कोरोना भाइरस सङ्क्रमणबारे धेरै जानकारीहरू नहुने र प्रत्येक दिन नियम परिवर्तन हुँदा अन्योलपूर्ण परिस्थितिमा काम गर्नु परेको केही समय अगाडीको अनुभव सुनाउँछिन् न्यु साउथ वेल्स राज्यको एक अस्पतालमा कार्यरत नर्स हेमन्त आचार्य।
पछिल्लो समयमा अस्ट्रेलियाको भाइरस सङ्क्रमितहरूको सङ्ख्यामा उल्लेख्य गिरावट आए पछि केही आराम भएता पनि केही महिना अगाडीसम्म काममा निकै तनाव हुने गरेको आचार्यको भनाइ छ।
घरमा वृद्ध हजुरबुवा र हजुरआमा भएकाले त्यो समयमा आफूले गर्दा उनीहरूमा सङ्क्रमण हुने हो कि भन्ने त्रास भने रही रहने गरेको उनको भनाइ छ।
"मेरो हजुरबुवा हजुरआमा ९६ र ८९ वर्षको हुनुहुन्छ, त्यसैले घरमा कोभिड लिएर गइयो भने चाहिँ आफूलाई केही लक्षण नदेखिने र केही नभए पनि उहाँहरूलाई सारो पार्छ भन्ने चिन्ता थियो।"

त्यस्तो तनाव पूर्ण अवस्थामा उनले पश्चिम सिड्नीको वेस्टमिड अस्पतालमा कार्यरत आफ्ना समकक्षीहरूसँग मिलेर टिकटक भिडियो बनाउँदा त्यो अन्योलमा पनि सकारात्मक वातावरण बनाउन सहयोग पुगेको बताइन।
त्यस्तै मेलबर्नमा बसोबास गर्ने सूर्य मणि पाण्डे र उनकी श्रीमती प्रज्ञा पौडेल पाण्डे दुवै स्थानीय अस्पतालमा नर्सका रूपमा कार्यरत रहेका छन्।
छुट्टा छुट्टै अस्पतालमा काम गर्ने भए पनि पाण्डे दम्पतीहरू भोगाइ र अहिले सम्म आफ्नो कामलाई लिएर आएको सोच एउटै नै छ।
उनीहरू दुवैलाई काममा स्वास्थ्य सुरक्षा सामाग्रीहरू अर्थात् पीपीइ उपलब्ध गराइए पनि र अहिले सम्म कोरोना सङ्क्रमण भएको कसैलाई प्रत्यक्ष स्याहार नगरेको भए पनि आफूलाई सङ्क्रमण हुने हो कि भन्ने चिन्ता भने सधैँ रहिरहन्छ।
अस्पतालमा यदि कसैमा सङ्क्रमणको लक्षणहरू देखियो भने सम्पूर्ण कर्मचारीहरूलाई सतर्क गराइन्छ र स्वाब परीक्षण गर्न पठाइन्छ। र यो बिचको अवधिमा सङ्क्रमण भएको नतिजा आउने हो कि भन्ने द्विविधा सधैँ रहिरहने प्रज्ञाको भनाइ छ।
"त्यो अनिश्चितता त जहिले पनि हुन्छ किन भने कत्ति मानिसहरूलाई जाँच गरिएको हुन्छ सबैको रिजल्ट त तुरुन्त आउँदैन ४८ घण्टा जति लाग्छ, त्यो ४८ घण्टा चाहिँ सधैँ चिन्ता हुन्छ। "
सात वर्षीय छोरा घरमा भएकोले कामबाट घर पुग्ने बित्तिकै नुहाएर मात्र छोराको नजिक जाने गरेका छन् उनीहरूले।
कहिले काहीँ उनीहरू घर जाँदा छोरा अङ्कमाल गर्न आइपुग्ने र आफूले त्यस्तो नगर्न भन्नु पर्दा केही नमज्जा लाग्ने गरेको अनुभव सुनाउँछन्।

हेमन्त आचार्यले पनि घरमा रहेका आफन्तलाई सुरक्षित राख्न काम बाट फर्कन साथ नुहाई धुवाई गर्ने र खाना खाने समयमा पनि सकेसम्म दुरी कायम राख्ने गरेको बताएकी छन्।
आफूले प्रत्यक्ष रूपमा कोभिड-१९ का बिरामीहरूलाई नहेरे पनि अस्पताल जस्तो संवेदनशील स्थानमा काम गर्ने गरेकाले घरमा अझै पनि सम्भव भए सम्म परिवारका सदस्यहरू सँग दुरी कायम राख्ने गरेको उनको भनाइ छ।
आफूलाई जोखिममा राख्दै र विषम परिस्थितिमा पनि अरूको जीवन रक्षाका लागी काम गर्न पाउँदा गर्व महसुस हुने सूर्य मणिको भनाइ रहेको छ।
र उनले यस समयमा मानिसहरूले नर्सहरू र यो पेसालाई हेर्ने दृष्टिकोणमा निकै धेरै परिवर्तन भएको अनुभव गरेका छन्।
कोल्समा पार्ट टाइम काम गर्ने सूर्यलाई एक ग्राहकले उनी नर्सिङ पेसामा आबद्ध भएको भन्दै सलाम गरेको सम्झे। आफूले गरेको कामको प्रशंसा गर्दै आफू प्रति सम्मान व्यक्त गर्दा सम्पूर्ण गाह्रो बिर्सने उनको भनाइ छ।
ठाउँ ठाउँमा स्वास्थ्य कर्मीहरूलाई धन्यवाद लेखिएको डिस्प्ले र म्याकडोनाल्ड तथा अन्य विभिन्न फास्ट फुडहरूमा छुट र सित्तैमा पनि खाना र कफीहरू उपलब्ध गराउने गरेको उनले बताए।

त्यस्तै अनुभव सिड्नी निवासी हेमन्त आचार्यको पनि रहेको छ।
उनले घर परिवारमा भन्दा पनि अहिले सर्वसाधारणले आफ्नो कामलाई लिएर धेरै प्रशंसा गर्ने गरेको र त्यसले आफूहरूलाई पनि काम जारी राख्न हौसला मिलेको बिचार व्यक्त गरिन।
श्रीमान् श्रीमती एकै पेसामा भएकोले एक अर्काको तनाव र काम सँग सम्बन्धित हरेक कुरा बुझ्न सहज हुने गरेको प्रज्ञाको अनुभव छ।
तर आफ्नो कार्य तालीका फरक भइरहने भएकोले घरमा छोरा सँग बस्ने समय मिलाउन चाहिँ बेला बेलामा समस्या हुने गरेको उनीहरूले बताए।
कोरोना भाइरस सङ्क्रमण कम गर्न भन्दै विद्यालयहरू पनि बन्द गरिदा विद्यालयहरूले पनि अत्यावश्यक पेसामा रहेका अभिभावक छोरा छोरीका लागी विद्यालय खुल्ला नै गरिदिँदा भने खासै अप्ठ्यारो भएन भन्छन् सूर्य मणि पाण्डे।

साथै उनले नर्स पेसामा रहँदा के कस्ता अविस्मरणीय क्षणहरू सँग साक्षात्कार हुन्छ त भन्ने प्रश्नमा सूर्य भन्छन्,
"कोही मान्छेको अन्तिम क्षणमा उसले परिवारसँग भेट्न नपाउँदा पनि ऊसँग तपाईँ हुनु हुन्छ। सोच्नुस् न जीवनको अन्तिम क्षणमा उसले तपाईँलाई देखि राखेको हुन्छ।"
त्यसैले उनले मानिसको जीवनसँग सम्बन्धित भएकाले प्रत्येक दिन केही न केही बिर्सन नसक्ने घटना हुने गरेको बताए।
