सिड्नी लगायत राज्यका अन्य स्थानमा बस्ने करिब ३०,००० मानिसहरूलाई आफ्नो घर छोड्न या त्यसका लागि तयार हुन चेतावनी दिइएको छ।
भारी वर्षाले ग्रेटर सिड्नी भनिने बृहत् सिड्नी क्षेत्र, हक्सबरी-नेपियन र इलावारामा बाढीको खतरालाई ध्यानमा राख्दै राज्यका अधिकारीहरूले उक्त सूचना जारी गरेका हुन्।
यसै बिच, राज्य आपत्कालीन सेवा एसइएसले रातभर मद्दतको लागि सयौँ अनुरोधहरू आएको बताएको छ।
इलावारा, ब्लु माउन्टेन्स, सिड्नी महानगरीय क्षेत्र, हन्टर र सेन्ट्रल कोस्टका केही भागहरूमा १०० भन्दा बढी बाढीसम्बन्धी उद्धारहरू गरिएको पनि न्यु साउथ वेल्स एसइएसको भनाई छ।
राज्यका प्रिमियर डोमिनिक पेरोटेले सुरक्षा निर्देशनहरू पालना गर्न मानिसहरूलाई आग्रह गरेका छन्।
“कृपया, बाढीग्रस्त ठाउँमा जमेका पानी हुँदै, यात्रा नगर्नुहोस्,” उनले भने।
“हामी यो हरेक बाढीका बेला भन्दै आएका छौँ, यो केवल भन्नका लागि भन्ने कुरा होइन। यो कुरा हामीले तपाईँ सुरक्षित हुनुहोस् भनेर भन्ने हो।”
प्रिमियरका अनुसार हरेक बाढीका क्रममा मानिसहरूले यस्तो निर्देशनहरूको पालना नगर्दा, उनीहरूको उद्धार गर्नुपरेको र उद्धारका बिचमा उनीहरूले कहिलेकाहीँ आफ्नो ज्यानै समेत गुमाउनुपरेको पनि स्मरण राज्यवासीहरूलाई गराएका छन्।

उनी भन्छन् कि मानिसहरूलाई बाढीको समय, विभिन्न ठाँऊहरूमा जमेको पानीको गहिराई बारे यकिन गर्न सम्भव हुँदैन।
“पानी कत्तीको गहिराइसम्म जमेको छ, तपाईँ त्यो थाहा पाउन सक्नुहुन्न।”
उता, सङ्घीय आपतकालिन व्यवस्थापन मन्त्रीले बृहत् सिड्नीमा बस्ने र वर्षाले क्षतिग्रस्त समुदायहरूलाई १८ महिना यताकै सबैभन्दा खराब बाढी आउन सक्ने चेतावनी दिएका छन्।
सिनेटर मर्री वाट भन्छन् कि सङ्घीय सरकारले पछिल्लो अवस्थालाई ध्यानमा राख्दै बाढीग्रस्त क्षेत्रहरूमा थप रक्षा बल पठाउने प्रतिबद्धता गरेको छ।
साथै, अधिकारीहरूले अभिभावकहरूलाई स्कुल छुट्टीका योजनाहरूमा पुनर्विचार गर्न आग्रह गरिरहेका छन्।

न्यु साउथ वेल्स राज्यको आपत्कालीन सेवा मन्त्री र बाढी पुनर्निर्माण मन्त्री स्टेफ कुकका अनुसार भोलि मङ्गलवार, ५ जुलाईसम्ममा सङ्घीय सरकारले राहत सम्बन्धी घोषणाहरू गर्नेछ।
“हामी आसा गर्छौँ कि प्राकृतिक प्रकोप सहायता सम्बन्धी घोषणाहरू आज अबेर वा भोलि बिहानसम्ममा भइसक्नेछ,” उनले भने।
कुक भन्छिन् कि केन्ली भेल, कासी हिल, गस्फर्ड, नर्थ रिचमन्ड र रिचमन्डमा सात उद्धार केन्द्रहरूको स्थापना भइसकेको छ।
