SKIP TO MAIN CONTENT

म पूरा जिम्मेवारी लिन्छु: तलब ठगी काण्डमा फसेका जर्ज कोलाम्बारिस

आफ्ना कामदारहरूलाई तलब स्वरूप दिनुपर्ने करिब ८० लाख डलर नदिएको काण्डमा परेका चर्चित सेफ जर्ज कोलाम्बारिसले उक्त घटनाको सम्पूर्ण जिम्मेवारी स्वीकार गरेका छन्।

Celebrity chef George Calombaris on Wednesday.
Celebrity chef George Calombaris on Wednesday. Source: 7:30

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

एबीसी टेलिभिजनको सेभेन थर्टी कार्यक्रमलाई दिएको एक अन्तर्वार्ताका क्रममा सेफ जर्ज कोलाम्बारिसले उक्त तलब ठगीको जिम्मेदार अरू कोही नभएर आफू नै भएको बताएका हुन्।

आफूले अरू कसै माथि औँला नउठाउने बताउँदै सेफ कोलाम्बारिसले उक्त कार्यक्रमकी सञ्चालिका ली सेल्सलाई भने, “म यसका लागि सम्पूर्ण जिम्मेवारी लिन्छु। म दुखित छु।”

सन् २०१७ आफ्ना नयाँ व्यावसायिक साझेदारसँग मिलेर आफ्ना सम्पूर्ण कारोबारको लेखा परीक्षण गर्दा कामदारहरूलाई तोकिएको भन्दा कम तलब बाँडिएको तथ्य आफूले कहिले नभुल्ने पनि कोलाम्बारिसले बताए।

“हामीले अनेकौँ कुराहरूको हेर्नुपर्थ्यो तर हेरेनौँ, लुक्ने भाग्ने र बहाना बनाउने कामै छैन,” मास्टर सेफ जस्तो चर्चित कार्यक्रममा एक दशकभन्दा बढी छाएका कोलाम्बारिसले भने।

दुई वर्ष अघि आफूले ती त्रुटिहरू फेला पारेपछि सम्बन्धित सबैलाई सम्पर्क गरी उनीहरूले प्राप्त गर्नुपर्ने पारिश्रमिक तिरिएको पनि उनले बताए।

अनुभवको कमी

“१३ वर्ष अघि म २६ बर्से उर्जावान सेफ थिएँ। मलाइ आफ्नै रेस्टुरेन्ट खोल्ने हतारो थियो। मैले मेरा अन्य तीन साझेदारहरूसंङ्ग मिलेर पहिलो रेस्टुरेन्ट खोलेँ, अनि दोस्रो, तेस्रो पनि खोलियो।”

सामन्य प्रचनल अनुसार कम्पनीहरूले राख्ने प्रमुख कार्यकारी अधिकृत, मानव संसाधन अधिकृत लगायत उत्कृष्ट लेखा टोली आफ्नो “मेड इस्ट्याब्लिशमेन्ट” कम्पनीले नराखेको बताउँदै कोलाम्बारिसले भने, “सपना बुन्दै अगाडी बढ्दै गर्दा रेस्टुरेन्ट सञ्चालन गर्दा चाहिने परिष्कृत अनुभव भने हामीसँग थिएन।”

“मानिसहरू भरि-भराऊ भएमा मात्र रेस्टुरेन्टहरू नामी हुन्छन्। मेरा रेस्टुरेन्टहरूमा तपाईँहरू नआउँदा त्यहाँ काम गर्ने मानिसहरूलाई असर गर्छ।”

George Calombaris appears on ABC's 7:30.
George Calombaris appears on ABC's 7:30. Source: 7:30

अब ढुक्क हुनुहोस्

“के कुरामा ढुक्क रहनुहोस् भने अब तपाईँ मेरा कुनै पनि रेस्टुरेन्टमा आएर बिल तिर्नुहुन्छ भने, मेरा मानिसहरूले तलब पाउँछन् र ठिक तलब पाउँछन्,” उनले अगाडी भने।

अघिल्लो महिना मात्र फेयर वर्क अम्बड्समनले जर्ज कोलामबारिसलाई दुई लाख डलर जरिवाना तिर्न आदेश जारी गरेको थियो।

गल्तीहरूको ढाकछोप गर्नुभन्दा त्यसलाई स्वीकार गर्दै सुधारका कदमहरू चाल्दै आफ्नो क्षेत्रमा “परिवर्तनको संवाहक” बन्न इच्छुक रहेको पनि कोलाम्बारिसले उक्त अन्तर्वार्ताका क्रममा बताए।

एउटा ठुलो विज्ञापन

उता, एबीसी रेडियो मेलबर्नका लोकप्रिय प्रस्तोता जन फेयनले भने आफ्नी सहकर्मी ली सेल्सले लिएको उक्त अन्तरवार्तालाई एउटा ठुलो विज्ञापनको संज्ञा दिएका छन्।

आफ्नो विचारका कारण साथीहरू गुमाउन परे आफू दुखी हुने बताउँदै फेयनले भने, “एबीसी जस्तो संस्थाले उनकै गृहमैदानमा गएर (अन्तरवार्तालाई)… एक विज्ञापन बनाउन मिल्ने मौका दियो।”

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now