प्रमुख विषयहरू:
- नेपालको एक दुर्गम गाउँको श्री महालक्ष्मी विद्यालयलाई आर्थिक सहयोग गर्न क्यानबेरादेखि सिड्नीसम्म दौडिने स्टेफनी होको योजना
- त्यस पैसाले विद्यालयमा सानो विज्ञान र कम्प्युटर प्रयोगशाला निर्माण गर्ने
- सन् २०१९ मा त्यस विद्यालयमा अङ्ग्रेजी सिकाउँदा नेपालको पढाइका चुनौतीहरू बुझेको उनको अनुभव
आउँदो जुलाई महिनामा स्टेफनी हो क्यानबेरादेखि सिड्नीसम्म सात दिनको अवधिमा करिब ३३० किलोमिटर दुरी दौडिने छिन्।
यसबाट जम्मा भएको पैसाले नेपालको दुर्गम गाउँको विद्यालयमा सानो विज्ञान प्रयोगशाला र प्रोजेक्टर जडान भएको कम्प्युटर प्रयोगशाला निर्माण गर्ने उनको उद्देश्य हो।
सानो उमेरदेखि नै दौडहरूमा भाग लिने होले आफ्नो यसै व्यक्तिगत रुचिलाई सामाजिक कार्यको रूपमा प्रयोग गर्न चाहेकी हुन्।
होसँगको पूरा कुराकानी यहाँ सुन्नुहोस्: "नेपालको त्यो विद्यालयमा पढाइको स्रोतसाधनको कमी आफ्नै आँखाले देख्दा म छक्क परेँ।" हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नेपालमा किन र कसरी?
हो भन्छिन् कि, नेपालको विद्यालयमा पढाउने उनको यात्रा चाहिँ सन् २०१९ मा सुरु भएको थियो।
त्यस वर्ष अस्ट्रेलियामा आफ्नो कक्षा १२ को एचएससी परीक्षा सके पछि उनले केही महिना एक्लै नेपाल घुमघाम गरेकी थिइन्।
त्यही सिलसिलामा राजधानी काठमाडौँबाट गाडीमा आठ घण्टा टाढा पर्ने बन्सेरी भन्ने दुर्गम ठाउँको श्री महालक्ष्मी विद्यालयका विद्यार्थीलाई उनले अङ्ग्रेजी भाषा पढाएकी थिइन्।

“म पहिला पनि अरू देशहरू घुमेकी छु, तर नेपालको त्यो विद्यालयमा स्रोतसाधनको कमी आफ्नै आँखाले देख्दा म छक्क परेँ,” उनले एसबीएस गुजरातीसँगको कुराकानीमा बताइन्।
उनले अस्ट्रेलिया र नेपालको पढाउने तरिका र शिक्षकहरूले विद्यार्थी प्रति गर्ने व्यवहारमा ठूलो फरक पाइन्।
“यहाँ सिड्नीमा कक्षामा पढाइएको भन्दा बढी ज्ञान लिन अरू किताब आदि हुन्थे,” उनले भनिन्।
“नेपालका ती विद्यार्थीहरूले धेरै पढ्न चाहे पनि स्रोतसाधन नै नभएको मैले पाएँ।”
"ती बालबालिकाहरू अङ्ग्रेजी सिक्दा निकै खुसी थिए। तर कतिसँग स्कुलको पढाइ सकेर काठमाडौँ गएर पढ्ने क्षमता हुँदैन। त्यसैले उनीहरूको भविष्यको लागि मैले केही गर्नु पर्छ जस्तो मलाई लागेको हो।"
नेपाल पुगे पछिको पहिलो दुई हप्ता उनी सगरमाथा बेस क्याम्पमा ट्रेक गर्न गएकी थिइन्।
सोही ट्रेकिङ कम्पनीको एक कर्मचारीबाट उक्त विद्यालयमा स्वयंसेवा गर्ने मौका पाएको उनले बताइन्।
यस दौडका चुनौतीहरू के होलान्?
राजमार्गको बाटोमा एक हप्ताको लागि हरेक दिन करिब ४२ किलोमिटर एक्लै दौडिनु नै सबैभन्दा ठूलो चुनौती हुने उनी बताउँछिन्।
“म एक्लै हुन्छु, अनि घाउ चोट नलागोस् भनेर र राम्रो खान पानमा मैले धेरै ध्यान दिनु पर्छ,” उनले बताइन्।
“अस्ट्रेलियामा रहेका नेपालीहरू पनि यस अभियानमा सहभागी भएको म चाहन्छु किनभने उनीहरूलाई नेपालमा चाहिने कुराहरूको बारेमा अझ राम्ररी थाहा हुन सक्छ।"

भविष्यका अन्य योजना
चौध वर्षको उमेरमा एनटार्कटिका गएकी हो भन्छिन् कि, उनलाई चिसो ठाउँ र हिउँ निकै मन पर्छ।
उनी सन् २०२३ को मे महिनामा ग्रीनल्यान्डको हिम क्षेत्रमा जाने तयारीमा छिन्। त्यसमा उनले ३० दिनको अवधिमा हिउँमा ५४० किलोमिटरको यात्रा पुरा गर्नु पर्ने हुन्छ।
