कुनै अभिव्यक्ति वा ट्विट का कारण हैन मेलानियाको काठको सालिकले यो पटक सामाजिक सञ्जालमा चर्चा पाएको हो।
मेलानियाको स्लोभेनिया स्थित गृहसहरमा उनको पूर्ण कदको सालिक अनावरण गरिएको छ। र सोही सालिकका बारेमा सामाजिक सञ्जालहरूमा मिश्रित धारणाहरू अभिव्यक्त भएका छन्।
अब यसले किन यति ठुलो चर्चा पायो त भन्ने सोची रहनु भएको छ भने एक पटक सामाजिक सञ्जाल ट्विटरमा राखिएको यो सामाग्री हेर्नुहोस्।
उक्त सालिकमा उनले आफ्ना श्रीमान् डोनाल्ड ट्रंपको शपथ ग्रहण समारोहका समयमा लगाइएको पहिरनलाई देखाउन खोजिएको छ।
विशेष गरी युरोपमा पाइने खडेरी, धुलो र अन्य समस्याका बिच पनि छहारी दिने लिंडन प्रजातिको रुखबाट बनाइएको उक्त सालिक काठ काट्ने आरीको सहायताले बनाइएको थियो।
५ हजार जनसङ्ख्या रहेको मेलानियाको गृह सहर सेभ्निकामा अनावरण गरिएको उक्त सालिकलाई देखे पछि कति पय स्थानीयले मेलानियासँग केही मेल नखाएको भन्दै उक्त सालिक बनाउने मूर्तीकारको आलोचना गरेका थिए।
एक स्थानीयले आइ टिभी न्युजलाई भने, "यो कुनै हिसाबले पनि मेलानिया जस्तो देखिँदैन। यो अत्यन्त घृणित छ।"
अर्का एक स्थानीयले मूर्तीकार ले उक्त मूर्ती बनाउन तिन दिनको लामो समय लिएको र काठ काट्ने आरीको सहायताले मात्र बनाएकोले यो गाह्रो पनि भएको बताएका छन्। फ्रान्क सटोपरले भने, "उनी वास्तवमा जति राम्री देखिन्छिन् त्यति राम्रो यो छैन।"
तर एक स्थानीयले भने मेलानियाको मूर्तीले एउटा साङ्केतिक सन्देश बोकेको भन्दै प्रशंसा गरेका छन्।

उनले सेभ्निका जस्तो एउटा सानो सहरकी सानी बच्ची मेलानिया अमेरिकाको उच्च स्थानमा पुगेको देखाउन उक्त मूर्ती सफल भएको बताएका छन्।
तर सामाजिक सञ्जालमा भने मेलानियासँग मेल नखाएकोमा व्यङ्ग्यात्मक टिप्पणीहरू पोस्ट भएका छन्।
सो मूर्तीमा देखिएको अनुहारलाई एकजनाले बालबालिका को एक चर्चित टेलिभिजन कार्यक्रमसँग तुलना गरेका छन्।
त्यस्तै अर्का सामाजिक सञ्जाल प्रयोग कर्ताका लागी ती दुई तस्बिर फरक छुट्याउ भन्ने खेलको लागी प्रयोग भए।
मेलानियाको सो मूर्ती निर्माणको जिम्मेवारी दिएका थिए बर्लिनमा बसोबास गर्ने अमेरिकी कलाकार ब्राड डाउनीले र मूर्तीकार भने स्थानीय एलेस ज़ुपेक थिए।
उक्त मूर्ती खासमा सो क्षेत्रको ठेट स्थानीय शैलीमा निर्माण गरिएको थियो। तर मूर्ती मेलानिया जस्तो नदेखिँदा यस सम्बन्धमा सामाजिक सञ्जालहरूमा चर्चा भएको हो।
