कोरोनाभाइरसका कारण उत्पन्न आर्थिक सङ्कटलाई सम्बोधन गर्न चालिएका अधिकांश सरकारी योजनासम्म राम्रो पहुँच नपाउँदा यस्ता अस्थायी भिसामा रहेका आप्रवासीहरूको जीवन कष्टकर बन्न पुगेको हो ।
अस्ट्रेलियाली तथ्याङ्क विभागद्वारा जारी गरिएको पछिल्लो आँकडा अनुसार अस्ट्रेलियाको बेरोजगारी दर ६.२ प्रतिशतमा उक्लिएको छ। अनि, केही अर्थशाश्त्रीहरूको कुरा मान्ने हो भने त फरक किसिमले गणना गर्ने हो भने यो अङ्क अझै माथि पुगेको देखिने छ।
यसैबिच, अस्ट्रेलिया भरका झन्डै २०० जति विभिन्न सङ्घ-संस्थाहरूले सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थी, शरणार्थी लगायत अन्य कमजोर अस्थायी भिसा धारकहरूलाई आधारभूत सहयोग प्रदान गर्न आह्वान गरी रहेका छन्।

तिनै संस्था मध्येका एक रिफ्युजी काउन्सिल अफ अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत पल पावरका अनुसार यस्तो समूहमा रहेका करिब १६,००० भन्दा पनि बढी बालबालिकाका अभिभावकहरूको आय स्रोत पुरै प्रभावित भएको छ।
“यो स्पष्टै छ कि जो मानिसहरू छोटो समयका अस्थायी भिसामा छन्, तिनका रोजगारदाताहरू ती मानिसहरूले कानूनी रूपमा काम गर्न पाउने कि नपाउने भन्ने अन्योललाई लिएर निकै चिन्तित छन्,” पावरले भने।
निःशुल्क कानूनी परामर्श दिने लिगल एड न्यु साउथ वेल्सका अनुसार कोरोनाभाइरस सङ्कट सुरु भए यता उनीहरू कहाँ ब्रिजिङ्ग भिसा धारकहरूबाट अस्ट्रेलियामा कानुन उल्लङ्घन नगरी थप समय बस्ने बारे बुझ्न थुप्रै फोन कलहरू आएको छ।

लिगल एड न्यु साउथ वेल्सकी अध्यागमन मामिला हेर्ने एक वरिष्ठ अधिवक्ता केटी रिग्ली भन्छिन् कि केही ब्रिजिङ्ग भिसा धारकहरूलाई उनीहरूको अध्यागमन सम्बन्धी पूर्व अवस्थाका हिसाबमा काम गर्ने अधिकार प्राप्त हुन सक्छ।
त्यसरी काम गर्ने अधिकार पाउने मानिसहरूलाई मेडिकेयरसम्मको पहुँच पनि हुन सक्ने उनले बताइन।
“तर जे भए पनि ब्रिजिङ्ग भिसामा रहने कसैले पनि सेन्टरलिङ्क भुक्तानी पाउँदैनन् जसको मतलब जबसीकर, जबकीपर अन्य विशेष लाभ अहँ केही पनि पाउँदैनन्।”

रिग्लीका अनुसार ब्रिजिङ्ग भिसामा रहेका थुप्रै भिसा धारकहरू जो अन्तर्राष्ट्रिय सीमा बन्द भएका कारण अस्ट्रेलिया छाडेर आफ्नो देश फर्कन असमर्थ छन्, उनीहरू यहाँ कानूनी रूपमा रहिरहने बारे सही जानकारी पाउन लालायित छन्।
“हामीले उनीहरूको केस चाँडो भन्दा चाँडो प्रोसेस होस् भनेर मद्दत गरिरहेका छौँ, ताकी उनीहरूको आवेदनको नतिजा ढिलो भन्दा चाँडो आओस् र उनीहरू सेन्टरलिङ्क भुक्तानीका लागि योग्य ठहरिउन,” उनले भनिन्।
सङ्घीय सरकारले अन्य अस्थायी भिसा धारक जस्तै ब्रिजिङ्ग भिसामा रहेकाहरूलाई उनीहरूको सुपरएन्नुएसन्मा जम्मा भएको रकमबाट यो २०१९/२० आर्थिक वर्ष र आउँदो आर्थिक वर्ष १०-१० हजार बिना कर निकाल्न भने सहुलियत भने प्रदान गरेको छ।
त्यसै गरी, गृह मामिला मन्त्रालयद्वारा “स्ट्याटस रेजुलुसन सपोर्ट सर्भिसेस” को माध्यमबाट ब्रिजिङ्ग भिसा ई धारकहरू, अध्यागमन बन्दी गृहबाट भर्खरै रिहा गरिएकाहरू वा “रेजिडेन्स डिटरमिनेसन”अन्तर्गत समुदायमा बस्न अनुमति पाएकाहरूलाई भने केही समयको लागि भुक्तानी दिने व्यवस्था गरेको छ।
पावर भने सेन्टरलिङ्कबाट भन्दा कम रकम भुक्तानी हुने यो योजनामा बहुसङ्ख्यक ब्रिजिङ्ग भिसा धारकहरू लाभान्वित नहुनेमा चिन्ता व्यक्त गर्छन्।
गृह मामिला मन्त्रालयले प्रबन्धन गर्ने योजना भएता पनि यसलाई चलाउन उसले विभिन्न गैर-सरकारी संस्थाहरूसँग सम्झौता गरेको छ।
“तर विभागले यसलाई निकै कसिलो तरिकाले नियन्त्रण गरेको छ र विगत केही वर्ष यता त उनीहरूले स्ट्याटस रेजुलुसन सपोर्ट सर्भिसेस अन्तर्गतको आर्थिक सहयोग पाउनबाट मानिसहरूलाई हटाइ दिएका छन्,” पल पावरले भने।

त्यसैले पनि थुप्रै मानिसहरूसँग दानमा भर पर्नु सिवाय अन्य कुनै विकल्प छैन।
पावरका अनुसार लगभग २०० भन्दा बढी सहयोगी एजेन्सीहरूले सहायता माग्न आउनेको सङ्ख्या दोब्बर वा तेब्बरै भएको उल्लेख गरेका छन्।
यस्तै एक संस्था - सेटलमेन्ट सर्भिसेस इन्टरनेशनलका ग्रेग बेन्सन प्रोत्साहन गर्दै भन्छन् कि बृहत् समुदायले २० डलर र ५० डलरका केयर प्याकेजहरू मार्फत अति आवश्यक परेका मानिसहरू तथा उनीहरूका बाल-बालिकाहरूलाई जाडो याममा खाना तथा लत्ता-कपडा उपलब्ध गराउन सक्छन्।
निःशुल्क कानुनी परामर्शका लागि आफ्नो स्थानीय लिगल एडलाई सम्पर्क गर्नुहोस्:
- न्यु साउथ वेल्स: ल एक्सेस न्यु साउथ वेल्सलाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि साँझ ५ बजे भित्र १३०० ८८८ ५२९ मा फोन गर्नुहोस्
- भिक्टोरिया: लिगल एड इन भिक्टोरियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि साँझ ५ बजे भित्र १३०० ७९२ ३८७ मा फोन गर्नुहोस्
- क्विन्सल्याण्ड: लिगल एड क्विन्सल्याण्डलाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४ बजे भित्र १३०० ६५१ १८८ मा फोन गर्नुहोस्
- वेस्टर्न अस्ट्रेलिया: लिगल एड वेस्टर्न अस्ट्रेलियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४ बजे भित्र १३०० ६५० ५७९ मा फोन गर्नुहोस्
- साउथ अस्ट्रेलिया: लिगल सर्भिसेस कमिसन अफ साउथ अस्ट्रेलियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४:३० बजे भित्र १३०० ३६६ ४२४ मा फोन गर्नुहोस्
- तास्मानिया: लिगल एड कमिसन अफ तास्मानियालाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ५ बजे भित्र १३०० ३६६ ६११ मा फोन गर्नुहोस्
- नर्दर्न टेरोटेरी: नर्दर्न टेरोटेरी लिगल एड कमिसनलाई सोमबारदेखि शुक्रवार - बिहान ८ देखि दिउँसो ४:३० बजे भित्र १८०० ०१९ ३४३ मा फोन गर्नुहोस्
- अस्ट्रेलियन क्यापिटल टेरोटेरी: लिगल एड एसीटीलाई सोमबारदेखि शुक्रवार - बिहान ९ देखि दिउँसो ४ बजे भित्र १३०० ६५४ ३१४ मा फोन गर्नुहोस्
यदि तपाईँ व्याकुल हुनुहुन्छ र तपाईँलाई भावनात्मक सहयोगको खाँचो छ भने बियण्डब्लुको कोरोनाभाइरस मानसिक स्वास्थ्य सहयोग सेवालाई १८०० ५१२ ३४८ वा लाइफलाइनको १३ ११ १४ मा कुनै पनि समय फोन गर्न सक्नुहुन्छ।
भाषाको सहयोग चाहिन्छ र उल्थाकारको सेवा पनि आवश्यक छ भने १३ १४ ५० मा फोन गरेर आफूले खोजेको सहायता संस्थासँग जोडिदिन भन्नुहोस्।
