चीनको वुहान शहरबाट शुरु भएको विश्वास गरिएको कोभिड-१९ को संक्रमणलाई रोक्न संसारका धेरै देशहरुले केहि क्षेत्रहरुमा लकडाउन, भिडमा जाँदा अनिवार्य मास्क लगायतका नियमहरु हाल फेरि अघि सारेका छन्।
जोन हप्किन्स विश्वविधालय र रोयटर्स ट्यालीले जनाए अनुसार, गत सोमवार, कोभिड-१९ ले संक्रमित हुनेहरुको संख्याले ९ करोड नाघेको हो।
हाल कोरोनोभाईरसमा देखिएको परिवर्तित रुपले, यस किटाणुको संक्रमण फैलाउने गति झनै बढेको समाचारहरुले जनाएका छन्।
कुल संक्रमणको झण्डै एक तिहाई भाग पछिल्ला ४८ दिनमा भएको रोयटर्स ट्यालीले उल्लेख गरेको छ।
खासगरि दक्षिण अफ्रिका र युकेसँग सम्बन्धित परिवर्तित रुपले संक्रमण फैलाउन झनै ठूलो भुमिका खेलेको बताईन्छ।
यि नयाँ देखिएका परिवर्तित रुपहरुले झनै छिटो फैलन सक्ने क्षमता राखेको वैज्ञानिकहरुले बताएका छन्।
अहिलेसम्मको तथ्यांकका अनुसार, युरोपमा कुल संक्रमित हुनेहरुको संख्या अढाई करोड नाघेको छ भने, उत्तर अमेरिका र दक्षिण अमेरिकामा भने क्रमश: २ करोड बिस लाख र एक करोड ६ लाखभन्दा बढी रहेको छ।
कोरोनाभाईरसको संक्रमणले गर्दा मर्नेहरुको संख्या उनाईस लाखभन्दा बढी रहेको छ, जसमध्येको झण्डै ३१ प्रतिशत युरोपका नागरिकहरु रहेको समाचारहरुमा जनाईएको छ।
युरोपियन मुलुकहरुमा बेलायतमा कोरोनाभाईरसको प्रकोप निकै चरम रुपमा देखिएको छ। गत हफ्ता मात्र, त्यहाँ संक्रमितहरुको कुल संख्याले ३० लाख नाघेको थियो।
अहिले बेलायतमा कोरोनाभाइरस विरुध्दको खोप वितरण र प्रदान कार्यक्रम शुरु भईसकेको छ।
जोखिममा रहेकाहरुलाई शुरुमा खोप दिने अनि यो बर्षको अन्त्यसम्ममा देशका सबै वयस्कहरुले यो खोप पाईसक्ने त्यहाँका अधिकारीहरुले बताएका छन्।
पछिल्ला दिनहरुमा कोरोनाभाईरसको परिवर्तित रुपहरुले तिव्र गतिले संक्रमण फैलाउन थालेपछि, यसलाई नियन्त्रण गर्न विभिन्न देशहरुले नयाँ नियमहरु अघि सारेका छन्।
जर्मनीमा आवश्यक नरहेका भ्रमणहरुमा प्रतिबन्ध लगाईएको छ भने, प्रान्सको मार्शेलीमा बेलुकी कर्फ्युको आदेश दिईएको छ।
प्रान्समा, केहि दिन अघि, बेलायतमा शुरु भएको कोरोनाभाईरसकको परिवर्तित रुप फेला परेका त्यहाँका अधिकारीहरुले बताएका थिए।
उता अमेरिकामा, कोरोनाभाईरसकको कारण दैनिक ज्यान जानेहरुको संख्यामा निकै वृध्दि भएको छ।
गत साता मात्र, एक दिनमा ४ हजारभन्दा बढी मानिसहरुको कोभिड-१९ को कारण ज्यान गएको थियो।

रोयटर्सले गरेको अध्ययन अनुसार, अमेरिकामा दैनिक संक्रमणको संख्या अहिले झण्डै अढाई लाख पुगेको छ।
उता भारतमा कोरोनाभाईरसको कारण मर्नेहरुको संख्या डेढ लाख पुगेको छ।
यहि जनवरी १६ देखि त्यहाँ पनि खोप वितरण र प्रदान कार्यक्रम शुरु गरिने त्यहाँका अधिकारीहरुले बताएका छन्।
पछिल्लो तथ्यांकको अनुसार, नेपालमा अहिलेसम्म २ लाख ६५ हजार मानिसहरु कोरोनाभाईरसले संक्रमित भईसकेका छन् भने, कोभिड-१९ को कारण मर्नेहरुको संख्या १९२७ पुगेको छ।
यसैबिच, अमेरिकी शहर स्यान डिएगोमा रहेको एक चिडिया घरका दुई गोरिल्लाहरुमा पनि कोभिड-१९ को संक्रमण पाईएको छ। त्यहाँ काम गर्ने एक कर्मचारीको माध्यमबाट ति जनावरहरुलाई कोरोनाभाईरस सरेको हो।

दक्षिण क्यालिफोर्नियामा कोभिड-१९ को संक्रमण फेलिन थाले पछि, उक्त चिडिया घर लगायत अन्य व्यवसायहरु हाल बन्द रहेका छन्।
यसैबिच, विश्व स्वस्थ्य संगठनले क्रिसमसको समयमा परिवारजन र आफन्तसँगको भेटघाटका कारण कोरोनाभाईरसले संक्रमित हुनेहरुको संख्या पछिल्ला दिनहरुमा निकै बढ्नुको कारण रहेको बताएको छ।
