SKIP TO MAIN CONTENT

पानीमा सुरक्षित रहन मेलबर्नको एल्टोना बिचमा नेपालीहरुका लागि प्रशिक्षण

भिक्टोरियाका विभिन्न नेपाली समुदायहरूले हातेमालो गर्दै बिहीबार एक जल सुरक्षा सम्बन्धी तालिम पश्चिमी मेलबर्न स्थित एल्टोना बिचमा सम्पन्न गरेका छन्।

Life Saving Nepali Event Altona
Beach safety awareness program organised in Melbourne's Altona Beach for the local Nepali community. Source: आभास पराजुली/एसबीएस

6 min read

Published

Updated


Skip to article content

लाइफ सेभिङ्ग भिक्टोरियाको तत्वाधानमा जिलंग नेप्लिज एसोसिएसन (जिएनए)ले आयोजना गरेको “वाटर सेफ्टी एण्ड बिच प्रोग्राम २०२०” नामक एक जल सुरक्षा तालिममा गैर आवासीय नेपाली सङ्गठन (एनआरएनए), नेप्लिज एसोसिएसन अफ भिक्टोरिया र पश्चिम मेलबर्नका नेपालीहरूको सामुदायिक संस्था मेलबर्न नेप्लिज कम्युनिटी वेस्टले सहभागिता जनाएका थिए।

भिक्टोरियामा नेपालीद्वारा नेपालीका लागि पहिलो पटक आयोजना गरिएको यस कार्यक्रममा प्रमुख सामुदायिक संस्थाहरूको नाम जोडिए पनि, सहभागी सङ्ख्या निकै कम रहेको थियो।

Life Saving Nepali Event Altona
Source: आभास पराजुली/एसबीएस

“जिलंगबाटै विद्यार्थीहरू सहित ३०/३५ जनासम्म आउने अपेक्षा थियो तर भर्खरै विद्यालयहरू पुन खुलेको र आज गर्मी पनि निकै भएकोले हुनसक्छ वाचा गरेका व्यक्तिहरू समेत आई पुग्नु भएन,” जिएनएका अध्यक्ष नीरज कारनजीतले दुखेसो पोखे।

“पहिलो चोटि आयोजना गरेको, अब अर्को संस्करणमा सुधार गर्नेछौँ - बस नै रिजर्भ गरेर भए पनि विद्यार्थी भाइ बहिनीहरूलाई लिएर आउनुपर्ने देखियो - यो कार्यक्रम हामीले उहाँहरूलाई नै लक्षित गरेर ल्याएको हो - जिलंगबाट धेरै नभए पनि उहाँहरू आई दिनुभयो, अब उहाँहरूले अरूहरूलाई आज सिकेको कुरा भनिदिनु भयो भने पनि ठुलै हेल्प हुन्छ।”

उता, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेलले सबै सामुदायिक संस्थाहरू मिलेर यस कार्यक्रममा सहभागी हुनुलाई जोड दिए।

“आखिर इस्स्यु त सबैको हो (नि),” उनले एसबीएस नेपालीलाई भने।

गर्मीको उत्तरार्धमा आएर कार्यक्रम आयोजना गरिएता पनि आफूहरूले श्रव्य दृश्य मार्फत जल सुरक्षा बारे अभियान गत नोभेम्बर महिनादेखि नै सञ्चालनमा ल्याएको कँडेलले बताए।

Life Saving Nepali Event Altona
Beach safety awareness program organised in Melbourne's Altona Beach for the local Nepali community. Source: आभास पराजुली/एसबीएस

विद्यार्थीलाई लक्षित गरिएको कार्यक्रममा उनीहरू भन्दा सामुदायिक संस्थाका पदाधिकारीहरू नै बढी देखिनुलाई सकारात्मक रूपमा पनि हेर्न सकिने उनको धारणा थियो।

“नेप्लिज कम्युनिटी लिडरहरूले आज आएर नलेज पाउनुभयो भने त्यो उहाँहरूले, हामीले अरूहरूलाई नि शेयर गर्न पाइन्छ। आगामी वर्षहरूमा प्रोग्राम गर्दा पनि उहाँहरूले राम्रो सित एक्स्प्लेन गर्न पाउनुहुन्छ…,” उनले स्पष्ट पारे।

Life Saving Nepali Event Altona
Source: आभास पराजुली/एसबीएस

लाइफ सेभिङ्ग भिक्टोरियाका माइकल मसोनीले अस्ट्रेलियामा बर्षनी थुप्रै विदेशीहरूले यहाँका समुद्र लगायतका जलाशयहरूमा जाँदा अनाहक मै ज्यान गुमाउन परेको बताउँदै भने, “अलिकति मात्र पनि सावधानी अपनायौँ र साधारण नियमहरू बारे बुझ्यौँ भने ज्यान जोगिन्छ।

“हामी वर्षभर नै यस्ता कार्यक्रम गर्छौँ र पहिलो पटक नेपालीहरू पनि यसरी सचेत भएर यस बारे तालिम लिन यहाँ आउनु भएको छ, यो राम्रो सुरुवात हो,” उनले थपे।

“मानिसहरू खासमा ज्ञान र आवश्यक कौशलको अभावका कारण पानी भित्र हुँदा समस्यामा पर्छन्, अस्ट्रेलियाका जलाशयहरू र समुन्द्र अरू ठाउँका भन्दा अलि अलग्गै छन्।यहीँ जन्मे हुर्केकोलाई त कहिलेकाहीँ आपत् आइपर्छ, अब नेपाल जस्तो समुन्द्र नै भएको ठाउँका मान्छेहरूलाई त सानो छालले पनि अत्ताउन सक्छ।"

Life Saving Nepali Event Altona
Source: आभास पराजुली/एसबीएस

कार्यक्रममा भाग लिन आएका तर्कराज भट्ट मसोनीसँग सहमत देखिन्छन्।

“नेपालमा नदी, यहाँ समुन्द्र… समुन्द्रमा बच्ने तरिका फरक रहेछ,” उनले एसबीएस नेपालीसँग भने।

त्यसै गरी, अध्ययनको सिलसिलामा नेपालबाट चार दिन अघि मात्र अस्ट्रेलिया आइपुगेका रुपेशकुमार यादवले आफूले यहाँ आउनुपुर्व समुन्द्र कहिल्यै नदेखेको तर आफूले कार्यक्रमबाट थुप्रै कुरा सिकेको बताए।

“मलाई त स्विमिङ पनि त्यति राम्रो आउँदैन, आज उहाँहरूले केही टेक्निकहरू सिकाइदिनुभयो। रेस्क्यु कसरी गर्ने पनि सिकियो। दङ्ग छु - लक्किली चार दिनमै आउन पाएँ,” उनले उत्साहित हुँदै भने।

अर्का सहभागी नवीन नायकले पनि आफूलाई पौडी खेल्ने नआएता पनि नेपालीहरूले पानीमा ज्यान गुमाएको खबर सुनेका कारण कार्यक्रम प्रति चासो लागेर भाग लिएको बताए।

“यस्तो प्रोग्रामहरूमा आएर केही सिक्नुपर्ने रहेछ, यहाँ बस्नुहुने अरू विद्यार्थीहरू, नागरिकता लिएकाहरू सबैले सिक्नुपर्ने रहेछ,” उनले आफ्नो विचार व्यक्त गरे।

Life Saving Nepali Event Altona
Source: आभास पराजुली/एसबीएस

कार्यक्रममा महिलाहरूको सहभागिता त अझ न्यून रहेको अवस्थामा आयोजक तथा अन्य सहभागी संस्थाहरूलाई माहिला सहभागी बढाउन अधिक परिश्रम गर्नुपर्ने देखिन्छ।

“धेरै मेल डोमिनेन्ट भयो आज, केटीहरूलाई यहाँ आउन धेरै इन्करेज गर्नुपर्छ,” कार्यक्रममा उपस्थित दुई महिला मध्ये एक जना मुस्कानले भनिन्।

एनआरएनए भिक्टोरियाका सचिव नारायण कटुवालले कार्यक्रमबाट आफूले धेरै कुरा सिकेको र अब यसलाई थप आकर्षक बनाउन अझ बढी गृहकार्य गर्नुपर्ने देखिएको बताए भने मेलबर्न नेप्लिज कम्युनिटी वेस्टका शङ्कर थापाले सप्ताहान्त तिर कार्यक्रम भए अलि बढी सहभागिता हुनसक्ने धारणा अघि सारे।

लाइफ सेभिङ्ग भिक्टोरियाका मसोनीको टिप्स:

Life Saving Nepali Event Altona, Life Saving Victoria
Source: आभास पराजुली/एसबीएस
  • रिप्स बारे सचेत रहनुहोस् विशेष गरेर खुल्ला समुन्द्रमा जहाँ सर्फिंग गरिन्छ, रातो र पहेँला रङ्गका झन्डाहरू गाडिएका स्थान भित्र मात्र पानीमा जानुहोस् 
  • मौसम पूर्वानुमान बारे जानकारी लिई राख्नुहोस्, सुसूचित रहनुहोस्
  • कहिल्यै पनि मादक पदार्थ वा लागु पदार्थ सेवन गरेर पानीमा नपस्नु होस्,
  • पौडी खेल्न कहिल्यै पनि एक्लै नजानु होस्, सधैँ कम्तीमा पनि अर्को एक जना साथी लिएर पौडिनुहोस् वा थुप्रै मानिसहरू भएको ठाउँमा पौडी खेल्न जानुहोस् 

बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू डुब्ने सङ्ख्या वृद्धि

रोयल लाइफ सेभिङ्ग सोसाइटीकी स्टेसी पीजनले एसबीएसलाई बताए अनुसार गएको १० वर्षमा डुबेर मृत्यु हुने मानिसहरूको सङ्ख्या घट्दै गए पनि केही निश्चित समूहका कारण सोचे अनुरूपले घट्न भने सकेको छैन।

“अब यही वर्षको मात्र कुरा गर्नुहुन्छ भने पनि बहुसांस्कृतिक पृष्ठभूमिका मानिसहरू डुब्ने सङ्ख्या वृद्धि हुँदै गएको तथ्याङ्कहरूले देखाएका छन्।”

“धेरै मानिसहरू यस्ता पृष्ठभूमिबाट आएका हुन्छन् जहाँ पानी वरिपरि बसेर सामाजिक कार्यकलापहरु र रमाइलो गर्ने परिपाटी नै छैन। अब, धेरै ठाउँमा त पानी घरेलु क्रियाकलापमा मात्रै प्रयोग हुने गरेको छ।”

“त्यसैले जब उनीहरू पानी भएको ठाउँमा पुग्छन्, तब उनीहरूसँग पानीबाट सुरक्षा लिने बारे ज्ञान नै हुँदैन,” उनी स्पष्ट पार्दै भन्छिन्।

सोसाइटीले केही अघि जारी गरेको एक रिपोर्ट अनुसार यसरी डुब्ने जोखिममा सबैभन्दा बढी नेपाल लगायत ताइवान, साउथ कोरिया, आयरल्यान्ड र सुडानबाट आउने मानिसहरू रहेका छन्।

Key groups within the overseas-born population
Key groups within the overseas-born population Source: NATIONAL DROWNING REPORT 2019

माछा मार्नु पनि खतरा

601d7fab-d660-40a3-8e00-935ec0f19ff1

ढुङ्गामा बसेर माछा मार्नु पनि धेरै आप्रवासी समुदायहरूमा लोकप्रिय छ। तर, “रक फिशिङ्ग” भनेर परिचित उक्त क्रियाकलापलाई अस्ट्रेलियामा सबैभन्दा खतरनाक खेलको उपाधि प्राप्त छ।

ज्वारभाटा बढेर समुद्र छेउका चट्टानहरू चिप्लो भएका बखत ठुला-ठुला छालमा परेर हरेक वर्ष धेरै मानिसहरूको ज्यान जाने गरेको पनि बताइएको छ।

“यसरी माछा मार्न जाँदा, लाइफ ज्याकेट लगाउनु अति नै जरुरी हुन्छ, चाहे ढुङ्गामा बस्दा होस् वा डुङ्गामा। कहिले के हुन्छ, यसै भन्न सकिन्न, पानीमा जान्न भन्दा-भन्दै पनि चिप्लेर वा डुङ्गा पल्टेर पानीमा पुग्न सकिन्छ। त्यस्तो बेला लाइफ ज्याकेटले तपाईँको ज्यान बचाउन सक्छ,” पीजन भन्छिन्।

माछा मार्न जान मन छ भने, ठुला छालहरू नभएका ठाउँहरू रोज्नु र एक्ला-एक्लै नगएर कोही साथीसँग मिलेर उपयुक्त हुन्छ। यस बारे थप जानकारी यहाँ उपलब्ध छ: http://www.bom.gov.au/marine/about/check-rock-fishing.shtml

सहायता तथा सेवाहरू

दी बीचसेफ नामक एप निःशुल्क रूपमा ७२ भाषामा उपलब्ध छन्। यसले गस्तीको स्थिति, सुविधाहरू, खतरा, मौसम र ज्वारभाटा सम्बन्धी जानकारीहरू प्रदान गर्छ।

यसको साथै, दी बीचसेफ वेबसाइटमा अस्ट्रेलियाली बीचहरू जाँदा ध्यान पुर्‍याउन पर्ने प्रमुख कुराहरू बारे र रिप करेन्ट कसरी पहिचान गर्ने र त्यसमा परे कसरी बच्ने भन्ने बारे लगायतका जानकारीहरू उपलब्ध छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now