आगामी महिना हुने एनआरएन अस्ट्रेलियाको निर्वाचनका लागि हाल उम्मेद्वारी घोषणा भैरहेका छन्। तर गए वर्षहरुमा झैँ यस पटक पनि संघको अध्यक्ष र उपाध्यक्ष लगायतका नेतृत्व पंक्तिमा महिलाहरुको उपस्थिति नरहने चिन्ता व्यक्त गरिएको छ।
जुलाई ६ मा हुन गइरहेको एनआरएनए अस्ट्रेलियाको निर्वाचनमा महिलाहरूको उम्मेदवारीलाई लिएर सङ्घमा आबद्ध केहि महिलाहरूले चिन्ता व्यक्त गरेका छन्।
महिलाहरूलाई सदस्यका लागी उम्मेदवारी दिन वा सङ्घ अन्तर्गतकै महिला समूह नारी निकुञ्जमा मात्र आबद्ध हुन पुरुष सदस्यहरूबाट दबाब आउने गरेको उनीहरूको आरोप रहेको छ।
गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवका रूपमा एक कार्यकाल र लगत्तै दोस्रो कार्यकालका लागि प्रवक्ताका रूपमा रहेकी रन्जु वाग्ले थापाले गैर आवासीय नेपाली सङ्घ भित्र लैङ्गिक विभेद अत्यधिक रहेकोमा जोड दिएकी छन्।

महिलाहरूलाई मूलधारमा आउनको लागी सुरुवाती खुड्किलाका रूपमा कल्पना गरिएको नारी निकुञ्जलाई अहिले महिला उम्मेदवारहरूलाई थन्काउने थलो बनाइएको वाग्ले बताउँछिन्।
उनले भनिन् "पुरुषलाई नै भाग पुग्दैन तिमीहरू चाही महिला फोरममा जाओ अब हुन्छ नि जिम्मेवारी पूर्ण पदमा रहेर काम गरिसकेको महिलालाई पनि महिला भएको कारणले महिला फोरममा जाऊ भन्ने प्रवृत्ति देखिन्छ।"
रन्जु वाग्ले थापाले भनेको जस्तै समान अनुभव सँगालेकी छन् पश्चिम अस्ट्रेलियाबाट उप-संयोजकका रूपमा आफ्नो उम्मेदवारी दिएकी बिमु लामाले।

उनलाई पनि सुरुवातमा यो पदमा भन्दा नारी निकुञ्ज वा सदस्यका लागी उठ्न भनिएको बताएकी छन्।
तर यसो भनिरहँदा उनले आफ्नो क्षेत्रमा महिलाहरू बाहिर प्रस्तुत हुन नचाहने प्रवृत्ति आफूले पाएको बताएकी छन्।
"वेस्टर्न अस्ट्रेलियामा सानो समुदाय छ, यहाँको दिदी बहिनीहरू चाहिँ सायद नचाहेर पनि नआएको हो कि जस्तो पनि मलाई लाग्यो, हाम्रो दिदी बहिनीहरूलाई बोलाउनु पर्ने, आउनुस् भन्नु पर्ने भित्रै मन बाट जागरण लिएर अगाडी नबढ्नु भएको हो कि जस्तो पनि मलाई लाग्यो।"
आगामी निर्वाचनमा आफ्नो उम्मेदवारी न्यु साउथ वेल्स राज्य परिषद्मा ट्रेजररका रूपमा दिएकी सबिना नेउपाने महिला सहभागिताको समस्याका रूपमा अगाडी आउन नचाहने र आउन नदिन दुवै किसिमको अवस्था आफूले अनुभव गरेको बताउँछिन्।

तर महिलाहरूमा आफूमा पनि आत्मविश्वास र सङ्कल्प हुनु पर्ने उनको भनाइ रहेको छ, "गुनासो किन गर्नु जब कि तपाईँ आफैँले केही परिवर्तन ल्याउन सक्नु हुन्छ भने अगाडी बढ्नुहोस्। आफूलाई चाहेको परिवर्तनको संवाहक आफैँ बन्नुहोस्।"
भिक्टोरियामा रही सामुदायिक कार्यहरूमा धेरै अनुभव सँगालेकी छन् दीपा राईले। र उनी विश्वास गर्छिन् कि महिलाहरू गैर आवासीय नेपाली सङ्घमा आउन नचाहनुको कारणको पछाडि यसभित्र राजनीति हुन्छ भन्ने पनि एक रहेको छ।
तर उनी त्यसबाट पछि हट्नुको सट्टा यो संस्कृतिलाई परिवर्तन गर्न पनि यसमा आबद्ध हुन आग्रह गर्छिन्, "महिला दिदी बहिनीहरू डराउनु पर्दैन, म आफैँ पनि बसेकै हो, र जुन चाहिँ राजनीति गर्ने संस्कृति छ एनआरएनएको मलाई पूर्ण विश्वास छ केटीहरूले गर्दाखेरि चाहिँ यो संस्कृति कम हुन्छ।"
सम्पूर्ण अस्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूको समस्या सम्बोधन गर्ने उद्देश्य बोक्ने भनिएको गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाभित्र लैङ्गिक समानताको मुद्दामा नै सङ्घर्ष रहेको छ।
एनआरएनए अस्ट्रेलियाको वर्तमान कार्यसमितिमा २४ सदस्य र अन्य पदमा अध्यक्ष सहित १६ जना रहेका छन्।
हरेक क्षेत्र र तहमा महिला उपस्थितिलाई सशक्त बनाइनु पर्ने आवाजका बिच सुन्दा अचम्म लाग्न सक्छ तर ४० जना रहेको एनआरएनए अस्ट्रेलियाको कार्य समितिमा मात्र दुई जना महिलाको नाम देख्न सकिन्छ।
त्यो पनि एक जना सदस्य त अर्को महिला संयोजकको पदमा।
समस्या राष्ट्रिय समन्वय परिषद्मा मात्र होइन अन्तर्राष्ट्रिय परिषद्को पनि हाल उस्तै रहेको छ।
साधारण आइसीसी सदस्य र महिलासँग सम्बन्धित पद बाहेक अन्य उच्च तहका पद ३४ रहेकोमा त्यस मध्ये ४ जना मात्र महिलाहरू रहेका छन्।

एनआरएनए भित्रको महिला सञ्जालमा महिलाहरूले प्रशंसनीय कामहरू गरेको भए पनि सधैँ महिला समस्याहरू बारे बोल्नका लागी मात्र महिलाहरूलाई सहभागी गराउने वातावरण बन्द गरिनु पर्ने दीपा राई बताउँछिन्।
उनका अनुसार नीति निर्माण तहमा पनि महिलाहरूलाई सहभागी गराउने वातावरण बनाइनु पर्छ।
उनी आफूमाथि प्रत्यक्ष लैङ्गिक विभेद नभएको बताए पनि दीपा राई यसका कतिपय पक्षमा यसको अस्तित्व नकार्न नसकिने बताउँछिन्।
"निर्णय गर्ने तहमा महिलाहरूले कसरी सहभागिता जनाउँछ ? सामान्य सचिव पदको नेतृत्व गर्न किन महिलाहरूलाई प्रोत्साहन गर्दैनौँ ? राष्ट्रिय परिषद्मा अध्यक्षका रूपमा आगामी कार्यकालका लागी अहिले सम्म केटीलाई ल्याउँछु भनेर कसैले योजना बनाएको छैन।"
आफूसँग रहेको क्षमतालाई बुझ्ने भन्दा पनि सहज हुन्छ भन्दैमा अरूले भनेको बाटोमा हिँड्ने र अरूलाई नै पछ्याउने गरेको देख्दा दुख लाग्ने रन्जु वाग्ले बताउँछिन्।
"अब के गर्ने दाइले यसो भन्नु भो, हार्नु भन्दा त बरु उहाँहरूले जे भन्नु हुन्छ त्यही गर्छु भन्ने गरेको पाइन्छ।"
तर साथमा वाग्लेले आफू अन्तर्राष्ट्रिय समन्वय परिषद्मा प्रवक्ता र सचिव हुँदा धेरै आलोचनाहरूको सामना गर्नु परेको सम्झँदै महिलाहरूलाई उच्च पदमा समर्थन पाउन निकै गाह्रो हुने गरेको अनुभव सुनाउँछिन्।
आफ्नो अनुभव र आत्मा विश्वास भए पनि समर्थन नपाइने कारण एनआरएनए को अध्यक्षको रूपमा उठ्ने सोच बनाउन नसकेको उनले बताएकी छन्।
उनले यस्ता निर्वाचनका समयमा पुरुषहरूले स्वघोषित नेता भएर को कुन पदमा उठ्ने भन्ने बारे निर्णय लिनुका साथै महिलाहरू लाई नै आपसमा लडाउन पनि पछि नहट्ने उनको आरोप थियो।

अरूलाई पछ्याउने हैन आफू नै सशक्त भएर परिवर्तन ल्याउन सक्ने क्षमता आफूमा रहेको सबिना नेउपाने बताउँछिन्।
पहिलो पटक गैर आवासीय नेपाली सङ्घमा आबद्ध भएको कारण यस अघि भएको राजनीतिले आफूलाई धेरै महत्त्व नराख्ने बरु आफ्नो मुद्दाहरूलाई लिएर आफ्नो आवाज राख्न तयार भएको बताएकी छन्।
हक्की स्वभाव र सरकारी स्तरमा नै नेपाल र नेपालीका विषयमा कुरा राख्न सक्छु भनेर आत्मविश्वास देखाउने सबिना आफू सुन्दर तर सशक्त रूपमा अगाडी आउनेमा विश्वस्त छिन्।
तर उनले पनि एनआरएनए एउटा 'ब्वाइज क्लब' जस्तो भएको बताएकी छन्।
एनआरएनए अस्ट्रेलिया को निर्वाचन आउन एक महिना पनि बाँकी नरहँदा धमाधम आफ्ना उम्मेदवारीका बारेमा सामाजिक सञ्जालमा प्रचार गर्ने थालनी भइसक्यो।
एनआरएनए अस्ट्रेलियाको राष्ट्रिय समन्वय परिषद्मा अहिले सम्म पनि कुनै पनि पक्षको कुनै पनि प्रमुख पदमा महिलाको नाम नआएको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्।

एसबीएस नेपाली सँग कुरा गर्ने सङ्घमा आबद्ध महिलाहरूका भनाइलाई मान्ने हो भने महिला उम्मेदवारले महत्त्वपूर्ण पदका लागी आफ्नो दाबेदारी दिए पनि धेरै तहका अड्चन देखिनेमा कसैको पनि दुई मत रहेन।
र उनीहरूको प्रमुख चुनौती देखियो आत्मविश्वास जुटाउनु, सङ्घ भित्रको गुटबन्दीमा गुट छनौट वा स्वतन्त्र उठ्ने आँट र लैङ्गिक विभेदलाई सामना गर्नु।
नोट:सबिना नेउपाने एसबीएसमा कार्यरत रहेकी छन्।
