SKIP TO MAIN CONTENT

कामदारलाई कम तलब दिन ‘प्रशिक्षण’को सहारा लिएको बर्गर बेच्ने ‘ग्रिल्ड’ माथि आरोप

अस्ट्रेलियाभर उपल्लो स्तरको बर्गर बेच्ने “ग्रिल्ड”ले कथित रूपमा आफ्ना कामदारलाई अति नै कम तलब भुक्तान गरेको आरोप एक युनियनले लगाएको छ।

Grill'd restaurant exterior.
Grill'd restaurant exterior. Source: Grill'd Facebook page

3 min read

Published



Skip to article content

अस्ट्रेलियामा विविध प्रकारका राम्रो गुणस्तर मानिएका बर्गरहरू बेच्ने लोकप्रिय ‘चेन रेस्टुरेन्ट’ - ग्रिल्डले आफ्ना कामदारहरूलाई निकै नै कम पैसामा काम लगाएको आरोप हस्पो भोइस नामक एक कामदार युनियनले लगाएको छ।

शनिवार प्रकाशित दि एज दैनिकले जनाए अनुसार ग्रिल्डमा भर्खरै काम पाउने कामदारहरूले सरकारद्वारा अनुदान प्राप्त एक आतिथ्य प्रशिक्षणमा भाग नलिए जागिर पक्का नहुने भय कथित रूपमा रहेको छ।

तर, ग्रिल्ड भने आफ्ना कामदारको स्तरोन्नति गर्दा आफूहरूले कुनै गल्ती नगरेको बताउँछ।

युनियनका अनुसार ग्रिल्डमा काम गर्ने एक १८ वर्षीय कामदारले सरकारद्वारा अनुदान प्रदान गरिने उक्त प्रशिक्षणमा भाग लिँदा जम्मा १४.५० डलर प्रतिघन्टाका दरले पाउँछन् जुन शनिवार र आइतबार फास्ट फूड अवार्ड अनुसार प्रतिघन्टा पाइने दर रेट भन्दा ४.२३ डलरले कम हो।

सन् २०१५ फेयरवर्क कमिसनले स्वीकृति प्रदान गरेर कार्यान्वयन भएको उक्त सम्झौता यसै महिना समाप्त हुनै लाग्दा युनियनहरूले त्यस विरुद्ध आवाज बुलन्द गर्न थालेका छन्। 

चाहे सप्ताहान्त होस् वा साँझको समय होस्, ग्रिल्डमा दुई वर्ष काम गरिसकेका प्याट्रिक स्टेफेनसन आफूले प्रतिघन्टा केवल १८.५० डलर मात्र पाउने बताउँछन्।

“मलाई झुर तालिम लिन दबाब दिइयो र ‘ट्रेनी तलब’ भन्दै कम पैसा भुक्तान गर्छन्। यो सब मलाई कम पैसा दिने तर्किब हो,” २३ वर्षका स्टेफेनसनले भने।

“तालिम त खाली नाम मात्रको छ, त्यसमा सिकाइने ‘सिप’ भनेको एकदमै सामान्य किसिमका छन् जुन तपाईँ काम गर्दा गर्दै पनि सिकिहाल्नु हुन्छ नि, जस्तैकी शिफ्ट सकिँदा भुईँ कसरी पुछ्ने।”

युनाइटेड वर्कर्स युनियनका राष्ट्रिय सचिव टिम केनेडीले यस्तो सम्झौता कहिल्यै पनि हुन दिन नहुने विचार व्यक्त गर्दै भने, “ग्रिल्डमा काम गर्नेहरूले के भनिरहेका छन् भने यी प्रशिक्षणहरू क्रूर ठट्टाहरू हुन्।”

“यो उनीहरूलाई एकदमै कम पैसा दिने छलकपट पूर्ण रणनीति हो। तालिममा रहेका कामदारलाई दिने ज्याला दर शोषणको अर्को रूप हुनुहुँदैन।”

उक्त युनियनले सन् २०१८ मा ३७० ग्रिल्ड कामदारहरू बिच गरेको एक सर्वेक्षणका अनुसार करिब ९२ प्रतिशत उत्तरदाताले आफ्नो रोजगारद्वारा दिइने उक्त तालिम भाग लिन लायक छैन।

तर, विगत १२ महिनाको दौरानमा ७५० भन्दा बढी कामदारहरूले आफ्नो तालिम पूर्ण गरेको र कुल कामदारको ३१ प्रतिशतले अझै तालिम लिँदै गरेको ग्रिल्डकी एक प्रवक्ताले एएपीलाई बताइन।

“हामी हाम्रो तालिम कार्यक्रम प्रति पूर्ण विश्वस्त छौँ जसको जगमा उभिएर नै हाम्रो टिमका सदस्यहरूले लगातार रूपमा सर्वोकृष्ट ग्राहक सेवा प्रदान गरे बापत प्रशंसाहरू पाएका छन्,” उनले भनिन्।

सन् २०१५ मा आफ्नो एक महिला कामदारद्वारा उचित ज्यालाको माग गर्दा आफूलाई जागिरबाट निकालेको भन्ने कुरा दाबी गर्दै कानूनी उपचार सुरु गरेपछि सार्वजनिक रूपमा आफू विरुद्ध सर्वसाधारण खनिने डरले ग्रिल्डद्वारा आफ्नो तलब दरमा हेरफेर गरेको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now