इस्टर पर्वको माहौलमा परिवार र साथीभाइका भेटघाट र रमाइलो गर्ने क्रम चलिरहँदा दुर्घटनाका समाचारहरू पनि बढेका छन्।
गत शुक्रवार देखि सोमबार सम्म रहेको सार्वजनिक बिदाको समयमा दुई लाइफगार्ड लगायत ७ जनाको ज्यान जानुलाई डरलाग्दो घटना भन्दै सर्फ लाइफ सेभिङ्ग न्यु साउथ वेल्सले सबैलाई सचेत रहन आग्रह गरेको छ।
बितेका केही दिनहरूमा मात्र पानीमा डुब्ने जोखिममा रहेका ३०० बढीलाई लाइफ सेभरहरूले उद्धार गरेको अधिकारीहरूले जनाएका छन् ।
सर्फ लाइफ सेभिङ्गका महाप्रबन्धक स्टिभन पिएर्सले एसबीएस न्युज सँग कुरा गर्दै छोटो अवधिमा नै यति धेरैले ज्यान गुमाउनु अस्ट्रेलिया भरका सम्पूर्ण राज्यका लागी अत्यन्त दुखद खबर भएको बताएका छन्।
उनका अनुसार न्यु साउथ वेल्समा दुई जनाको पानीमा डुबेर मृत्यु भएको देखिएको छ।
"गेरिङ्गगोङ्गमा एक माछा मार्ने व्यक्ति डुङ्गामा हुँदा हृदयघात भएपछि पानीमा डुबेका थिए र अर्को भनेको न्यु क्याशलको नोब्बी समुन्द्री तटमा एक सर्फ़र पनि अप्ठ्यारो परिस्थितिमा परे।"
उता भिक्टोरिया राज्यमा दुई जना पानीबाट उद्धार गर्ने लाइफ सेभरहरू कै डुबेर मृत्यु भएको छ।
पीएर्सले ट्विट गरेर ज्यान गुमाउने लाइफ सेभरहरूले शाहासी काम गरेको साच्चिकै अर्थमा लाइफ सेभरको मर्म बुझाएको बताएका छन्।
भिक्टोरियाका लाइफ सेभर ७१ वर्षीय रस पावेल र उनका ३२ वर्षीय छोरा एन्डी पावेलले गत आइतबार एक पर्यटक अप्ठ्यारोमा परेको देखे पछि उनलाई उद्धार गर्ने क्रममा आफ्नो ज्यान गुमाएका थिए।
३० वर्षीय पुरुष पर्यटक खतरामा रहेको देखे पछि त्यहाँका कृषकहरूले उनको उद्धार गर्ने प्रयास गरिरहेका थिए।
र त्यही समयमा उनीहरू सवार रहेको डुङ्गा पल्टिदा तेस्रो उद्धार कर्मी र ती पर्यटकलाई पानी बाट बाहिर ल्याउन सफल भए पनि पावेल बाबु छोराले भने ज्यान गुमाए।

सर्फ लाइफ सेभिङ्ग भिक्टोरियाका अध्यक्ष पल जेम्सले उक्त बाबु छोराका जोडीलाई नायक भन्दै उक्त घटनालाई "अत्यन्त दुखद र मुटु दुखाउने खालको" भनेका छन्।
त्यस्तै आइर पेनेन्सुला को व्हेलर्स वे स्यन्क्चुयरि नजिकबाट आइतबार एक बुवा र छोरीलाई पनि पानीले बगाएको बताइएको छ।
क्विन्सल्याण्डमा अर्का एक कायकिङ्ग गर्ने व्यक्तिको मृत शरीर फेला परेको थियो।
विशेष गरेर इस्टर लामो सप्ताहअन्त्यमा मौसम सफा रहेको थियो। त्यसैले घाम ताप्न र साथमा पानीमा खेल्न परिवार र साथी भाइहरूका साथ आउनेहरूको सङ्ख्यामा वृद्धि भएका कारण डुबेर मृत्यु हुनेको सङ्ख्या पनि बढेको रोयल लाइफ सेभिङ्ग अस्ट्रेलियाका एमी पेडनले बताएकी छन्।
