केही महिना अघिसम्म मेलबर्न स्थित प्रतिष्ठित मानिएको “रक पूल एन्ड ग्रील” रेस्टुरेन्टमा कार्यरत रहेका नेपाली पृष्ठभूमिका कार्कीले उक्त रोजगारदाताले कामदारहरूलाई उपयुक्त तलब नदिएको र उनीहरू माथि शोषण गरेको कथित आरोप लगाउँदै गत जुलाई महिनामा मुद्दा दायर गरेका थिए।
सङ्घीय अदालतमा कार्कीको प्रतिनिधित्व गर्ने मरिस ब्ल्याकबर्न लयर्सका अनुसार उनले 'आराम बिना हप्ताको ७० घण्टासम्म काम गर्नुपरेको र बिहान ४ बजेदेखि मध्यरातसम्म, २० घण्टा बिना कुनै छुट्टी, दिन-दिनै काम गर्नुपरेको थियो।'
साथै, त्यसरी काम गर्नुपर्दा, औसत रूपमा प्रति घण्टा जम्मा १२ डलरका दर जतिले मात्र आफूले पारिश्रमिक पाएको एसबीएस समाचारलाई बताएका थिए।
उनी उक्त रेस्टुरेन्टमा सन् २०१२ देखि यो वर्षको मार्च महिनासम्म कार्यरत थिए।
सन् २०१३ मा भिसाको स्पन्सर गरिदिने बेला तिर स्थिति झनै नाजुक भएको कार्कीको आरोप छ।

“शिफ्टहरु बिचमा म पेस्ट्री बनाउने बेन्चमा सुत्नेसम्म स्थिति आयो। लगभग वर्ष दिनसम्म यस्तै रह्यो - कामबाट घर फर्केर पुनः काममा जान मलाई हम्मे-हम्मे थियो," कथित रूपमा जम्मा तीन घण्टा जति मात्रको विश्राम पाएको बारे बताउँदै उनले गत जुलाईमा मुद्दा दायर गरेपछि एसबीएस समाचारलाई भनेका थिए ।
असह्यै भएर सन् २०१८ को नोभेम्बर महिनामा उनले कम पारिश्रमिक पाइरहेको बारे रकपूललाई गुनासो गरेपछि आफूलाई डर र धम्की दीइयेको पनि उनले त्यस बखत आरोप लगाएका थिए।
त्यस पछि आफूलाई राजीनामा दिन बाध्य पारिएको पनि उनको भनाई थियो।
मरिस ब्ल्याकबर्नका मुख्य अधिवक्ता जोस बर्नस्टाइनका अनुसार कार्कीको तात्कालिक रोजगारदाताले वार्षिक “अवार्ड रेट”का नियमहरू र फेयर वर्क ऐनको कथित रूपमा गम्भीर उल्लङ्घन गरेको छ।
अस्ट्रेलियाको इतिहासमा नै यो ज्याला चोरीको सबैभन्दा तल्लो स्तरको घटना हो," बर्नस्टाइनले एक विज्ञप्ति मार्फत भनेका छन्।
“प्राप्त जानकारीको आधारमा, रकपूलले कर्मचारीहरूलाई उनीहरूको ज्यालाबाट ठग्ने क्रममा झुटा टाइम शीटहरु बनाएको देखिएको छ।"
उनले रकपूलद्वारा यसभन्दा अघि दिएको स्पष्टीकरण सही नरहेको पनि बताएका छन्।
“झुटो विवरण तयार गरेर पेस गरेको हुँदा रकपूलले पहिले भनेको कुरा कपोलकल्पित र आफ्ना कामदार ठग्न नियत वश भनेको प्रमाणित हुन्छ।”

यस अघि, अर्बन पर्भेयर ग्रुप, फ्राटेली फ्रेस र रकपूल समावेश भएर सन् २०१५/१६ मा “रकपूल डाईङ्ग ग्रुप” निर्माण हुँदा विरासतका रूपमा ती कम्पनीहरूबाट प्राप्त प्राविधिक प्रणालीहरूका कारण, आफू मातहतका सबै कर्मचारीहरूले काम गरेको समय अनुसार सही तलब वितरण गर्न असमर्थ रहेको रकपूलको भनाई रहेको थियो।
यूनाइटेड वर्कस युनियनका टिम केनेडीले भने ज्याला ठगी एक व्यापारिक अवधारणा नै बनिसकेको आरोप लगाएका छन्।
“हाम्रो देशमा सबैभन्दा कम तलबमा काम गर्ने मानिसहरुबाट जानाजानी चोरी गर्ने योजना हो यो, उनले भने।
साथै, एक करोड डलरभन्दा बढी रकम रकपूलले ठगी गर्न सक्नु भनेको हाल अस्ट्रेलियामा विद्यमान कार्यक्षेत्र सम्बन्धी कानुन कमजोर हुनु पनि एउटा कारण रहेको केनेडीको भनाई रहेको छ।
