संक्रमणदर बढ्दै गएपछि अत्यावश्यक खाद्य सामाग्री ढुवानीमा देखिएको समस्या र न्यु साउथ वेल्स हेल्थले आइसोलेसन नियममा गरेको परिवर्तनका विषयमा वार्ता भइरहेको हो।
मंगलबार रातिदेखि सुरु भएको वार्ता आज पनि जारी रहने बताइएको छ।
कोरोनाभाइरसका कारण कर्मचारी अभावको समस्यालाई समाधान गर्न बैठक केन्द्रित रहेको बताइएको छ।
कोरोनाभाइरसको प्रकोप बढेसँगै आपूर्ति शृङ्खलामा गम्भीर असर परेको छ।
हजारौँ कामदारहरू सङ्क्रमित बनेका वा 'क्लोज कनट्याक्ट' ठहर भएपछि आइसोलेसनमा बसेका छन् जसकारण आपूर्ति समस्याका कारण देशका प्रमुख खाद्य बिक्रेताहरू दैनिक उपभोग्य सामानहरुमा सीमा लागू गर्न बाध्य भएका हुन्।
साना व्यवसाय सम्बन्धी कार्यवाहक मन्त्री एन रुस्टन र औद्योगिक क्षेत्रका प्रतिनिधिहरू बिच वार्ता भइरहेको छ।
सोमवार अस्ट्रेलियाको स्वास्थ्य संरक्षण सम्बन्धी समितिले, खाद्यान्न आपूर्ति कामदारका हकमा 'क्लोज कनट्याक्ट'मा परेको अवस्थामा यदि कोरोनाभाइरसको जाँच रिपोट नेगेटिभ आए, आइसोलेसन तोडी काममा फर्कन सक्ने भन्ने सल्लाह जारी गरेपछि वार्ता भएको हो।

Empty shelves that were once stocked with toilet paper are seen in Balmain Woolworths, Sydney, Saturday, March 7, 2020. Source: AAP
समितिको उक्त सल्लाह माथि विहिबार हुने राष्ट्रिय मन्त्रीपरिषद्को बैठकमा छलफल हुने बताइएको छ।
उक्त सल्लाहलाई अन्य अत्यावश्यक क्षेत्र जस्तै स्वास्थ्य सामाग्रीको ढुवानी, उड्डयन, बाल हेरचाह एवम् शिक्षा लगायतमा पनि लागू गर्ने तैयारी गरिएको छ।
प्रधानमन्त्री स्कट मोरिसनले बुधवार राष्ट्रिय समन्वय संयन्त्र र मन्त्रीहरुसंग सम्भावित परिवर्तनहरूका सम्बन्धमा छलफल गर्ने बताइएको छ।
प्रस्तावित परिवर्तनमा अत्यावश्यक कामदारले कोभिड-१९ को बुस्टर डोज लगाएको सुनिश्चित गर्नु पर्ने पनि रहेको छ।
अत्यावश्यक कामदारहरूले सङ्क्रमित निकट आए पनि ऱ्यापिड एन्टीजेन परीक्षण नेगेटिभ आएको खण्डमा कामलाई निरन्तरता दिन सक्नेछन्।
तर त्यसपछि पनि ऱ्यापिड एन्टीजेन परीक्षण भने नियमित रुपमा गर्नु पर्ने भनिएको छ, यद्यपि कति समयका बिचमा जाँच गर्ने भन्ने निर्देशन भने जारी भइसकेको छैन।
बालबालिकालाई खोप लगाउन सुरु
यसैबिच सोमबारबाट पाँच देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन सुरु गरिएपछि पहिलो दिन करिब ३५,००० बालबालिकाले खोप लगाएका छन्।
ठुलो सङ्ख्यामा बालबालिकाले खोप लगाए पनि रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टीसनरकी डाक्टर करेन प्राइसले आपूर्ति समस्याका कारण समस्या सिर्जना भइरहेको बताएकी छन्।
उनका अनुसार खोप समयमा नपुग्दा कतिपय अभिभावकहरूले आफ्नो बुकीङ्ग रद्द गर्नु परेको छ ।
“ओमिक्रनका केसहरू बढ्दै गएका छन् र विद्यालयको नयाँ टर्म पनि सुरु हुदैछ, खोप कार्यक्रमलाई सुधार गर्नु आवश्यक छ,” उनले भनिन्।
स्वास्थ्य अधिकारीहरूले पाँच देखि ११ वर्ष उमेर समूहका २३ लाख बालबालिकालाई विद्यालय सुरु हुनु पूर्व खोप लगाइसक्ने बताएका छन्।