अत्यावश्यक सेवाको निरन्तरताका लागि, बढ्दो कोभिड-१९ केस संख्याको प्रभावलाई कम गर्न आइतबार न्यू साउथ वेल्स हेल्थले कार्यस्थल प्रतिबन्धहरुमा परिवर्तन गरेको छ।
'क्लोज कन्ट्याक्ट'मा परेका अत्यावश्यक कामदारहरु लक्षण नभएको अवस्थामा काममा फर्कन सक्ने भन्ने निर्णयको बिरोधमा युनियनहरुले अत्यन्तै 'लापरवाहीपूर्ण' निर्णय भन्दै प्रतिक्रिया दिएका छन्।
यो निर्णयले कामदारको स्वास्थ्य र सुरक्षामा डर पैदा गर्ने उनीहरुले बताएका छन्।
'क्लोज कन्ट्याक्ट'मा रहेका तर लक्षण नभएका खाद्यान्न ढुवानी तथा उत्पादन क्षेत्रमा काम गर्ने कर्मचारीहरु आइसोलेसन तोडी काममा फर्कन सक्ने नयाँ नीति बनाईएको छ।
यद्यपि यस्ता कर्मचारीहरुले प्रत्येक दिन रयापिड एन्टीजेन परिक्षण भने गर्नु पर्ने नियम राखिएको छ।
न्यु साउथ वेल्स हेल्थले, यदी रोजगारदातालाई उनीहरुको अनुपस्थितीले महत्वपूर्ण सेवा दिन बाधा पुर्याउँछ भन्ने लागेमा र उनीहरु घरबाट काम गर्न असमर्थ भएको खण्डमा मात्र त्यसो गर्न योग्य हुने बताएको छ।
न्यु साउथ वेल्सका प्रिमियर डोमिनिक पेरोटेले यी परिवर्तनले आपुर्ती व्यवस्थाको चुनौतिपूर्ण हप्ताहरुमा सहयोग पुग्ने बताएका छन्।

“हामी विश्वास गर्छौं कि यसले आपूर्ती र वितरण नेटवर्कहरुमा दबाब कम गर्नेछ, विशेष गरि हाम्रो राज्यभरका ति अत्यावश्यक क्षेत्रहरुमा आगामी केही हप्ताहरुका लागि,” उनले भने।
उता आईतवार नै क्वीन्सल्याण्ड प्रिमियर एनेस्टेसिया पालासेले पनि अत्यावश्यक क्षेत्रमा काम गर्ने र पोजेटिभ नदेखिएका कामदारहरु घरमै आइसोलेसनमा बसिरहेका भए, निश्चित परिस्थीतीमा काममा फर्कन सक्ने बताईन्।
“हामीलाई विद्यूत सेवा दिन जरुरी छ, पानीको आपुर्ती जारी राख्नु जरुरी छ, हाम्रा खाद्यान्न जहाँ जानुपर्ने हो त्यहा पुग्ने सुनिश्चीत बनाइराख्नु जरुरी छ,” उनले भनिन्।
यातायात मजदुर युनियनले पनि आफ्ना सरोकारलाई सुन्नका लागि आपुर्ती श्रृंखलाको बैठकमा युनियनहरुलाई राख्न आग्रह गरेको छ।
न्यु साउथ वेल्स हेल्थले आइसोलेसनका आबश्यकताहरुलाई खारेज गर्दा, रोजगारदाताले कामदारको सुरक्षालाई भन्दा परिचालन मामलालाई बढी प्राथमीकता दिने युनियनको भनाई छ।
“हामीलाई थाहा छ कि लक्षण नहुदा पनि तपाईले सङ्क्रमण फैलाउन सक्नुहुन्छ,” यातायात युनियनका सचिव मिसेल केनले एक बिज्ञप्ती मार्फत भनेका छन्।
उनले भने कि सम्भावित बिरामी व्यक्तिलाई काममा लगाउदा आपुर्ती सेवालाई सुलभ बन्दैन।
यता अस्ट्रेलियन काउन्सील अफ ट्रेड युनियनले पनि सम्भावित सङ्क्रमित कर्मचारीलाई आपुर्ती सेवामा ल्याउने कुरा “लापरवाही” भएको टिप्पणी गरेको छ।
