भारतबाट आएका एक व्यक्तिले एसबीएस वर्ल्ड न्युजसँग कुरा गर्दै आफूलाई ८ महिनासम्म बिना तलब काम गर्न बाध्य पारिएको अनुभव सुनाएका छन्।
२००७ मा हस्पिटालिटी अध्ययन गर्न अस्ट्रेलिया आएका भारतीय कर्णवीर सिंहलाई खाना बनाउने काम सबैभन्दा प्यारो थियो र त्यसैलाई आफ्नो करियरका रूपमा छानेका थिए।
र उनले सेफका रूपमा गोल्ड कोस्टको एक भारतीय रेस्टुरेन्टमा काम गर्न पनि थालेका थिए।

रेस्टुरेन्टमा काम गर्दाका आफ्ना सुरुवाती दिनहरू सम्झँदै उनले भने, "यसो हेर्दा त उनी मेरो लागी देवदुत नै जस्तो भएर आएका थिए, किनकि सुरुवातमा उनी एकदमै असल व्यक्ति थिए। त्यसैले मैले सोचे मेरो जीवनमा त चमत्कार नै भयो । तर केही समयपछि त्यो सबै फरक भयो।"
कर्णवीर सिंहका मालिकले उनलाई स्थाई भिसाका लागी इम्प्लोयेर नोमिनेसन स्किम अन्तर्गत प्रायोजन (स्पोन्सर) गर्ने बाचा गरेका थिए।
तर पछि उनले कर्णवीरलाई तलब बेगर नै काम गर्न भने।
"जति जति मैले आफ्नो ज्यालाका बारेमा सोध्थे, अध्यागमन विभागबाट आफूले दिएको नोमिनेसन फिर्ता लिने भन्दै उनले मलाई धम्क्याउन थाले।"
"उनको रेस्टुरेन्ट मार्फत मेरो भिसा आवेदन अध्यागमनमा पठाइसकिएको थियो।जति जति मैले आफ्नो ज्यालाका बारेमा सोध्थे, अध्यागमन विभागबाट आफूले दिएको नोमिनेसन फिर्ता लिने भन्दै उनले मलाई धम्क्याउन थाले। "
फेयर वर्क अम्बुड्स्म्यन ले गएको गर्थिक वर्षमा दुई हजार भन्दा बढी अस्थायी भिसा भएकाहरूलाई कार्यक्षेत्रमा भएको विवादमा सहयोग गरेको जनाएको छ।

त्यो सङ्ख्या भनेको कार्यक्षेत्रका विवादहरूलाई लिएर कदम चालिएको कुल सङ्ख्याको २० प्रतिशत हो।
अस्थायी भिसामा रहेकाहरू सँग सम्बन्धित विवादहरूलाई लिएर कार्यक्षेत्रहरूलाई लगभग ५० लाख डलर जरिवाना तिराइएको थियो र २० लाख डलर भन्दा बढी ठगिएको ज्याला उठाइएको थियो।
कर्णवीर सिंहले काम छोड्नु अगाडी ८ महिना बिना तलब काम गरेका थिए ; र उनले त्यसपश्चात् अम्बुड्स्म्यनमा आफूलाई नदिइएको २५ हजार डलर पाउनु पर्ने भन्दै उजुरी गरेका छन्।
भिक्टोरियाको युनियन सङ्गठन ट्रेड हल काउन्सिलकी सहायक सचिव करिना गार्ल्याण्डले उनको समस्या नयाँ नभएको बताएकी छन्।
उनका अनुसार भिसा रद्द हुने डरले प्राय आप्रवासीहरू यस्तो अवस्थामा सहयोग खोज्दैनन् र उनी भन्छिन् त्यसैले जहाँ कहीँ शोषण हुने गर्दछ।
"दुर्भाग्यवश आप्रवासीहरू माथि हुने विभेद कुनै एक पक्ष बाट मात्र भएको छैन, यो फरक फरक पृष्ठभूमिका मानिसहरूले अभ्यास गर्छन् जसमा आफ्नै पृष्ठभूमिका पनि हुन्छन्।"
कर्णवीर भन्छन् उनले आफ्नै देशको मान्छेबाट शोषण होला भनेर कल्पना पनि गरेका थिएनन्।
"आफ्नै देशको मान्छेले यस्तो गर्यो भन्नु असाध्य लाजमर्दो हो "
सिंहको रोजगारदाताले उनको भिसा रद्द गराएको छ तर अहिले उनको निवेदन अदालत समक्ष रहेकाले उनी ब्रिजिङ्ग भिसामा रहेका छन्।
र उनलाई अस्ट्रेलियामा भविष्य हुनेमा धेरै ठुलो आशा छ।
" सायद अबका दुई वर्ष जतिमा मैले आफ्नै रेस्टुरेन्ट किन्छु होला। अस्ट्रेलियालीहरू सेवा गर्न। "