एक प्रतिवेदन अनुसार अस्ट्रेलियामा काम गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूका साथै ब्याकप्याकरहरुले आफ्नो तलब-भत्ता बापत करिब एक अर्ब डलरभन्दा बढी रकम पाएका छैनन्।
जब फ्रान्सेली ब्याकप्याकर रुडोल्फ लाफँले आफूलाई प्रतिघण्टा जम्मा ५ डलरको दरले मात्र तलब दिएको थाहा पाए, उनले त्यही गरे जुन उनी जस्तै परिस्थितिमा हुने अरूले गर्छन् अर्थात् आफूले पाउनुपर्ने उचित पारिश्रमिक प्राप्त गर्न तर्फ कुनै कदम नै चालेनन्।
"म एउटा साधारण ब्याकप्याकर हुँ, मलाई अड्डा-अदालत धाउन, वकिल राख्न मन छैन," उनले एसबीएस समाचारलाई भने।
"त्यस्तो काम झन्झटिलो तथा लामो समय लाग्ने हुन्छन्।"
त्यसको ठिक उल्टो, जर्मन ब्याकप्याकर यान्निक लाश्चलटले आफूले काम गरिरहेको न्यु साउथ वेल्सको एक फार्ममा साह्रै नै दयनीय अवस्थामा बस्नु परेको भन्दै फेयर वर्क अम्बड्स्मनमा उजुरी हाले। अनि तत्कालै आफ्नो कामबाट हात धोए।
"भोलिपल्टै म सहित सातजनालाई कामबाट निकालियो। उनीहरूलाई हामीले उजुरी हालेको कुरा थाहा भइसकेको थियो।"

लाफँ तथा लाश्चलट, अस्ट्रेलियामा आफूले गरेको काम बमोजिमको उचित पारिश्रमिक नपाउने मानिसहरूका प्रतिनिधि पात्र हुन् र अरूहरूको पनि उनीहरूको जस्तै कथा-व्यथा छ - काम गर्यो, पाउनु पर्ने ज्याला कहिले हात नपर्ने, उजुरी गरौँ, बल्लतल्ल पाएको कामबाट हात धुनुपर्ने हो कि भनेर डराउँदै बस्नुपर्ने।
सिड्नीका दुई विश्वविद्यालयहरूले संयुक्तरूपमा गरेको अध्यनको निष्कर्ष पनि यही हो। युनिभर्सिटी अफ न्यु साउथ वेल्स तथा युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीले माइग्राण्ट वर्कर जस्टिस इनिशिएटिभ नामक एक अनुसन्धान केन्द्रसँगको सहकार्यमा प्रकाशित गरेको "मौनतामा ज्यालाको चोरी" नामक उक्त प्रतिवेदन आज, सोमबार सार्वजनिक गरिएको हो।
यो प्रतिवेदन करिब १०७ देशहरूबाट अस्थायी भिसा लिएर अस्ट्रेलिया आएका करिब ४,३०० मानिसहरूसँग गरिएको सर्वेक्षणमा आधारित रहेको छ। यो भनेको अस्ट्रेलियामा ज्यालादारी काम गर्नेहरूको कूल संखायाको ११ प्रतिशत हो।
प्रतिवेदनका अनुसार, सयकडा दशभन्दा पनि कमले मात्र आफूले पाउनुपर्ने पारिश्रमिक बापतको रकम अपर्याप्त रहेको बारे सोधखोज गर्ने तथा त्यसलाई प्राप्त गर्न कदमहरू चाल्ने गरेका छन्। अनि, त्यसमा पनि केवल एक तिहाइ भन्दा कमले मात्र आफूले पाउनुपर्ने उचित रकम पाएका छन्।
प्रतिवेदन तयार गर्ने मध्येकी एक शोध कर्ता बासिन् फार्बेंब्लमका अनुसार अस्ट्रेलियामा कम ज्याला पाउनेहरूको तैँ चुप, मै चुप रूपी निम्न वर्ग नै खडा भएको छ।

"अधिकांश मानिसहरूलाई के गर्ने भन्ने नै थाहा छैन। अरू थुप्रैजनालाई भने फारमहरू भर्ने काम निकै जटिल तथा झन्झटिलो लाग्ने गरेको छ। अनि धेरै जना चाहिँ आफूले कम पैसा पाएको भनेर उजुरी गर्दा त्यसले कतै आफ्नो भिसा नै रद्द त हुने होइन भन्ने त्रासमा रहेका हामीले पायौँ।"
"धेरै जना त उजुरी दिएर के गर्नु, सफल हुने होइन भन्ने मान्यता राख्छन्।"
उक्त सर्वेक्षणका केही अंशहरू भने अघिल्लो वर्ष सार्वजनिक गरिएको थियो। सर्वेक्षणमा आफ्नो मत जाहेर गर्ने व्यक्तिहरू मध्ये करिब आधा जसो मानिसहरूले प्रतिघण्टा १५ डलर भन्दा कम पारिश्रमिक पाएको उल्लेख गरेका थिए। त्यसै गरी, एक तिहाइ मानिसहरूले भने आफूहरूले प्रतिघण्टा १२ डलर मात्र पाएको जवाफ दिएका थिए।
अस्ट्रेलियाली कानून अनुसार सबैभन्दा कम ज्याला भनेको प्रतिघण्टा १८.९३ डलर हो।
प्रतिवेदन तयार गर्ने अर्की शोध कर्ता लौरी वर्गका अनुसार अस्ट्रेलियाको ज्याला सम्बन्धी व्यवस्था बिग्रेको अवस्थामा रहेको छ।
"यहाँको प्रणाली नै ठिक छैन, जब प्रवासी श्रमिकहरूले आफूले पाउनुपर्ने रकमको बारेमा बोल्नुभन्दा आवाज नउठाउनु नै तर्कसङ्गत ठान्दछन् भने त्यो कसरी सही हुनसक्छ?"
रेडफर्न कानून केन्द्रमा रोजगार सम्बन्धी क्षेत्र हेर्ने वकिल शर्मिला बार्गनको धारणा पनि त्यस्तै छ।
"कुनै पनि अन्तर्राष्ट्रिय विद्यार्थी आफ्नो ३००,००० डलर पर्ने डिग्रीलाई खतरामा पार्दै आफूले नपाएको ५,००० डलर पछाडि लाग्दैनन्।"

बार्गनका अनुसार यस्ता धेरै घटनाहरूमा त रोजगारदाताहरुले गृह मन्त्रालयमा भिसाको प्रावधान तोड्यो भन्दै उल्टै उजुरी गरिदिन्छौँ भनेर अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई डराउने तथा धम्क्याउने गर्छन्।
"त्यसैले कुनै कदम चल्नु भन्दा बरु जे जति पाइन्छ त्यसैमा जीविकोपार्जन गर्नेहरू धेरै छन्," उनी भन्छिन्।
भिन्नै संस्कारमा हुर्कनु तथा अङ्ग्रेजी कमजोर हुँदैमा मात्र ठगीमा नपर्ने ठम्याई उक्त प्रतिवेदनको छ। एसियाली मुलुकहरूबाट आउने धेरैजनाले बरु यस्ता कार्यहरू विरुद्ध आफ्नो आवाज बुलन्द गर्ने गरेको उल्लेख छ।
प्रतिवेदनले संरचनात्मक सुधारहरूको लागि तुरुन्त विशेष पहल गरिनुपर्ने बताउँदै, कामदारहरूको शोषणमा लागेका रोजगारदाताहरुलाई दण्ड मुक्तिको संस्कृतिबाट चाँडो भन्दा चाँडो कानूनी दायरामा ल्याउनुपर्ने बताएको छ। त्यसका निम्ति फेयर वर्क अम्बड्स्मनले अध्यागमन विभागसँग बाँड्ने गरेको सूचनामा केही गोपनीयताका शर्तहरु हुनु जरुरी रहेको पनि उल्लेख छ।
फेयर वर्क अम्बड्स्मनले भने आफूले उक्त प्रतिवेदनको समीक्षा गरिरहेको बताउँदै अधिकांश पीडित व्यक्तिहरूले आफूले पाउनु पर्ने रकम हात पार्न आवश्यक कदम चाल्नै असफल रहेको भनेको छ।
अम्बड्स्मनकी एक प्रवक्ताले भनिन्, " प्रवासी श्रमिकहरूलाई उनीहरूले कानूनत: प्राप्त गर्नुपर्ने ज्याला नपाएको चिन्ता छ भने त्यसमा सहयोग गर्नु फेयर वर्क अम्बड्स्मनको प्राथमिकता हो।"
के तपाईं वा तपाईंले चिनेका कोही व्यक्ति कम ज्याला वा शोषणको शिकार हुनुभएको छ? छ भने हामीलाई सम्पर्क गर्नुहोस्!





