सुवासचन्द्र नेम्वाङ वा रामचन्द्र पौडेल: को बन्लान् त नेपालको नयाँ राष्ट्रपति?

नेपालमा फागुन २५ गते हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको लागि नेपाली काँग्रेसबाट नेता रामचन्द्र पौडेलले र एमालेका तर्फबाट भने सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गराएका छन्।

(L) Subash Chandra Nemwang and (R) Ram Chandra Poudel are standing for the presidential election in Nepal.

(L) Subash Chandra Nemwang and (R) Ram Chandra Poudel are standing for the presidential election in Nepal. Credit: (L) AAP Photos/EPA/Narendra Shrestha, (R) AAP Photos/Sipa USA/Abhishek Maharjan

राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन्।

निर्वाचनमा संघीय संसद र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्।

राष्ट्रपति लागि पौडेल र नेम्वाङको मनोनयन

शुक्रवार रातिको नेकपा माओवादी केन्द्रसहितको आठ दलीय बैठकले काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा काँग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन्।

सोही अनुरूप नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारी दिएका छन्।

यता एमालेका तर्फबाट भने सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गराएका छन्।

शनिवार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।

रामचन्द्र पौडेल २०५१ साल पौष ३ गतेदेखि २०५५ साल चैत्र ९ गतेसम्म सभामुख थिए।

सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए।

वि.स. २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकालमा सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुवै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे।

काँग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित आठ दलको साथ छ।

एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन्। एमाले नेताहरूले भने १० पौषमा भएको सहमति अनुसार नै नेम्वाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरूको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।

एमाले अध्यक्ष केपी ओलीले पनि पुरानै सहमति अनुसार राष्ट्रपति एमाले उम्मेदवारी विजयी हुने दाबी गरेका छन्।

आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुने कार्य तालिका छ। निर्वाचनमा संघीय संसद र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्।

राप्रपा सरकारबाट बाहिरियो

वर्तमान सत्ता घटक मध्येको एक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ। उक्त पार्टीबाट बनेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्।

शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।

राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका चार जना मन्त्री वनेका थिए। राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

वर्तमान सत्ता गठबन्धनको एक दल राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै सरकार छोडेको थियो। राप्रपाको यस निर्णय पछिको सत्ता समीकरण फेरिन सक्ने आङ्कलन गरिएको छ।

सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेकपा एमालेले भने सरकारबारे निर्णय गरिसकेको छैन।


Share

2 min read

Published

Updated

By Pratichya Dulal

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now