कोरोनाभाइरस सङ्क्रमित सङ्ख्या "चिन्ताजनक" रूपमा बढेको हुनाले शनिबार २६ जुनको साँझ ६ बजेदेखि ग्रेटर सिड्नीका सबै क्षेत्रहरू लकडाउनमा रहने स्वास्थ्य अधिकारीहरूले घोषणा गरेका छन्।
मानिसहरू यी चार कारणका लागि मात्र घर बाहिर निस्कन पाउने छन् -
- खाद्य सामग्री र अन्य अत्यावश्यक सामग्री तथा सेवाका लागि
- स्वास्थ्य सेवा या विशेष हेरचाह सेवाका लागि (कोभिड -१९ खोप लगाउन पनि निस्कन पाइने छ)
- भवन बाहिर व्यायामको लागि (१० जना या कमको समूहमा मात्र)
- घरबाट गर्न नमिल्ने अत्यावश्यक काम या शिक्षाको लागि
जोखिममा रहेका क्षेत्रहरूको सूचीमा अब नर्दन बीचेस, लकेम्बा, अबर्न र दुई ट्रेन मार्गहरू पनि शुक्रबार राति थपिएका हुन्।
शनिबार मन्त्रीमण्डलको बैठक बसे पछि वर्तमान लकडाउनलाई लम्बाउने न्यु साउथ वेल्सकी प्रिमियर ग्लाडिस बेरेजिक्लियनले घोषणा गरेकी हुन्।
अहिले सिड्नीका यी चार स्थानीय सरकारी क्षेत्र: वुलारा, वेभर्ली, र्यान्डविक र सिटी अफ सिड्नीका बासिन्दाहरूलाई अत्यावश्यक कामका लागि बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको छ।
राज्यमा पछिल्लो २४ घण्टामा १२ नयाँ सामुदायिक सङ्क्रमण फेला परेका छन्। ५५,२२० वटा परिक्षणहरूबाट शुक्रबार बिहान पुष्टि भएका सङ्क्रमणहरू समावेश गर्दा कुलमा २९ नयाँ सङ्क्रमित पुष्टि भएका छन्।
शनिबार र आइतबार विवाह समारोहहरू गर्न दिइने, तर विवाह समारोहहरू २७ जुन आइतबार राति ११:५९ बजे देखि गर्न पाइने छैन।
लकडाउनको अवधिमा अन्त्येष्टि समारोहहरूमा प्रत्येक चार वर्ग मिटरमा एक व्यक्ति रहने गरी, अधिकतम १०० जना मानिसहरू उपस्थित हुन पाउने छन्।
लकडाउनको अवधिमा सामुदायिक खेलकुद कार्यक्रमहरू गर्न पाइने छैन।
पसलहरू बन्द नगरिने हुनाले प्रिमियरले मानिसहरू आत्तिएर थुप्रै सामग्रीहरू किनमेल नगर्न आग्रह गरेकी छिन्।
संघीय सरकारले जुलाई एक तारिख देखि सिड्नी सिबीडी, पूर्वी र भित्री पश्चिमी क्षेत्रमा लकडाउनका कारण काम गर्न नपाउने मानिसहरूलाई आर्थिक सहयोग प्रदान गर्ने बताइएको छ।
२१ जुनमा र त्यस दिन पछि ग्रेटर सिड्नीमा पुगेका मानिसहरूलाई त्यस क्षेत्रबाहिर रहे पनि १४ दिन घरमा आइसोलेसनमा बस्न बताइएको छ।
रिजनल न्यु साउथ वेल्समा पनि यस प्रकारका प्रतिबन्धहरू लागु गरिने छन्। घरमा बालबालिका सहित पाँच जना मात्र पाहुना बोलाउन पाइने - भवन भित्र र बाहिरका सबै स्थानमा मास्क लगाउन अनिवार्य।
विवाह, अन्त्येष्टि समारोह र सबै भवन भित्र र बाहिरका स्थानमा चार वर्ग मिटरमा एक जना व्यक्ति उपस्थित हुन पाउने छन्, र भवन बाहिर टिकेट किनेर बसेर गरिने कार्यक्रमहरू स्थलको ५० प्रतिशत क्षमता अनुसार मात्र मानिसहरू राख्न पाइने छ।

पुष्टि भएका दुई नयाँ केसहरू म्यारिकभिलको ग्रेट ओसियन फुड्स सँग सम्बन्धित छन्। २१ जुन देखि २५ जुनसम्म त्यहाँ काम गरेका, गएका या ग्राहकको रूपमा गएका मानिसहरू नजिकी सम्पर्कको रूपमा गनिएका छन्। सबैलाई तुरुन्तै परीक्षण गरी सङ्क्रमण पुष्टि भएमा या नभएमा पनि आइसोलेसनमा बस्न आग्रह गरिएको छ।
ग्रेट ओसियन गुड्सबाट डेलिभरी पाएका ग्राहकहरूलाई पनि आफ्नो घरका सदस्य सहित परीक्षण गरी न्यु साउथ वेल्स हेल्थले थप जानकारी नदिए सम्म आइसोलेसनमा बस्न भनिएको छ।
त्यस्तै, सिड्नी भरका केही अन्य क्षेत्रहरू पनि जोखिममा परेको न्यु साउथ वेल्स हेल्थको जानकारी दिएको छ।
सिड्नी सिटीको भित्री भागमा रहेको चियर्स बार एन्ड ग्रिलमा २० जुनमा मध्यरात पछि १:४५ देखि ३:३० बजेसम्म, ब्याङ्क्सटाउन शपिङ्ग सेन्टरको रिबेल (Rebel) स्टोरमा २४ जुनको दिउँसो ३:४५ देखि ४:३० बजेसम्म गएका मानिसहरूलाई परीक्षण गरी, सङ्क्रमण देखिएमा या नदेखिएमा तुरुन्तै १४ दिन आइसोलेसनमा बस्न आग्रह गरिएको छ।
गत शुक्रबार सम्म राखिएका प्रतिबन्धहरू पर्याप्त नरहेको भन्दै अस्ट्रेलियाली चिकित्सा सङ्घले सिड्नी क्षेत्रमा लकडाउन थप विस्तार गर्न आग्रह गरिरहेको थियो।
"भाइरस सङ्क्रमण नियन्त्रण गर्नका लागि मानिसहरूलाई "घर भित्र बस्ने" अर्डर दिन जरुरी छ," सङ्घका प्रमुख डाक्टर ओमार खोर्शिदले बताएका हुन्।
"यो डेल्टा भाइरस फरक छ; यो अरू भाइरस भन्दा छिटो सर्दछ। सिड्नीमा यो पहिले देखा परेको थिएन, त्यसैले यो नयाँ अवस्थाको लागि नयाँ तरिकाहरू अपनाउन जरुरी छ।"
