कुनै समय विद्युतीय सवारीले अस्ट्रेलियालीहरूको 'विकेन्ड अन्त्य' गर्ने बताएका प्रधानमन्त्रीले अहिले नीति नै बनाएर विद्युतीय सवारीलाई समर्थन गदै छन्।
सरकार भन्छ कि प्रविधि परिवर्तन भएको छ र यो दशको अन्त्य सम्म १७ लाख विद्युतीय कार सडकमा कुदाउने लक्ष राखिएको छ।
तर यता उद्योग समूहहरूले भने सार्वजनिक नीतिमा कर छुटका विषयमा कुनै कुरा नल्याइँदा धेरै अस्ट्रेलियालीहरूले यसमा पहुँच राख्न नसक्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री स्कट मोरिसन विद्युतीय सवारीका बारेमा आफ्नो पहिलेको नीतिमा सुधार वा गठबन्धन बिचारमा आएको परिवर्तन भन्दा पनि अस्ट्रेलियालीहरूको छनौटमा सक्षमता प्रदान गर्ने खालको भएको बताउँछन्।
उनको भनाइमा सरकारले हरबखत कुन चिज राम्रो हो वा कुन चिजको प्रयोग गर भन्नुको साटो छनौटको अवसर दिनु राम्रो हो।

प्रधानमन्त्रीले स्पष्ट पारे कि उनलाई विद्युतीय कारमा कुनै आपत्ति छैन आपत्ति छ त जनतालाई यो गर वा त्यो गर भनी रहनुमा।
सङ्घीय सरकारले मानिसहरूलाई पेट्रोल वा डिजेल गाडीबाट विद्युतीय सवारी साधन प्रयोगमा प्रोत्साहन गर्न र नयाँ चार्जीङ्ग स्टेसनहरू खडा गर्न मङ्गलवार २५ करोड डलर बराबरको नीतिको घोषणा गरेको छ।
यस्तै नीति विपक्षी लेबरले अघिल्लो चुनावका बेला लिएको थियो जसमा सन् २०३० सम्म ५० प्रतिशत नयाँ गाडीहरूलाई विद्युतीय बनाइने लक्ष्य राखिएको थियो।
यद्यपि तत्कालीन समयमा हालका प्रधानमन्त्री मोरिसनले यसको चर्को विरोध गदै यसले “सप्ताहान्तको अन्त्य” गर्ने प्रतिक्रिया दिएका थिए।
“म भन्छु, यसले तपाईँको ट्रेलर टो गर्ने छैन, बोट टो गर्ने छैन, तपाईँको मन परेको क्याम्पिङका लागि लग्न मिल्ने छैन,बिल सटन सप्ताहान्तको अन्त्य गर्न चाहन्छन्,” उनले तत्कालीन समयमा भनेका थिए।

तर अहिले आएर मोरिसनले आफ्नो बोली फेरेका छन्।
उनी भन्छन् कि नयाँ प्रविधिहरूको आगमनले बिस्तारै आफ्नो बाटो तय गर्नेछ।
निर्वाचनका बखत आफूले विद्युतीय सवारीको विरोध नगरेको भन्दै यो विपक्षी लेबरको झुट भएको बताए उनले बताए।
“म बिल सर्टनको अनिवार्य नीतिको बर्खिलापमा थिए, जो मानिसहरूलाई आफ्नो जीवनमा के गर्न पर्छ भनेर सिकाइरहेका थिए,” उनले भने।
“म त्यसमा अहिले पनि सहमत छैन, हाम्रो छुट्टै दृष्टिकोण छ।”
यता आलोचकहरू यो तर्कले समस्या पैदा गर्न सक्ने बताउँछन्।
लेबरले उपयुक्त योजनाहरूका साथ पेट्रोल र डिजेलबाट चल्ने सवारीमा उत्सर्जनको मात्रालाई एउटा मानकमा ल्याउने योजना बनाएको थियो।
तर हालको सरकारी नीतिमा विद्युतीय सवारीसाधनको कुनै पनि बिक्री लक्ष्य भने राखिएको छैन।

सन् २०३० सम्म नयाँ बिक्री हुने गाडीको ३० प्रतिशत या त विद्युतीय वा हाइब्रिड भन्ने मात्र रहेको छ।
यसका अलावा कर छुट, ग्राहक अनुदान वा इन्धनबाट हुने उत्सर्जनको न्यूनतम मानकका बारेमा पनि केही उल्लेख गरिएको छैन।
विद्युतीय सवारी परिषद्का प्रमुख कार्यकारी बियाद जाफरी भन्छन् कि विद्युतीय सवारी चढ्नु सबै अस्ट्रेलियालीका लागि पहुँचको विषय नहुन सक्छ।
उनको भनाइमा सरकारले छुट दिने वा कम्पनीहरूलाई नयाँ प्रविधिमा काम गर्न दबाब दिने खालको नीति घोषणामा छैन।
यता सरकारी योजना प्रति लेबरले प्रतिक्रिया जनाएको छ।

बिल सर्टन भन्छन् नक्कल गर्नु चाप्लुसीको इमानदार रूप हो।
“अस्ट्रेलियाली सवारीको मामलामा फोहर फ्याँक्ने ठाउँ बन्दै छ, जहाँ अरूले प्रयोग गर्न नचाहने गाडीहरू पठाइँदै छन्, बाँकी विश्व विद्युतीय गाडीहरूमा अगाडी बढी रहेको छ,” उनले भने।
“स्कट मोरिसनले रातिको समयमा मेरो नीति किताबलाई नयाँ ज्ञान हासिल गर्न राम्ररी पढ्न जरुरी छ।”
यता लेबरका वर्तमान नेता एन्थोनी अल्बानिजी संसारका अन्य मुलुक सँग बराबर गरेर लैजानु मात्र पर्याप्त नभएको बताउँछन्।
“हामीले यो सुनिश्चित गर्नु आवश्यक छ कि हामी पछि पर्ने छैनौ,गत वर्ष अस्ट्रेलियामा जम्मा दुई प्रतिशत विद्युतीय सवारी ब्रिकी भएको थियो जबकि नर्वेमा ७० प्रतिशत थियो,” उनले भने।
“म सन् २००९ मा जापान पुग्दा त्यहाँका सवारी निर्माण गर्ने सबै कम्पनीहरूले इन्टरनल कम्बुसन इन्जिनका बारेमा नभई विद्युतीय सवारी साधनका बारे अनुसन्धान गरिरहेको बताएका थिए।”
जलवायु परिवर्तनका बारेमा काम गर्नका लागि विश्वमा सबै राष्ट्रलाई दबाब आएका बेला सरकारी नीति घोषणा आएको भएता पनि चुनावी प्रसारका लागि गठबन्धन गर्माएको हो कि भन्ने रूपमा पनि यो घोषणालाई हेरिएको छ।
