Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

नेपाली ई-पासपोर्ट बनाउन क्यानबेरामा रहेको दूतावास नै पुग्नु पर्ने झन्झट हट्दै

Costomers waiting outside Nepal embassy, Canberra.

क्यानबेराबाट धेरै टाढा बसोबास गर्दै आएकाहरूका लागि नेपालको विद्युतीय पासपोर्ट बनाउन क्यानबेरास्थित दूतावास नै पुग्नु नपरोस् भन्दै घुम्ती कार्यक्रम आयोजना गरिने भएको छ।


Published

Updated

By Sewa Bhattarai, Sunita Pokharel

Source: SBS



Share this with family and friends


क्यानबेराबाट धेरै टाढा बसोबास गर्दै आएकाहरूका लागि नेपालको विद्युतीय पासपोर्ट बनाउन क्यानबेरास्थित दूतावास नै पुग्नु नपरोस् भन्दै घुम्ती कार्यक्रम आयोजना गरिने भएको छ।


हाल क्यानबेरास्थित नेपाली दूतावासमा सेवाग्राहीहरूको चहलपहल बढेको देखिन्छ।

नेपाल सरकारले यस वर्षदेखि विद्युतीय पासपोर्टको वितरण सुरु गरे पछि दूतावासमा भिड बढेको हो।

बायोमेट्रिक डेटाको सङ्कलनका लागि अस्ट्रेलियाका अन्य शहरहरूमा नेपाल सरकारले सुविधा पुर्‍याउन नसक्दा  सेवाग्राहीहरू दूतावासमा नै उपस्थित हुने गरेका छन्।

तर बायोमेट्रिक्स् सङ्कलन गर्न प्रयोग गरिने प्रविधि सहितको किट अस्ट्रेलिया ल्याइने भए पछि, नेपाली पासपोर्ट लिन  दूतावाससम्म नै धाउनु पर्ने अवस्था अन्त्य हुन लागेको छ।

एसबीएस नेपालीसँग कुरा गर्ने क्रममा अस्ट्रेलियाका लागी नेपाली कार्यवाहक राजदूत कुलबहादुर मगरले उक्त जानकारी दिएका हुन्।

"बायोमेट्रिक्स् गर्नु पर्छ ... जस्तै फिङ्गर प्रिन्ट गर्ने, फोटोहरू खिच्ने, डिजिटल सिग्नेचर गर्ने," मगरले भने।

"अनि त्यो सबै गर्नका लागि व्यक्ति स्वयम् नै आउनै पर्ने बाध्यात्मक परिस्थिति छ अहिले।"

काठमाण्डू स्थित राहदानी विभागका निर्देशक तथा प्रवक्ता शरदराज आरण पनि, विदेशमा रहेका नेपालीहरूले नयाँ पासपोर्ट बनाउन, सम्बन्धित दूतावासमा पुग्नै पर्ने स्थिती रहेको स्विकार्छन्।

"विदेशमा हुने मान्छेहरूका लागि उहाँहरू सम्बन्धित एम्बेसीमा गएर चाहिँ सबै प्रक्रिया पुरा गर्नुपर्छ," उनले एसबीएस नेपालीलाई भने।

कुराकानी सहितको हाम्रो पुरा रिपोर्ट सुन्नुहोस्:

समस्या अनेक, उपाय एक?

तर अस्ट्रेलियाभर छरिएर रहेका नेपालीहरूमा धेरैजसो विद्यार्थीहरू छन्।

उनीहरूलाई पासपोर्ट बनाउन दूतावाससम्म धाउनु निकै झन्झटिलो बन्ने गरेको छ।

डार्विनमा बस्ने आफ्नो भाइको राहदानी नवीकरण गर्न क्यानबेरा आइपुगेका सिड्नीका रजिस श्रेष्ठ भन्छन् कि नयाँ पासपोर्ट बनाउने प्रक्रिया सजिलो छैन।

काम, समय र अरू धेरै कुरा मिलाउँदै क्यानबेरा धाउँदा लाग्ने खर्च कम गर्न, नेपाल सरकारले नै वैकल्पिक व्यवस्था गर्नु पर्ने पनि उनको भनाई छ।

श्रेष्ठ भन्छन् कन्सुलर सेवा मार्फत नविकरणको सेवा र त्यस बारे जानकारी इन्टरनेटबाट दिन सकियो भने सजिलो हुन्छ।

"(यसो भयो भने) ग्राहकको रूपमा हामीले चाहिँ यात्रा(को झन्झट गर्नु) परेन," उनले एसबीएस नेपालीसँग भने।

यस्तै पासपोर्ट रिन्यु गर्न एडिलेडबाट क्यानबेरा आइपुगेकी कृति शर्माको पनि आफ्नै अनुभव छ।

उनी भन्छिन् अनलाइनमा फारम भर्दा त्यहाँ उपलब्ध विकल्पहरूबाट आफूलाई लागू हुने कुरा छान्न धेरै गाह्रो भयो।

"अनलाइनमा फर्म भर्न त यस्तो धेरै डिफीकल्टी आयो; ड्रप डाउन मेन्यु नै नआएर...," शर्माले भनिन्।

केही गल्ती भइहाले फेरी दूतावासमा नै आउनु पर्ने हुनाले आफूले भरेको फारममा कुनै गल्ति नहोस् भन्ने कामना रहेको पनि उनले एसबीएस नेपालीलाई सुनाइन्।

Embassy staffs collecting biometric information from the customers.
Embassy staffs collecting biometric information from the customers. Source: SBS Nepali

अङ्कित घिमिरे भने मेलबर्नबाट आइपुगेका हुन्।

पासपोर्ट हराएर नयाँ पासपोर्ट बनाउन आएका उनलाई आवश्यक कागजात पुगेको छैन भनेर दूतावास पुगेपछि मात्रै थाहा भयो।

वेबसाइटमा आवश्यक जानकारी राखिएको भए पनि अलिक स्पष्टसँग राखिएको भए सजिलो हुने उनको बिचार छ।

"...पुरै डिस्क्रिप्सन छैन नि त अनलाइनमा। यहाँ आएपछि कति जना भिसाको पेपर भएन भनेर फर्किएको कति देखियो," उनले भने।

मगर भने केही विशेष कुरा बुझ्न परे फोन गर्ने सल्लाह दिन्छन्।

उनी भन्छन् कि त्यसबाहेक सामान्यतया खोजिने जानकारीहरू वेबसाइटमा छ।

फेरी फर्किएर दूतावास आउनु नपरोस् भन्नका लागि भने, वेबसाइटमा उपलब्ध जानकारीहरूलाई राम्रोसँग अध्ययन गर्न र सोही अनुसारको आवश्यक कागजात ल्याउन कार्यवाहक राजदूत सुझाव दिन्छन्।

"एम्बेसीको वेबसाइटको जानकारीहरू नपढीकन, कसैले गइहालौँ न त हुन्छ कि भनेर आउनुभयो भने अवश्य पनि उहाँहरूको (काम) नहुन सक्छ," उनले भने।

अस्ट्रेलियाकालाई मात्र होइन सास्ती

उता, अस्ट्रेलियाली दूतावासले नै हेर्ने न्यु जिल्यान्ड, फिजी र पपुवा न्यु गिनीमा रहेका नेपाली नागरिकहरू पनि क्यानबेरासम्म आइपुग्नै पर्छ।

यसले थप जटिलता उत्पन्न गरेको अनुभव कुलबहादुर मगरको छ।

"न्यु जिल्यान्डमा भिसा दिएन, एक त विद्यार्थीलाई यहाँ आउन। दोस्रो चाहिँ उहाँहरूको पासपोर्ट (को म्याद) सकिसकेको हुन्छ, जस्तै ६ महिनाभन्दा कम छ भने अर्को देशमा यात्रा गर्न (मिल्दैन)," कार्यवाहक राजदूत भन्छन्।

"(अनि) उहाँहरू (यहाँ) आउन सक्नु हुन्न।"

यस्ता समस्याहरूलाई सम्बोधन गर्न भनेर बायोमेट्रिक्स् विवरण सङ्कलन गर्ने मोबाइल किटहरू नेपालबाट मगाइएको बताउँछन् उनी।

Nepali_Passport
Source: The Rising Nepal

आरणले पनि दूतावासबाट टाढा रहेका नेपालीका लागि घुम्ती टोली र मोबाइल किट पठाउन व्यस्था हुन लागेको पुष्टि गरेका छन्। ।

उनी भन्छन् कि नयाँ व्यवस्था लागू नभएसम्मका लागि पासपोर्ट आवश्यक भए मशिन रिडेबल पासपोर्टका लागी पनि आवेदन दिन मिल्छ। 

गत फेब्रुअरी महिनामा नेपालले पहिलो विद्युतीय पासपोर्ट जारी गरेर तेस्रो पुस्ताको राहदानी भनिने ई-पासपोर्टको सुरुवात गरेको थियो। 

यो भन्दा पहिले नेपालमा हस्तलिखित पासपोर्ट र त्यसपछि मशीन रिडेबल पासपोर्ट प्रचलन ल्याइएको थियो।


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now