लाखौँले पाएको जबकीपर भुक्तानीमा आजबाट कटौती, यसबारे तपाईंले थाहा पाइराख्नुपर्ने कुराहरू

लाखौँ अस्ट्रेलियालीहरूले गत मार्च महिनादेखि पाई आएको जबकीपर भुक्तानीमा आजको मितिदेखि लागू हुने गरी कटौती भएको छ।

Australian Treasurer Josh Frydenberg

Australian Treasurer Josh Frydenberg Source: AAP

कोरोनाभाइरस महामारीका कारण उत्पन्न विषम आर्थिक अवस्थालाई सम्बोधन गर्न सङ्घीय सरकारले चालेको कदमहरू समायोजन गर्दै जाँदा जबकीपर भुक्तानी पनि कटौतीमा परेको हो।

६ महिना अवधिका लागि भनेर ८ करोड ६० लाख डलरको लागतमा सङ्घीय संसद्बाट विधेयक पास गराई लागू भएको जबकीपर भुक्तानी योजना, रोजगारी अनिश्चितता र गम्भीर आर्थिक समस्यामा रहेका लाखौँ अस्ट्रेलियालीहरूका लागि वरदान साबित भएको छ।

तर अब यस सरकारी ज्याला अनुदान मार्फत पाक्षिक रूपमा पाइने १,५०० डलर भुक्तानी घटेर, पूर्ण-समय कार्यरत कामदारहरूको लागि १,२०० डलर कायम भएको छ।
त्यसै गरी महामारी भन्दा अघि २० घण्टा भन्दा कम समय मात्र काम गरिरहेका "पार्ट टाइमर"हरूका लागी भने जबकीपर भुक्तानी आधा यानि पाक्षिक रूपमा ७५० डलर भएको छ।

विशेषतः केही पार्ट टाइम कामदारहरूले महामारी अघि कार्यरत छँदा भन्दा बढी कमाई जबकीपर मार्फत गरिरहेको भनेर आलोचना भएपछि कार्यक्रम केही परिमार्जन गरिएको हो।
परिवर्तित नियमानुसार, पाक्षिक रूपमा ३०० डलर भन्दा कम कमाउने पार्ट टाइमर भने "जबसीकर" लागि पनि योग्य हुनेछन्।

तर, गत हप्ता मात्रै बेरोजगारहरू अस्ट्रेलियालीहरूका लागि उपलब्ध रहने सो पाक्षिक भुक्तानी योजना ३०० डलरले घटाइएको थियो।
अर्थव्यवस्था फेरि खुल्दै गर्दा जबकीपर कार्यक्रमलाई थप वित्तीय कठिनाइको सामना गरिरहेका व्यवसायका लागि अनुकूल बनाउन कस्न जरुरी रहेको थियो भनेर सङ्घीय सरकारले भनेको छ।

उता, आलोचकहरूले भने आय सहायता घटाउने अहिले उपयुक्त नरहेको तर्क गरेका छन्।

एकातिर मेलबर्नले अझै लकडाउन र प्रतिबन्धको सामना गर्नु परेको अवस्था र अर्को तर्फ लगभग तीन दशकमा पहिलो पटक मुलुकले आर्थिक मन्दी खेप्नुपरिरहेको बेलामा सरकारले जबकीपर घटाउनु ठिक कदम नरहेको उनीहरूको धारण छ।

अस्ट्रेलियाली ट्रेड युनियन परिषद्की अध्यक्ष मिशेल ओ'निल भन्छिन् कि थुप्रै परिवार तथा कामदारहरू अझै सरकारी सहयोगमा भर परिरहेको अवस्थामा मोरिसन सरकारले भुक्तानीमा कटौती गर्नु सही कदम होइन।
यता सरकार भने मेलबर्न बाहिरका कम्पनी र व्यवसायहरूले अब कठोर लकडाउन तथा प्रतिबन्धहरूको सामना गर्नु नपर्ने कारण दर्साउँदै, यो भुक्तानी योजनाले आफ्नो निर्धारित काम फत्ते गरिसकेको बताउँछ।

"हामीले अर्थव्यवस्थालाई सहयोग गर्ने सबै काम सुनिश्चित गरेका छौँ, कामदारहरू र उनीहरूको व्यवसाय बिच सम्बन्ध जोडिएकै छ," उपप्रधानमन्त्री माइकल म्ककोर्कले सोमबार एबीसीलाई भने।
सरकारी आँकडाहरूका अनुसार ९००,००० कम्पनी तथा व्यवसायहरूले भाग लिएको जबकीपर भुक्तानी योजनाबाट करिब ३६ लाख अस्ट्रेलियाली नागरिक तथा स्थायी भिसा धारकहरू लाभान्वित भएका छन्।

तर, सोमबारदेखि भुक्तानी प्राप्त गरिरहन ती कम्पनी तथा व्यवसायहरूद्वारा आफ्नो कारोबारले अझै पनि तोकिएको मापदण्डहरू पुरा गर्छन् भनी प्रमाणित गर्न सक्नुपर्नेछ जस अन्तर्गत उनीहरूको आय कम्तीमा पनि ३० प्रतिशतले गिरावट भएको देखाउनु आवश्यक छ।

यो सर्त १ अर्व डलर भन्दा कमको कारोबार गर्ने कम्पनी तथा व्यवसायलाई लागू हुनेछ भने सो भन्दा बढी कारोबार गर्नेको हकमा भने उनीहरूको समग्र कमाइमा ५० प्रतिशतले गिरावट आएको प्रमाणित गर्नुपर्ने नियम रहेको छ।

थप व्यापार-व्यवसायले मापदण्डहरू पुरा गरे उनीहरूका लागि भने जबकीपर कार्यक्रम खुल्ला नै रहने सरकारले स्पष्ट पारेको छ।

अस्ट्रेलियाली कर कार्यालयको तथ्याङ्क अनुसार सेप्टेम्बर १ सम्म सिड्नीको केन्द्रीय व्यापारिक क्षेत्र (सीबीडी), मेलबर्नको सीबीडी र न्यु साउथ वेल्सको कसुला र लिभरपुल प्रमुख तीन क्षेत्रहरू हुन् जहाँका व्यापार व्यवसायहरू जबकीपर कार्यक्रम प्रति निक्कै भर परेका थिए।


 

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या र तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।


Share

Published


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand
लाखौँले पाएको जबकीपर भुक्तानीमा आजबाट कटौती, यसबारे तपाईंले थाहा पाइराख्नुपर्ने कुराहरू | SBS Nepali