नेपाली र अन्य समुदायबाट गरी झन्डै डेढ सय जना मानिसले सहभागिता जनाएको सो शोक सभा यहाँको परिचित ग्लिनेल्ग बिचमा आयोजना गरिएको थियो ।

Source: SBS Nepali/Indra Adkhikari
क्लेरेन्स पार्क निवासी २२ वर्षीय घिमिरे ग्लिनेल्ग बिचबाट हराएका थिए । करिब १७ घण्टा लामो खोजपछि उनको शव वेस्ट बिचमा फेला परेको थियो ।
उनको लाउने लुगा, वालेट र गाडी समुन्द्र किनारमा भेटिएको थियो । उनी आफूले स्याहार गर्ने १० वर्षीय अबोला बालक केभिन मगसुदीलाई पानीमा बचाउन खोज्दा आफै डुबेको खोजीकर्ताको अनुमान छ ।

शोकसभामा सहभागी नेपाली कन्सुलर दीपक धमलाले नेपालीहरूलाई सुरक्षित मानिएको बिचमा मात्र पौडी खेल्न अनुरोध गरे । Source: SBS Nepali/Indra Adkhikari
"यो कठिन घडीमा सहयोग पुर्याउने सबैलाई नेपाल सरकारको तर्फबाट धन्यवाद दिन्छु," उनले भने ।
परिवारको तर्फबाट नेपाली समुदायका अगुवा गोविन्द रानाले यहाँ आउने नेपाली विद्यार्थीलाई बिचमा जाँदा होसियार हुन अनुरोध गरे ।
स्थानीय सांसदहरू, घिमिरेले काम गर्ने संस्थाका प्रतिनिधि, केभिनको परिवार लगायतले घिमिरेलाई एक मिहिनती, निष्ठावान् र सरल व्यक्तिको रूपमा सम्झिए ।
घिमिरेको शव गत साता नै नेपाल लगिएको थियो र सोमबार काठमाडौँको पशुपतिमा अन्तिम दाहसंकार गरिएको थियो । शव लिन उनका दाजु घनश्याम आएका थिए ।

केभिन मगसुदीको परिवार Source: SBS Nepali/Indra Adkhikari
२०१६ जुलाईमा विद्यार्थी भिसामा अस्ट्रेलिया आएका घिमिरेले हालै मात्र नर्सिङ पढाई सकेर एस्युर्ड होम केयरमा डिस्याबिलिटि सपोर्ट वर्करको रूपमा काम गर्थे ।
गत साल पनि नयाँ वर्षको पूर्व सन्ध्यामा ग्लिनेल्ग बिचमा दुई जनाको पानीमा डुबेर मृत्यु भएको थियो ।