बहुसांस्कृतिक समुदायमा रहेका महिला क्रिकेट खेलाडीहरूलाई समेट्ने उद्देश्यले पहिलो पटक सञ्चालित उक्त लिगमा ११ खेलाडीहरूले नेपाली टिमको प्रतिनिधित्व गरेका छन्।
अनिता सापकोटाको कप्तानी रहेको नेपाली टोलीले पहिलो खेल भारतसँग खेलेको थियो जसमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले १० ओभरको समाप्तिमा एक विकेट गुमाउँदै ८८ रनको लक्ष दिएको थियो।
त्यसपछि मैदानमा उत्रिएको टिम भारतलाई ४० रनमा सीमित राख्दै नेपालले पहिलो जित आफ्नो पोल्टामा पारेको थियो।
लिगको दोस्रो खेलमा श्रीलङ्काको सामना गरेको नेपाली टोलीले ४ विकेट गुमाउँदै ६१ रनको लक्ष प्रस्तुत गरेको मा श्रीलङ्काले उक्त लक्ष १ विकेट गुमाउँदै ८.५ ओभरको समाप्तिमा नै प्राप्त गरेको थियो।
९ विकेटको हार व्यहोरेको भए पनि भारतीय टोली श्रीलङ्कासँगको खेलमा पनि पराजित भएपछि नेपाली टोलीको फाइनल यात्रा तय भएको हो।
"हामी भर्खर मात्र यो खेलमा लागेका छौँ तर श्रीलंकन टोलीका खेलाडीहरूले क्लबमा रहेर पनि खेलहरू खेलिसकेका छन्। अगाडी देखि नै अभ्यास गरेका उनीहरू अथवा भनौ रगतमा नै क्रिकेट खेल रहेको त्यो टोलीसँगको खेल निकै प्रतिष्पर्धात्मक हुनेछ," सापकोटाले दुवै खेलमा अपराजित श्रीलङ्कासँग फाइनलमा हुने सामनाका बारेमा भनिन।
तर सापकोटाले आफ्ना टीमका खेलाडीहरू पनि धरै भन्दा धेरै अभ्यास गरेर फाइनलमा उत्कृष्ट प्रदर्शन गर्न उत्साहित रहेको बताइन्। ।
हार र जितको तय खेल हुने दिनको प्रदर्शनीले गर्ने भन्दै उनले यो पहिलो प्रयास भावी महिला क्रिकेट खेलाडीहरूलाई प्रोत्साहन प्रदान गर्न उदाहरणीय हुने आशा राखेको बताइन्।
नेपाल, भारत र श्रीलङ्का तिन टोलीको सहभागिता रहेको लिग क्रिकेटको फाइनल खेल डिसेम्बर १५ मा क्रानबर्न इस्टको क्यासी फिल्ड्स ग्राउण्डमा हुनेछ।
मेलबर्न स्टार्स महिला लिगको फाइनल समाप्ति लगत्तै सोही ग्राउण्डमा महिला बिग ब्यास लिग क्रिकेट सुरु हुनेछ।
मेलबर्न स्टार्स त्यही क्लब हो जसबाट नेपाली स्पिन बलर सन्दीप लामिछानेले बिग ब्यास लिगमा सहभागिता जनाउँदै छन्।
१९ डिसेम्बरबाट सुरु हुने बिग ब्यास लिगमा ५९ खेल हुनेछन् र फाइनल खेल आगामी फेब्रुअरी १७ मा हुनेछ।
