SKIP TO MAIN CONTENT
Chhath 2022 ANMC group.png

This article is more than 3 years old

'सपना पूरा भएको छ': आफ्नै भूमिमा मेलबर्नको नेपाली समुदायले मनायो सन् २०२२को छठ

भिक्टोरियाका नेपाली समुदायको आफ्नै स्वामित्वमा रहेको जमिनमा पहिलो पटक छठ पर्व मनाइएको छ।

मेलबर्न स्थित डिगर्स रेस्टमा नेपाली सामुदायिक कार्यक्रमहरूको आयोजना एवं धार्मिक तथा सांस्कृतिक प्रयोजनका लागि भन्दै अस्ट्रेलियन नेप्लिज मल्टिकल्चरल सेन्टर (एएनएमसी)ले केही समय अगि खरिद गरिएको जमिनमा सन् २०२२ को छठ पर्व मनाइएको हो।

मधेसी कम्युनिटी इन भिक्टोरिया (एमसीभी)ले सन् २०१३ देखि हरेक साल मेलबर्नमा छठ पर्व मनाउँदै आइरहेको छ।

एमसीभीका अध्यक्ष डा सुरेन्द्र रौनियारले औपचारिक समारोहलाई सम्बोधन गर्दै अस्ट्रेलियामा पहिलो पटक आफूहरूले नै सार्वजनिक रूपमा छठ पूजाको आयोजना गरेको स्मरण गरे थिए।

यसरी कार्यक्रम सञ्चालन गर्दा मधेसी समुदायका बालबालिकालाई आफ्नो संस्कृति के हो त भनेर चिनाउने मौका मिलेको र साथै विविध पृष्ठभूमिका सबै उमेरका मानिसहरूले पनि नयाँ कुरा सिक्न पाएको पनि उनले बताएका थिए।

DrSRMCv.png
Dr Surendra Rauniyar

“छठका लागि स्थान उपलब्ध गराउने एएनएमसीका सम्पूर्ण टोली र सदस्यहरू प्रति एमसीभी हार्दिक आभार प्रकट गर्न चाहन्छ,” डा रौनियारले भने।

“विशेष गरी एएनएमसीका वर्तमान अध्यक्ष राजेश आचार्य जसले हामीलाई आवश्यक हरेक कुरामा मद्दत गर्नुभएको छ।”

आचार्यले भने पहिलो पटक नेपालीहरूको आफ्नै स्वामित्वमा रहेको स्थानमा यसरी कार्यक्रम आयोजना हुँदा आफूहरूले केही समय अगि देखेको सपना पुरा हुँदै अनुभव सुनाएका थिए।

“हामीले यो जमिन किन्दै गर्दा यहाँ रहेको पोखरी देखेर सोचेका थियौँ कि हाम्रो मधेसी समुदायले यहाँ छठ पूजा गर्न सक्छ,” उनले भने।

“आज त्यो सपना पूरा भएको छ।”
राजेश आचार्य, अस्ट्रेलिया नेप्लिज मल्टिकल्चरल सेन्टर

उक्त स्थानमा मौलिक नेपाली शैलीको पशुपतिनाथ मन्दिर एवं गुम्बा निर्माणको योजना भए तापनि त्यसकालागि केही समय लाग्ने आचार्यले एसबीएस नेपालीलाई बताए।

RAANMC.png
Rajesh Acharya

“तत्कालका लागि भने यहाँ पहिलेदेखि नै रहेको भवनलाई सामुदायिक प्रयोजनका लागि मिल्ने ढाँचामा रूपान्तरण गर्नेछौँ,” उनले भने।

“यसमा हामीले भनेको हिन्दु एव बौद्ध आस्थाका मन्दिर, ध्यान गर्न मिल्ने हल, एएनएमसीको कार्यालय र बैठक कोठा रहने छ।”

कार्यक्रममा स्थानीय विभिन्न नेपाली समुदायका नेताहरू, राज्य संसद्माको आगामी निर्वाचनमा सनबरी तथा ब्रोडमिडोज चुनाव क्षेत्रका लागि लिबरल पार्टीका तर्फबाट उम्मेद्वारद्वय सिमन कटन र बरिस डुजोभाका साथै नेपालबाट अस्ट्रेलिया घुम्न आएका अभिभावकहरूको पनि उपस्थिति थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now