युरोपको भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र उनका ब्रिटिश समकक्षी टेरेजा मे बिच लन्डनमा भेटवार्ता भएको छ।
अस्ट्रेलियाली समय अनुसार गए राति प्रधानमन्त्री मेको १० डाउनिंग स्ट्रीट स्थित कार्यालयमा भएको उक्त वार्तामा गोर्खा सैनिक भर्ती र द्विपक्षीय कर प्रावधान लगायतका विषयबारे छलफल भएको बताइएको छ।

डाउनिंग स्ट्रीट प्रवक्ता द्वारा सार्वजनिक गरिएको एक विज्ञप्तिमा नेपाल र ब्रिटेन बिचको २०० वर्ष भन्दा बढीको औपचारिक सम्बन्धबारे प्रधानमन्त्री द्वयले स्वागत गरेका थिए।
भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन अधिकार लगायतका विषय बारे पनि मे र ओली बिच वार्ता भएको बताइएको छ।
बीबीसीका अनुसार प्रधानमन्त्री ओलीले भूपू सैनिकहरूका केही मागलाई सम्बोधन गर्ने ब्रिटिस सरकारको कदम प्रति धन्यवाद दिएका थिए। प्रधान मन्त्री मेले चाहिँ ब्रिटिस सेनामा गोर्खा सैनिकहरूले महत्त्वपूर्ण भूमिका निभाएको जोड दिएको बताइएको छ।
युरोपेली युनियन बाट बाहिरिन लागेको ब्रिटेनले नेपालमा लगानी बढाउने योजना रहेको बताउँदै सन् २०२० को नेपाल भ्रमण वर्षमा पनि पर्यटन विकासमा पनि सहयोग पुराउनेबारे दुवै नेता बिच वार्ता भएको थियो।
साथै, नेपाल र ब्रिटेन बिचको आर्थिक सहकार्यमा सुधार गर्दै एक अर्काका देशमा लगानी गर्नेहरूले दोहोरो कर तिर्न नपर्ने बारे पनि छलफल भएको बताइएको छ।
प्रधानमन्त्री र राजकुमार ह्यारी बीच भेट
प्रधानमन्त्री ओलीले हिजो नै ब्रिटिश राजकुमार ह्यारीसँग पनि भेट गरेका थिए।
ह्यारीको निवास स्थान केन्सिङ्टन दरबारमा भएको उक्त भेटमा प्रधानमन्त्रीसँग श्रीमती राधिका शाक्यको पनि उपस्थिति रहेको थियो।
सामाजिक सञ्जालमा “निजी” भनी वर्णन गरिएको उक्त भेटबारे तस्बिर सार्वजनिक गर्दै शाही परिवारको ट्विटर पृष्ठमा सन् २०१६ को मार्च महिनामा राजकुमारको पहिलो औपचारिक नेपाल भ्रमणको क्रममा पनि प्रधानमन्त्री ओलीसँग भेट भएको बताइएको छ।
सन् २०१५ को विनाशकारी भूकम्प पछि केही स्वयंसेवकहरूका साथ राजकुमार ह्यारीले पनि पुनर्निर्माणमा सहयोग पुराएको उक्त पोस्टमा बताइएको छ।
