पेट मुनिको भाग जोडिएर जन्मिएका दुई भुटानी जुम्ल्याहा दिदी बहिनी - निमा र दावाको मेलबर्न स्थित रोयल चिल्ड्रेन्स अस्पतालमा ४ महिना अघि भएको सफल शल्यक्रिया पछि अब स्वास्थ्य लाभ गरी यही हप्ता घर फर्किने तयारीमा रहेका छन्।
चाँडोमा यी दुई १९ महिने दिदी बहिनीहरू भोलि बुधवारै मेलबर्नबाट आफ्नो भुटान स्थित घर फिर्न सक्ने बताइएको छ।
मेलबर्नको गभर्मेन्ट हाउसमा आज मङ्गलवार चिल्ड्रेन्स फर्स्ट फाउन्डेसनको २० औँ वार्षिकोत्सव मनाउन आयोजित एक कार्यक्रममा उनीहरू सरिक भएका थिए।
शल्यचिकित्सकहरु सहितको १८ सदस्यीय एक उपचार टोलीद्वारा आफ्नो सफल शल्यक्रिया पश्चात् थप स्वास्थलाभ एवं आरामका लागि उनीहरू आफ्नी आमा भुम्चु ज्याङ्गमो सहित अस्पतालबाट अघिल्लो वर्षको ९ नोभेम्बरमा बिदा भएका थिए।

