उक्त घोषणाको क्रममा, सिड्नी र वरपरको क्षेत्रमा पश्चिममा ब्लु माउन्टेन, दक्षिणमा वुलङ्गगङ् र उत्तरमा सेन्ट्रल कोष्ट पर्ने पनि प्रष्ट पारिएको छ।
“यो निर्णयले हाम्रो आर्थिक गतिविधिलाई सुचारु अवस्थामै राख्ने र स्वस्थ्य समस्यामा पनि नियन्त्रण पाउने हामीले आशा राखेका छौ,” राज्यकी प्रिमियर ग्याडिस् बेरेजेक्लिनले बताईन्।
नियम पालना नगरिएको खण्डमा दुई सय डलरको जरिवाना तुरुन्त लाग्ने पनि उनले बताईन्। १२ बर्षभन्दा मुनिका बाल-बालिकाहरुले मास्क लगाउन अनिवार्य नरहे पनि, उनीहरुलाई नियम पालना गर्न सल्लाह पनि राज्य सरकारले दिएको छ।
यसका साथै जिममा हुने शारिरिक सुगठनका कक्षामा ३० जनाभन्दा बढीले भाग लिन पाउने छैनन् भने, चर्च, मन्दिर लगायतका धार्मिक केन्द्रहरुमा भने १०० जनाको उपस्थिति मात्र राख्न पाईने छ।
तर यो सँगै चार मिटरमा एक जनाको नियमको पनि पालना गर्नु पर्ने हुन्छ। नाईट क्लबहरुको संचालन अहिलेको लागि प्रतिबन्ध गरिएको छ।
यसैबिच, न्यु साउथ वेल्सले जारी गरेको सूचना अनुसार, गत २४ घण्टामा थप ७ जना कोरोनाभाईरसले संक्रमित भएको पाईएको छ। यसमध्ये एक जना बाहेक अन्यलाई अहिलेसम्म ज्ञात रहेको श्रोतबाट सरेको बुझिएको छ।
विगत २४ घण्टामा ३२ हजारले कोभिड-१९ को परिक्षण गरेको पनि बुझिएको छ।

यसैबिच, सिड्निको नर्दन बीचेसमा रहेको दक्षिणीभागलाई आज मध्यरातदेखि ग्रेटर सिड्नीकै भागमा जोडिने प्रिमियर बेरेजेक्लिनले बताईन्।
“त्यहाँ संक्रमणको संख्या निकै न्युन रहेको कारणले आज मध्यरातदेखि लागू हुने गरी त्यस क्षेत्र ग्रेटर सिड्मा पर्नेछ,” उनले भनिन्। यसको अर्थ, त्यहाँको बासिन्दालाई रहेको घरमै बस्ने आदेश भोलिदेखि फिर्ता हुनेछ।
उता नर्दन बीचेसको उत्तरी भेगमा रहेकाहरुले भने अझै पनि घर छोड्न नपाउने आदेशको पालना गर्नु पर्ने हुन्छ।
यसैबिच, सिड्नीमा हुन लागेको भारत र हस्ट्रेलियाबिचको क्रिकेट टेस्ट खेलको कोभिड-सुरक्षाका सम्बन्धमा थप जाँचबुझ गरिने पनि प्रिमियर बेरेजेक्लिनले बताईन्। यसबारेमा थप जानकारी पछि प्रेषित गरेिने पनि बताईएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
यसैबिच, विक्टोरियाले उक्थत राज्पयमा, थप १० जना कोभिड-१९ ले संक्रमित भएको पुष्टि गरेको छ। न्यु साउथ वेल्स राज्यसँग रहेको सीमा बन्द गरिए पछि, हिजो राति सीमा क्षेत्रमा निकै भिडदेखिएको पनि समाचारहरुले जनाएका छन्।
आज बिहानदेखि विक्टोरिता प्रवेश गर्नेले १४ दिनको क्वारेन्टाईनमा बस्नु पर्ने हुन्छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
