आप्रवासी रोजगार कानूनी सेवा नामक एक नयाँ सेवा न्यु साउथ वेल्स सरकारको पहलमा सुरु भएको छ।
उक्त सेवाले शोषण हुने ठुलो खतरामा रहेका वा शोषित भएका विदेशी पृष्ठभूमिका मानिसहरूलाई आफ्नो कार्यस्थल सम्बन्धी अधिकारबारे बुझ्न र आफूलाई नतिरिएका तलबहरू पाउन सहयोग गर्ने छ।
धेरै आप्रवासीहरूले अस्ट्रेलियामा सामना गर्नुपर्ने यस प्रकारको समस्यामा कम तलब मात्र नरही, सुपरएनुएशन र ओभर टाइम भुक्तानी नगरिएका जस्ता घटनाहरू पनि रहेका छन्।

साथै उक्त समस्याबाट प्रभावित हुनेहरू कुनै एक पेसामा मात्रा सीमित रहेका छैनन्।
ती मध्ये कि एक हुन् - सिड्नी स्थित एक रेस्टुरेन्टमा आफ्नो पहिलो जागिर पाएकी कटरिना शुल्हा।
वेटरको रूपमा काम गर्दा उनलाई १२ डलर प्रति घण्टाको दरले तलब दिएको बताउँछिन्।
र त्यसपछिको आफ्नो दोस्रो काममा चाहिँ प्रति घण्टा १४ डलर पाएको पनि उनी भनाइ रहेको छ ।
अस्ट्रेलियामा न्यूनतम तलबको आधिकारिक दर १८ डलर ९३ सेन्ट रहेको छ।
यो पनि पढ्नुहोस्

यो वर्ष तलब ठग्ने नाम चलेका केही अस्ट्रेलियाली व्यवसायहरू
शुल्हाले आफ्नो रोजगारदाता सँग आफ्नो तलबको विवरण रहेको पेस्लिप माग गरेता पनि त्यो नपाएको बताउँदै, उनले भनिन आफूलाई गैर कानुनी रूपमा काम गराइरहेको बारे पछि मात्र थाह भयो।
"मैले ती कामहरू छोडेको धेरै समय पछि, मेरो पूर्व रोजगारदाताहरूलाई सम्पर्क गरे र मैले केही गडबड भए जस्तो आशङ्का व्यक्त गरे। मैले भने सायद तिमीलाई मेरो ट्याक्स फाइल नम्बर चाहिएला, मलाई लाग्छ यसलाई आधिकारिक बनाएर प्रस्ट विवरण राख्नु पर्छ, तर त्यसपछि उनीहरूले मसँग कहिले सम्पर्क गरेनन्।"
हुन त अस्ट्रेलियामा अस्थायी कामदारहरूले कति तलब नपाएको बारे निश्चित रूपमा भन्न मिल्ने कुनै तथ्याङ्क रहेको छैन।
तर विज्ञहरूका अनुसार अस्ट्रेलिया भर आफ्नो रोजगारदाताबाट न्यूनतम भन्दा कम तलब पाउने अस्थायी आप्रवासीहरूको सङ्ख्या हजारौँ रहेको छ।
यस कारण भन्दै न्यु साउथ वेल्स सरकार द्वारा निःशुल्क कानूनी सहायता सेवा सुरु गरेको बताउँछन् राज्यका महान्यायाधिवक्ता मार्क स्पिकम्यान।
उनका अनुसार शोषणको खतरा रहेका समूहहरूलाई लक्षित गर्दै उक्त सेवा सुरु गरिएको हो।

साथै विभिन्न भाषा बोल्न सक्ने कर्मचारीहरूलाई प्रयोग गर्दै राज्यमा रहेका चार भिन्न कानूनी केन्द्रहरूले मिलेर उक्त निःशुल्क सहायक सेवा सञ्चालन गर्ने सरकारको भनाइ छ।
शोषणको सिकार भएका आप्रवासीहरूले सहयोगको लागि कहाँ जाने बारे जान्न सजिलो बनाउन पनि थप पहल हुने स्पिकम्यान बताउँछन्।
"यहाँ सामान्यतया धेरै कानुनी समस्या भएका मानिसहरू छन् तर संवेदनशील विषय चाहिँ के हो भने अस्थायी भिसामा रहेकाहरूले भिसा समस्या, भाषा समस्या, सांस्कृतिक समस्या झेल्नु पर्छ र कहाँ गएर निःशुल्क कानुनी सहायता लिने भन्ने बारे थाहा हुँदैन।"
उनले भने, " जब उनीहरूलाई अन्याय पूर्ण ढङ्गबाट तलब दिइन्छ, जब उनीहरूलाई अन्याय पूर्ण ढङ्गबाट कामबाट हटाइन्छ र कार्यक्षेत्रमा यौन दुर्व्यवहार र मानसिक रूपमा पीडित बनाइन्छ। त्यसैले यो भनेको त्यही जोखिममा रहेको समुदायलाई सहयोग गर्न यो सेवा ल्याइएको हो।"

कटरिना शुल्हाले सामुदायिक कानूनी केन्द्रबाट आफ्नो अवस्थाबारे सल्लाह लिँदा - आफूलाई रोजगारदाताले पे स्लिप दिनु अनिवार्य रहेको बारे र आफूले कति तलब नपाएकोबारे पनि जानकारी पाएकी थिइन्।
तर आफूले कति घण्टा काम गरेको देखाउने कुनै कागजपत्र प्राप्त गर्न नसके पछि उनले आफ्नो रोजगारदाता विरुद्ध मुद्दा दायर नगर्ने निर्णय गरिन।
अहिले शुल्हाले, आफूले सहयोग पाएको आप्रवासी रोजगार कानूनी सेवाको एक शाखामा काम गर्दछिन्।
आफूलाई न्यूनतम तलब कति हो भन्ने पनि थाहा नभएको झैँ - अरूले त्यस्तो अवस्थाको सामना गर्नु नपरेको आफूले हेर्न चाहेको उनी बताउँछिन्।
तर न्यु साउथ वेल्समा सुरु भएको यस्तो निःशुल्क सेवा देशका अन्य स्थानहरूमा पनि चाहिएको बताउँछन् - भिक्टोरिया स्थित आप्रवासी कामदार केन्द्रका निर्देशक म्याथ्यु कन्केल।
साथै अस्ट्रेलिया प्रवेश गर्दा विदेशी कामदारहरूले यहाँको कार्यस्थल अधिकारबारे जानकारी पाउन पनि जरुरी रहेको उनी बताउँछन्।
अस्ट्रेलिया भर कार्यस्थल अधिकार र शोषण बाट सुरक्षित राख्न चालिन सक्ने कदम बारे थप जानकारी फेयर वर्क अम्बड्सम्यानको दोभासे सेवालाई १३१ ४५० मा आप्रवासी कामदार र अस्थायी भिसामा रहेकाहरूले सम्पर्क गर्न सक्नेछन्।




