेको छ जसबाट महिला केन्द्रित उद्योगहरूमा निम्न आय हुने कामदारहरूले उचित पारिश्रमिक पाउन सहज हुने बताइएको छ।
लेबरको योजना सफल रहेमा, केही कर्मचारीहरूले तलब गोप्य राख्ने सुविधा गुमाउने छन्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
