नेपालको पहिलो भु-उपग्रहको सफल प्रक्षेपण

नेपालको पहिलो भु-उपग्रहले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनको लागि आफ्नो यात्रा सफलतापूर्वक सुरु गर्दै इतिहास बनाएको छ।

NepaliSat-1 was launched onboard Antaris rocket from NASA facility in Virginia, US

NepaliSat-1 was launched onboard Antaris rocket from NASA facility in Virginia, US. NASA Video screenshot. Source: NASA

नेपाली स्याट १ नाम दिएको उक्त भु-उपग्रह, सिड्नी समय अनुसार आज बिहान ६:४६ मा अमेरिकी शहर भर्जिनिया स्थित नासाको उडान केन्द्रबाट प्रक्षेपण गरिएको हो।

अन्टारेस रकेट माथि रहेको सिग्नस नामक मालवाहक जहाजमा नेपालका साथै श्रीलङ्काको रावणा-१ र जापानी उगुइसु भु-उपग्रहहरू पनि रहेका थिए।

नेपाली वैज्ञानिक आभास मास्केको नेतृत्वमा रहेको आठ सदस्य टोलीद्वारा उक्त भु-उपग्रहको निर्माण गरिएको हो।

मास्केका अनुसार नेपालले प्रक्षेपण गरेको भूपग्रह निकै सानो आकारको छ र यसलाई नानो भु-उपग्रह भनिन्छ।

"नेपालको पहिलो भु-उपग्रह १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर अग्लो र १० सेन्टिमिटर चौडा छ र यसको तौल करिब एक किलो ३३० ग्रामको छ," मास्केले बीबीसीलाई बताए।

NepaliSat-1 in the center is Nepal's first satellite to be sent to space.
NepaliSat-1 in the center is Nepal's first satellite to be sent to space. (Photo:Birds 3 Satellite Project) Source: Birds 3 Satellite Project

नेपालको भु-उपग्रह पृथ्वीका सतहभन्दा चारसय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ र त्यहाँबाट तस्बीरहरु पठाउने छ।

''भु-उपग्रहले नेपालको भूगोल, तापक्रम, मौसम आदिको तस्बिर खिच्छ  र यसले प्रवाह गरेको सूचनाको प्रयोगले नेपालमा आउने भूकम्प, बाढी लगायत अन्य विपद आदिको लागी पनि जानकारी दिन सक्छ,'' मास्केले थपे। 

रिमोट सेन्सिङ प्रविधि प्रयोग गर्न उक्त उपग्रहले मदत गर्ने पनि उनको भनाइ छ।

"यो अमेरिका, अस्ट्रेलिया, बेलायतको वा भारतकै जस्तो शक्तिशाली भूउपग्रह होइन।"

"त्यसकिसिमको भूउपग्रह बनाउन अझै धेरै श्रम र श्रोत चाहिन्छ। तर त्यसका लागि यसको सफल परीक्षणले ढोका खोलिदिनेछ," हाल जापानस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक)मा विद्यावारिधि गरिरहेका मास्केले भने।

"पहिलो स्याटलाईट अन्तरिक्षमा पठाउने चुनौती पुरा गरेका हौँ तर यसलाई अझ विकसित गर्ने काम चाहिँ बाँकी नै छ।"

Birds 3 Satellite Project team in Japan.
Birds 3 Satellite Project team in Japan. Source: Birds 3 Satellite Project

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), नेपाल सरकार र जापान स्थित क्युशु प्राविधिक केन्द्र बिच भएको समझदारी पछि उक्त भु-उपग्रहको निर्माण र परीक्षण गरिएको थियो। बर्ड्स ३ नामक परियोजना अन्तर्गत क्युटेकमा उक्त निर्माण कार्य सम्पन्न भएको हो।

निर्माण कार्यमा अर्का नेपाली हरिराम श्रेष्ठ पनि संलग्न रहेका थिए।

 श्रेष्ठले एसबीएस नेपालीसँग सो भु- उपग्रह र त्यसको महत्त्व र प्रयोग बारे कुरा गर्दै परियोजनामा संलग्न वैज्ञानिकहरू यति बेला उक्त भु-उपग्रहले पठाउने जानकारीहरू प्राप्त गर्न चाहिने ग्राउण्ड स्टेसन नेपालमा नै निर्माण गर्न केन्द्रित रहेको बताएका छन्।

नास्टको नेतृत्व र क्युटेकको प्राविधिक सहयोगमा नेपालले आफ्नो भूउपग्रह बनाएको नास्टका प्रविधि सङ्काय प्रमुख रविन्द्र ढकालले बताए।

ढकालका अनुसार नेपालको पहिलो भूउपग्रहको आयु ३ वर्षको हुने छ।

"अन्तरिक्षमा प्रक्षेपण गरे पनि प्राविधिक रूपले उपयुकत छ भनेपछि बल्ल हाम्रो स्याटेलाइट पृथ्वी वरपर घुम्न थाल्छ।"

"हाम्रो भु-उपग्रहले मे अन्त्यमा पृथ्वीको चक्कर लगाउन सुरु गर्छ," ढकालले भने।

"नेपाली स्याट-१" लाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन सम्म पुग्न साढे एक दिनसम्म लाग्ने छ।

प्रधानमन्त्री के पी शर्मा ओलीले ट्विटर मार्फत यस परियोजनामा संलग्न सबैलाई धन्यवाद दिँदै नेपाल पनि अब अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन्।

नास्टका अनुसार सन् २०१५ मा नेपालले आफ्नो पहिलो भु-उपग्रह प्रक्षेपण गर्ने योजना सन् १९८३ मै बनेको थियो। तर उक्त म्याद भित्रै प्रक्षेपण गर्न नेपाल असफल भएको थियो।

यसअघि भुटान र बङ्गलादेशका भूउपग्रह यसरी नै प्रक्षेपण गरिएको थियो।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now