

Published
Updated
पूर्व राजदूत महेशराज दाहाललाई सरकारले फिर्ता बोलाएसँगै निकै लामो समय खाली रहेको अस्ट्रेलियाको राजदूतको भूमिकामा कैलाशराज पोखरेलले नियुक्ति पाएका हुन्।
आगामी दिनहरूमा नेपालीहरूको बसोबास रहने अस्ट्रेलियाका सहरहरू भ्रमण गर्ने योजना रहे पनि निश्चित कार्यक्रम नबनिसकेको उनको भनाई छ।
"क्रमशः सेवा नै लिएर ... उच्च स्तरीय भ्रमण पनि गर्ने ... सेवा पनि लैजाने (लगायत) नेपाल फेस्टीभल जस्ता पर्यटन प्रवर्द्धनका लागि राखिएका कार्यक्रममा जाने योजना छ” उनले भने।
कैलाशराज पोखरेलले अस्ट्रेलियासँगै न्युजील्यान्ड, पपुवा न्यु गिनी र फिजीका लागि पनि राजदूतको भूमिका निर्वाह गर्नेछन्।
ओखलढुङ्गा जिल्लाको रुम्जाटारका पोखरेल आफूले नेपाली सरकारी सेवाका विभिन्न ओहदामा रही ३८ वर्ष काम गरेको बताउँछन्।
पोखरेलका अनुसार ति मध्ये उनले २७ वर्ष अर्थ मन्त्रालयमा रहेर अन्तर्राष्ट्रिय मामिला, वैदेशिक सहायता, व्यापार लगायतका क्षेत्रमा अनुभव बटुलेका छन्।
विश्व बैङ्क, संयुक्त राष्ट्रसङ्घ र अमेरिका स्थित नेपाली दूतावासमा काम गरेको अनुभव राखेका राजदूत पोखरेलले नेपाल सरकारको वैदेशिक नीति अन्तर्गत अस्ट्रेलियासँगको सम्बन्धलाई प्रगाढ बनाउन कोसिस गर्ने उनको भनाई छ।
“३८ वर्ष नेपाल सरकारका विभिन्न ओहदामा बसेर काम गरे र बिच बिचमा विश्व बैंकमा, संयुक्त राष्ट्र सङ्घमा र नेपाल एम्बेसीमा काम गरेर अहिले यहाँ आएको छु,” नयाँ राजदूतले भने।

"अस्ट्रेलियासँगको ६० बर्से सम्बन्ध कहिल्यै उचानिचा भएको छैन, (सम्बन्ध) सौहार्दपूर्ण छ। यसलाई अझ उचाइमा पुर्याउन कोसिस हुनेछ,” राजदूत पोखरेलले आफ्नो प्राथमिकताका बारेमा भने।
यसबाहेक, नेपाली समाज बढ्दै गएको अवस्थामा कृषि, प्रविधि, आइटी,पर्यटन, लगानी र व्यापारलाई बढाउने जस्ता कुराहरूमा सुधार गर्दै लाने विषय आफ्नो प्राथमिकतामा पर्ने उनको भनाई छ।
नेपाली समाज बढ्दै गएका छन्, हाम्रा इस्युहरु पनि छन्। कृषिसँग कसरी जोड्ने, प्रविधिसँग कसरी जोड्ने... विषयमै समय बिताउँछु।कैलाश राज पोखरेल, अस्ट्रेलियाका लागि नयाँ नेपाली राजदूत
राजदूत पोखरेलले यहाँ बसोबास गर्ने सबै नेपालीका लागि दूतावासले अभिभावकको भूमिका निर्वाह गर्ने बताए।
“राजदूत वा दूतावास भनेको सम्पूर्ण नेपालीको गार्जेन हो, संरक्षक हो, सबै नेपालीको काम पढाई र आस्थाका साथ निर्धक्क भएर गर्नुहुन्छ...सबै प्रति सम-भाव र सद्भाव छ,” उनले भने।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
आफूले कार्यभार सम्हालेसँगै विद्यार्थीहरूका विभिन्न समस्याका बारेमा जानकारी पाएको पनि कैलाशराज पोखरेलले एसबीएस नेपालीलाई बताएका छन्।
खागसरि वित्तीय व्यवस्थापन नगरीकन आएका विद्यार्थीहरू समस्यामा परेको भन्ने सुनेको छु,” उनले भने।
विद्यार्थीहरूमा मानसिक एवम् आर्थिक समस्या बढी देखिएकोमा आफू जानकार रहेको राजदूतले बताए।
"अभिभावकले समेत बुझेर मात्र पठाउनु भयो भने सजिलो हुन्छ, यसका बारेमा जनचेतना फैलाउन सहकार्य गर्छौ,” उनले भने।

यहाँ रहेका विभिन्न सङ्घ संस्थासँग मिलेर विद्यार्थीहरुका समस्या समाधानका लागि सहयोग गर्ने पनि राजदूत पोखरेलले प्रतिबद्धता जनाएका छन्।
ई–पासपोर्ट बनाउन दूतावास नै जानु पर्ने बाध्यताको समाधानका लागि मोबाइल पासपोर्ट मेसिन लगेर सेवा दिने योजना रहेको नयाँ राजदूत कैलाशराज पोखरेलले पुष्टि गरे।
ई–पासपोर्ट बनाउन, बायोमेट्रिक गर्नु पर्ने भएकाले हाल दूतावासमै जानु पर्ने बाध्यता छ, यसको समाधानका लागि मोबाइल डिभाइस मार्फत विभिन्न राज्यहरूमा पुग्ने योजना रहेको राजदूतको भनाई छ।
"सुरुमा पर्थ जस्ता टाढाका स्थानमा जाने र दुईचार दिन बसेर, त्यो सेवा दिने र यसका कारण क्यानबेरासम्म ट्राभल गर्ने बाध्यतालाई यसले मुक्त गर्छ,” राजदूतले आफ्नो योजना सुनाए।
टाढाबाट सुरु गरेर विभिन्न राज्यमा सेवा पुर्याउने योजना छ।कैलाशराज पोखरेल
दूतावासमा आउने सेवाग्राहीसँग विभिन्न समस्याहरू बारे आफूले नियमित बुझ्ने गरेको राजदूतको भनाई छ।
उनी भन्छन् कि दूतावासमा फोन नउठ्ने गुनासो समाधानका लागि वेबसाइट र सेवामा सुधारको योजना छ।
साथै, अधिकांस जानकारीहरू वेबसाइटमा उपलब्ध रहेकाले मानिसहरूलाई त्यसको प्रयोग गर्न अनुरोध गरेका छन्।
"पासपोर्ट बने-नबनेका बारेमा पनि जानकारी वेबसाइटमै राखिएको हुन्छ,” उनले भने।

पासपोर्ट नवीकरण गर्ने वा नयाँ बनाउने कुरामा चाहिँ राजदूत पोखरेलले म्याद सकिनु ६ महिना अघि देखि नै प्रक्रिया थाल्न अनुरोध गरेका छन्।
पासपोर्ट बनाउन नेपाल नै पठाउनु पर्ने भएकाले ढिला हुने उनले बताए।
"प्लिज बेलैमा ६ महिनाका लागि ट्राभल गर्न मिल्ने गरी अप्लाइ गरिदिनुस्, नेपालबाट आउनै दुई महिना लाग्छ,” उनले भने।
"नेपाली समुदायको स्ट्रेस कम हुँदा हाम्रो पनि स्ट्रेस कम हुन्छ।”कैलाशराज पोखरेल
दूतावास भवन बारेको प्रक्रिया चलिरहेको राजदूत पोखरेलले बताएका छन्।
तर नेपालको आर्थिक अवस्था र विदेशी मुद्राको सञ्चय कम भएका कारण भवन निर्माणको प्रक्रियामा ढिलाइ भइरहेको उनको भनाई।
“अहिले हेर्नुस्, नेपालको आर्थिक अवस्थाले पनि विदेशी मुद्राका सर्टेज भएको अवस्था छ। यसमा सुधार हुनासाथै हामी (भवन) बनाउँछौ,” उनले भने।

सरकारी तवरबाट दुई देशको विमान सेवाका लागि सम्झौता भइसकेता पनि उडान भर्ने काम विमान कम्पनीहरूमा र निर्भर रहेको नेपाली राजदूतले बताएका छन्।
निजी क्षेत्र र विमान कम्पनीहरूले चासो राखेर यसलाई अगाडी बढाउनु पर्ने र यसमा सरकारले सहजीकरण गर्ने उनको भनाई छ।
अस्ट्रेलिया र नेपालका विमान कम्पनीहरूले यसमा अध्ययन गरिरहेका आशा गरेको पनि उनले एसबीएस नेपालीसँगको कुराकानीका क्रममा व्यक्त गरे।
"निजी क्षेत्रले पक्का पनि नाफा हुने बित्तिकै यस क्षेत्रमा सेवा सञ्चालन गर्छ।”कैलाशराज पोखरेल

यसैबिच अस्ट्रेलियाको विदेश मामिला एवम् व्यापार विभागका (डीफ्याट) र नेपालको परराष्ट्र मन्त्रालयका प्रतिनिधिबिच क्यानबेरामा छलफल भएको छ।
डीफ्याटका र नेपाली प्रतिनिधीमण्डलको नेतृत्व क्रमश: जस्टिन हेहर्स्ट र
नेपालका परराष्ट्र सचिव भरतराज पौडेलले गरेका थिए।
हेहर्स्ट डीफ्याटमा उपसचिवका रूपमा कार्यरत अधिकारी हुन्।
दुई देशबिच विभिन्न क्षेत्रमा सहकार्य गरी सम्बन्धलाई प्रगाढ बनाउने विषयमा छलफल केन्द्रित भएको नेपाली भएको नेपाली दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
शिक्षा, ऊर्जा, व्यापार, पर्यटन, जलवायु परिवर्तन र प्रविधि लगायतका क्षेत्रमा दुई मुलुकबिच समन्वय र सहकार्यलाई बढाउने विषयमा छलफल केन्द्रित भएको बताइएको छ।
भेटमा काठमाडौँ स्थित अस्ट्रेलियाली दूतावासबाट भिसा जारी गर्ने व्यवस्था मिलाउनका लागि आग्रह गरिनुका साथै उच्च स्तरीय भ्रमणहरूलाई बढाउने लगायतका विषयमा पनि छलफल भएको प्रेस नोटमा उल्लेख छ।
अस्ट्रेलियाले नेपाललाई गर्दै आएको सहयोगको प्रशंसा गर्दै, सचिव पौडेलले नेपाललाई प्राथमिकतामा राख्न र कोभिड–१९ को पछिको आर्थिक पुनर्स्थापनामा सहयोग गर्न आग्रह गरेका छन्।
यस अघि नेपाल र अस्ट्रेलियाका बिचमा जल श्रोत व्यवस्थापन गर्ने विषयमा सम्झौता पत्रमा हस्ताक्षर भएको थियो।
योसँगै अस्ट्रेलियाले नेपालको जलश्रोतको उचित व्यवस्थापनका लागि तालिम र प्राविधिक सहयोग उपलब्ध गराउने सो समझदारी भएको छ।