SKIP TO MAIN CONTENT

नेपाल: पाँच जना विरुद्ध क्रिकेटमा स्पट फिक्सिङको मुद्दा दायर

स्पट फिक्सिङको आरोपमा तीन खेलाडी सहित पाँच जना विरुद्ध जिल्ला अदालत काठमान्डुमा सोमबार मुद्दा दायर भएको छ।

CRICKET-NEP-USA
A representational picture of Nepali cricketers - US cricketer Akshay Homraj plays a shot during the one day international (ODI) cricket match of the ICC Cricket World Cup League 2 against Nepal at the Tribhuwan University International Cricket Ground, in Kathmandu on February 12, 2020. Source: AFP / KAUSHAL ADHIKARI/AFP via Getty Images

2 min read

Published

By Pratichya Dulal

Source: SBS


Skip to article content

गत पुष ९ देखि २७ सम्म कीर्तिपुर स्थित त्रिभुवन अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको नेपाल टी-२० क्रिकेट लिगमा मिलेमतो भएको आशङ्कामा प्रहरीले अनुसन्धान गरेको थियो।

सोही अनुसन्धानको निष्कर्ष स्वरूप स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरू विरुद्ध ३ वर्ष कैद र रु. ५०,००० जरिवानाको माग सहित जिल्ला अदालत काठमान्डुमा मुद्दा दायर भएको हो।

नेपाली क्रिकेट खेलाडी विरुद्ध खेलमा मिलेमतो गरेर नतिजा प्रभावित पारेको अर्थात् स्पट फिक्सिङको मुद्दा लागेको यो पहिलो पटक हो।

यसरी मुद्दा दायर हुनेमा खेलाडीहरू महबुब आलम, मोहम्मद आदिल अलाम र नितेश गुप्ता छन्। यी खेलाडीहरूलाई प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरिसकेको छ।

यस्तै नविन कँडेल र रवि माफी विरुद्ध पनि जिल्ला सरकारी वकिलको कार्यालयले यही कसुर विरुद्ध मुद्दा दायर भएको छ तर प्रहरीका अनुसार यी दुई हाल फरार छन्।

यस्तै अन्य ७ जना पनि कसुरदार रहेको तर उनीहरूको ठेगाना र वतन स्पष्ट नखुलेको भन्दै मुद्दा दर्ता प्रतिवादी भने बनाइएको छैन।

जिल्ला सरकारी वकिलको कार्यालय काठमान्डुका प्रमुख अच्युतमणि न्यौपानेले प्रहरीको अनुसन्धान प्रतिवेदन अनुसार उक्त मुद्दा दर्ता गरिएको बताए।

“राष्ट्रिय खेलकुद विकास ऐन २०७७ विपरीतको कसुरमा वहाँहरू विरुद्ध मुद्दा दर्ता गरिएको हो,” न्यौपानेले भने।

यस्तै उक्त लिग नै स्पट फिक्सिङ र अनलाइन सट्टे बाजी गरी गैर कानुनी फाइदा लिने उद्देश्यले उक्त लिग गरेको हुन सक्ने भन्दै अनुसन्धानको दायरा बढाएको प्रहरीले जनाएको छ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा भएको प्रतियोगिताको व्यापारिक र रणनीतिक साझेदार भारतीय कम्पनी सेभेन थ्री स्पोटर्स प्रालि रहेको थियो।

प्रहरीले १२ जनालाई प्रतिवादी बनाएको तर बाँकी ७ जनाको नाम, थर, वतन आदि नखुलेकोले तत्काल मुद्दा दर्ता नगरिएको पनि न्यौपानेले बताए।

सीआईबीले आयोजक कम्पनी सेभेन थ्री स्पोर्टसका सञ्चालक जतिन आलुवालिया, अभिषेक सकलानी, राहुल शर्मा, रवि माझी, समिर शेख, विरेन्द्र साह, विकास धयानी र एन्ड्रु मेकार्थीलाई पनि प्रतिवादी बनाएको थियो।

उक्त लिग निकै तामझामका साथ सुरु गरिएको थियो। तर खेलाडीले पारिश्रमिक नपाएको, प्रतियोगिताको बिचमै विदेशी खेलाडी फर्केको लगायतका विषयले सुरुदेखि नै विवादमा परेको थियो।

प्रतियोगितामा कमेन्ट्रि गरिरहेका एक कमेन्टेटर सचिन तिमल्सिनाले म्याच फिक्सिङको आशङ्कामा कमेन्ट्रि गर्न छोडेका थिए।

यस्तै राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान समेत रहेका र सो लिगमा काठमान्डु नाइट्स टोलीका कप्तान ज्ञानेन्द्र मल्लले पनि उनको टोलीका खेलाडीलाई सट्टेबाजले प्रस्ताव गरेको र उनको टोलीले उक्त विषयको उजुरी एन्टी करप्सन युनिटमा गरेको बताएका थिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now