शनिवार नेपालबाट अस्ट्रेलिया आएका राजदूत महेश राज दाहालले नेपालका राष्ट्रपतिबाट पठाइएको ओहोदाको प्रमाण पत्र बुधवार गभर्नर जनरल समक्ष बुझाएका हुन्।
आधिकारिक रूपमा दूतावासको जिम्मेवारी सम्हाले पछि अहिले दूतावास भित्रको प्रशासन बुझ्ने र योजना निर्माणको सुरुवाती चरणमा रहेको राजदूत दाहालले बताएका छन्।
गत जुन महिनामा तात्कालिक अस्ट्रेलियाका लागी नेपाली राजदूत लक्की शेर्पाले कथित मानव तस्करको आरोपका माझ आफ्नो पद बाट राजीनामा दिए पछि कार्यवाहक राजदूतका रूपमा दुरापदा सापकोटाले दूतावासको नेतृत्व गरिरहेकी थिइन।
सोही महिनामा मन्त्रिपरिषद् बैठकले अस्ट्रेलियाको राजदूतमा महेश दाहालको नाम सिफारिस गरेकोमा केही महिना अगाडी मात्र उनी नियुक्त भएका हुन्।

को हुन् महेश दाहाल?
चितवनका स्थायी निवासी महेश राज दाहालले लगभग तिन वर्ष नेपाल टेलिभिजनमा कार्यकारी अध्यक्षका रूपमा काम गरेका छन्।
त्यस अघि विभिन्न गैर सरकारी संस्थाहरूमा नेतृत्व समेत प्रदान गरेका राजदूत दाहालले व्यावसायिक तथा राजनीतिक पार्टीहरूको क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरूमा समेत लामो समय बिताएका छन्।
२ वर्ष परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको बोर्ड सदस्य रहनुका साथै राजदूत दाहाल उच्च स्तरीय सूचना प्रविधि आयोगको सदस्यका रूपमा काम गरिसकेका छन्।
राजदूतका रूपमा अस्ट्रेलिया आउनु पूर्व उनी पारिवारिक भ्रमणका क्रममा अस्ट्रेलिया आएको एसबीएस नेपाली लाई बताए।
आगामी दिनहरूमा नेपालीहरूको बसोबास रहने अस्ट्रेलियाका अन्य सहरहरूमा पनि भ्रमण गर्ने योजना रहे पनि निश्चित मिति नतोकिएको उनले बताए।
जिम्मेवारी
४ वर्ष सम्मका लागी क्यानबेरा स्थित नेपाली दूतावासमा रहने भए पनि राजदूत दाहालले अस्ट्रेलियाका साथ साथै न्युजिल्याण्ड, फिजी र पपुवा न्यु गिनी सम्मको जिम्मेवारी बहन गर्नु पर्ने छ।
राजदूत दाहालले नेपाल अस्ट्रेलिया बिचको कूटनीतिक सम्बन्ध विस्तार, अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरूको समस्या न्यूनीकरण त्यस्तै नेपाल भ्रमण वर्ष अन्तर्गत अस्ट्रेलियाली पर्यटकहरूलाई नेपाल जान प्रेरित गर्ने कार्य योजनाका खाका तयार भई रहेको बताएका छन्।

नेपाल अस्ट्रेलियाको कूटनीतिक सम्बन्ध स्थापित भएको ६० वर्ष पुग्न लाग्दा मन्त्री स्तरीय भ्रमणको आवश्यकता महसुस गरिएको राजदूत दाहालले बताए।
"नेपालको कूटनीतिक सम्बन्ध (अस्ट्रेलियासँग) अझ बलियो बनाउन पनि एकदमै जरुरी छ। विभिन्न क्षेत्रबाट चाहे आर्थिक कूटनीतिको क्षेत्रमा होस् चाहे सांस्कृतिक कूटनीतिमा होस्, कुनै न कुनै क्षेत्रमा चाहिँ हामीले धेरै कामहरू गर्न सक्ने अवस्थाहरू छन्।"
नीति निर्माण तहमा नै कूटनीतिक छलफल हुन सके दुवै देशले लाभ लिन सक्ने र त्यसका लागी उच्चस्तरीय भ्रमण आवश्यक रहेको उनको भनाइ छ।
नेपाली विद्यार्थीहरूले शैक्षिक संस्थाबाट ठगिएको गुनासो गरिरहँदा उनीहरूलाई सुरक्षित महसुस गराउनका लागी कानुनी र प्रक्रिया गत प्रणालीहरूलाई पनि कडा बनाउन आवश्यक रहेको राजदूत दाहालले बताए।
भर्खरै कार्यभार सम्हालेकाले ती समस्याहरूको अध्ययन तथा विश्लेषण गरेर उनीहरूको अस्ट्रेलिया बसाई सुरक्षित बनाउन के गर्न सकिन्छ भन्ने सम्बन्धमा बलियो योजना बनाउनु पर्ने धारणा राखे।

नेपाल पर्यटन वर्ष २०२० घोषणा सँगै अहिले सम्म लगभग २५ हजार पर्यटकहरूले नेपाल भ्रमण गरिसकेको बताउँदै उनले नेपाल भ्रमण गर्न अस्ट्रेलियाली पर्यटकहरूलाई प्रोत्साहित गर्न विभिन्न कार्यक्रमहरूको आयोजना गरिनु पर्ने आवश्यकता महसुस गरेका छन्।
"अस्ट्रेलियाली पर्यटकहरूलाई नेपालमा कसरी लान सकिन्छ यी सबै कुराहरूमा विविध कार्यक्रमहरू सञ्चालन गर्ने पर्ने हुन्छ। र यसका लागी कार्यक्रमहरूको योजनाको खाकाहरू चाहिँ हामीले बनाएका छौँ।"
यसका लागी अस्ट्रेलियामा रहेका नेपालीहरू सँगको छलफलले पनि सहयोग गर्ने बताउँदै गर्दा उनले नेपालमा पूर्वाधार विकासका लागी भने सरकारी स्तरबाट नै पहल गर्नु पर्ने आवश्यकतामा जोड दिए।
राजदूत दाहालले आफ्नो कार्यकालमा दूतावासको कार्य प्रणाली प्रभावकारी बनाउन देखि दूतावासको आफ्नै भवन निर्माण गर्ने सम्मको काम सम्पन्न गर्ने लक्ष राखेका छन्।

साथै उनले अस्ट्रेलियामा रहेका नेपालीबाट नेपालमा लगानी भित्र्याउने वा एक कोषको स्थापना गरेर जम्मा भएको रकमबाट उपयुक्त कार्यमा लगानी गराउन सक्ने तर्फ पनि आफ्नो ध्यान गएको बताएका छन्।
अस्ट्रेलियामा भ्रमण भिसामा आएकाहरूले पनि काम गर्न पाउने व्यवस्था गर्न सकियोस् भनेर छलफल गर्ने योजना रहेको राजदूत दाहालले बताए।
