उनका कविता र भनाइमा प्रयोग हुने शब्द प्रयोगको सुन्दर कलाले गर्दा उनका पोस्टहरू धेरै पढ्ने गरिन्छ ।
आफूलाई इन्फ्लुएन्सर भनिहाल्न नचाहने र फलोअर सङ्ख्या ठ्याक्कै कति हुँदा इन्फ्लुएन्सर भइन्छ भन्ने पनि थाहा नभएको बताउने उनी अरूलाई प्रभाव पार्ने भन्दा पनि ती शब्दहरूले पिडा कम गराउने ओखतीको काम गरोस् भन्ने चाहन्छन्।
साथै सिर्जनात्मक ढङ्गबाट शब्दहरूको प्रयोग गर्ने गरेकाले परिचयमा उनले आफूलाई 'वर्ड शमन' भनेर चिनाएका छन्।

वर्ड शमन र थाङ्गबाले:
नेपालीमा शमनको अर्थ झाँक्री हुने भए पनि ठ्याक्क शाब्दिक अर्थमा भन्दा शब्दका माध्यमबाट मानिसहरूको मन छुने र पिडामा मलम लगाउने काम गर्ने व्यक्तिको रूपमा चिनिन चाहेको उनी बताउँछन्।

त्यस्तै आफ्ना पुर्खाहरू थाङ्गबाल भन्ने एक सानो गाउँबाट आएको कारण उनीहरूलाई थाङ्गबाले भन्ने गरिएको र त्यहीँ कारण आफूले पनि इन्स्टाग्राममा थाङ्गबाले नाम राखेको उनले बताए।
त्यो पुर्खौली गाउँ काभ्रे नजिक रहेको छ भन्ने सुनेको भए पनि उनी अहिले सम्म त्यहाँ नपुगेको बताउँछन्।
हाल अस्ट्रेलियाको क्यानबेरामा बसोबास गर्ने तामाङ सन् २०१४ मा अस्ट्रेलिया आएका थिए भने त्यसको दुई वर्ष पछि मात्र सक्रिय रूपमा इन्स्टाग्राममा आफूले लेखेका कविताहरू पोस्ट गर्न थाले।
लेखन यात्रा:

सानै उमेर देखि कविता लेख्न रुचाउने उनले प्रकाशन गर्न वा अरूलाई सुनाउन भन्दा पनि आफ्नो आत्मा सन्तुष्टिको लागी कलम चलाउँथे।
"मैले बच्चा हुँदा देखि नै लेख्ने गर्थेँ, तर सार्वजनिक रूपमा वा सामाजिक सञ्जाल तिर चाहिँ प्रकाशित गरेको थिइन।"
तर तिनै कविताहरू र उनले लेखेका प्रेरक र अनुभवमा आधारित भनाइहरू यति बेला सामाजिक सञ्जाल प्रयोग कर्ताहरूमाझ निकै लोकप्रिय भएका छन्।
नेपालमा रहँदा एक गैर सरकारी संस्थाका अध्यक्ष रहेका उनी श्रीमतीको कामको सिलसिलामा अस्ट्रेलिया आएका आएका हुन्।
यो पनि पढ्नुहोस्

प्रेरणाको श्रोत बन्यो अस्ट्रेलिया: लेखक घनश्याम खड्का
अस्ट्रेलिया आएपछि उनले आराम गरेर दिन बिताउने योजना बनाएका दिपेन्द्रलाई दिन बित्दै जाँदा पट्यार लाग्न थाल्यो र आफूले लेखेका कविताहरू इन्स्टाग्राममा राख्न थाले।
सुरु सुरुमा आफ्ना बिचार तथा लेखहरूलाई सार्वजनिक प्रशंसा वा आलोचनाका लागी खुल्ला रूपमा राख्दा निकै असहज महसुस गरेको सम्झने 'थाङ्गबाले' लाई इन्स्टाग्राम भने धेरै सकारात्मक लाग्यो।
सुरुवातमा १०० जना फलोअर ल्याउन गाह्रो भएको र झन् त्यसलाई १,००० पुर्याउन त निकै समय लागेको उनको भनाइ छ।
तर बिस्तारै फलोअरको सङ्ख्या बढे सँगै सन् २०१८ सम्ममा ४०-५० हजारले उनलाई फोलो गरिसकेका थिए।
"त्यति बेला चाहिँ इन्स्टाग्रामको एल्गोरिदमले पनि पोस्टहरूलाई अरूको पेजमा पठाएको जस्तो हुँदोरैछ, २-३ महिना राम्रो सहयोग हुँदा त्यो सङ्ख्या बढेर १ लाख कट्यो"
तर त्यसपछि त्यो वृद्धिको रफ्तार अलिकति घटेर अहिले भने एकनासले लगभग महिनामा ५ देखि ९ हजार सम्मको सङ्ख्यामा फलोअर बढ्ने गरेका छन्।
युट्युबमा जस्तो सामाजिक सञ्जालमा इन्फ्लुएन्सर भनिएकाहरूको पोस्टमा आएको लाइक, कमेन्ट र शेयरका कारण प्रत्यक्ष आम्दानी केही नभए पनि, फलोअर सङ्ख्या धेरै भएकाहरूलाई विभिन्न कम्पनीहरूले विज्ञापन गर्नका लागी सम्पर्क गर्छन्।
"फलोअरको सङ्ख्या हेरेर कतिपय बेला कम्पनीहरूले प्रमोट गरिदेऊ न भनेर आर्थिक सहयोग (रकम दिने) पनि गर्छन् तर त्यो नियमित चाहिँ हुँदैन, जे होस् मैले गरेको छैन नियमित रूपमा।"
र उनी पनि पछिल्लो समयमा एक कम्पनीसँग आबद्ध रहेका छन्।
ढिलो गरी बढेको फोलोअरहरूको सङ्ख्या सँगै उनले सामाजिक सञ्जालमा पोस्ट गर्ने विषयले सांस्कृतिक विविधता र त्यसको संवेदनशीलतालाई पनि ध्यान दिनु पर्ने रहेछ भन्ने बुझे।
सामाजिक दायित्व:
अङ्ग्रेजीमा लेखिएका त्यस्ता भनाइहरू विश्वभरका इन्स्टाग्राम प्रयोग कर्ताहरूले ठुलो सङ्ख्यामा हेरिने र मन पराइने कारणले पनि उनलाई हरेक हरफ लेखाइमा सामाजिक दायित्व बोध हुने गर्दछ।
"पहिला चाहिँ आफ्नो स्टोरीमा जोक्स बढी शेयर गर्थेँ, आफूलाई जे रमाइलो लाग्यो त्यो मात्रै। तर कतिपय बेला हामीलाई हाँस उठ्दो लागेको बेला अरूलाई लागेको हुँदैन रहेछ। अथवा सांस्कृतिक रूपमा अलि संवेदनशील हुनुपर्ने रहेछ। किनभने तपाइको फलोअर खाली एउटा देश मात्र होइन धेरै देशहरूबाट हुन्छ।"
त्यस्तै उनले सामाजिक कार्यहरूका लागी गरेको सानो प्रयासले पनि सकारात्मक प्रभाव पार्न धेरै सहयोग पुर्याउने रहेछ भन्ने बुझे।
अस्ट्रेलियामा केही महिना अगाडीको डडेलो सङ्कटको समयमा ग्रामीण अग्नि सेवाका लागी नगद सहयोग गर्न अनुरोध गर्दै उनले आफूले लेखेको पोस्टले गर्दा सहयोग रकम जम्मा भएको स्मरण गरे।
दीपेन्द्रले केही प्रयोग कर्ताहरूले आफ्नो जिम्मेवारी र उद्देश्यलाई इमानदारी पूर्वक निर्वाह गरे पनि कतिपय समयमा यस्ता सामाजिक सञ्जालहरूको नकारात्मक पाटो पनि देखिने बुझेका छन्।
नकारात्मक पाटो:
उनी इन्स्टाग्राम र फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा देखिएको नकारात्मक पाटोको रूपमा लिन्छन् किनिएका फलोअरहरूलाई ।
को हुन् त पेड फलोअरहरू ? दीपेन्द्र यसरी बुझाउँछन्, " टन्नै कम्पनीहरू हुँदा रहेछन् जहाँ चाहिँ पैसा तिरेपछि फलोअर बढाइदिने। तर त्यो चाहिँ साच्चिकै मानिसहरू होइनन् बट्सहरू भन्छ। "
यसरी बनाइएका फलोअरहरूले सङ्ख्या धेरै देखाए पनि पोस्टहरूमा लाइक, शेयर तथा कमेन्ट गर्ने लगायतका काम नगर्ने भएकाले इन्गेजमेन्ट देखिँदैन र त्यो एक्कासि बढ्ने भएकाले वास्तविक हैन भनेर बुझ्न गाह्रो नहुने उनी बताउँछन्।




