SKIP TO MAIN CONTENT

अस्ट्रेलियामा कोभिड-१९ मामिलाहरूमा वृद्धि हुने क्रम जारी, क्रिसमस अगाडी उच्च बिन्दुमा पुग्न सक्ने

यो साप्ताहिक कोभिड-१९ अपडेट हो।

GRAND PRINCESS COVID19 OUTBREAK
Passengers board the Grand Princess in Port Phillip Bay in Melbourne, Thursday, December 1, 2022. Five people have been taken to hospital after the cruise ship, with an outbreak of COVID-19 onboard, docked in Melbourne. Source: AAP / WILL MURRAY/AAPIMAGE

3 min read

Published

Updated

Presented by Sunita Pokharel

Source: SBS



Skip to article content

मुख्य बुँदाहरू:

  • तथ्याङ्कका अनुसार सन् २०२२ को ३१ अक्टोबरसम्म १३ हजार २१ जनाले कोभिड-१९ को कारण ज्यान गुमाए
  • लगेभ्रियो ७० र सो भन्दा माथिका हरूको लागि प्रयोग गर्नेबारे डोअर्टी इन्स्टिच्युटको समर्थन
  • आम प्रदर्शनका बिच चीनका ठुला सहरहरूमा कोभिड-१९ सम्बन्धी केही प्रतिबन्धहरू हटाइयो

अस्ट्रेलियाका राज्य तथा प्रदेशहरूमा साप्ताहिक कोभिड-१९ मामिलाहरू बढ्ने क्रमले निरन्तरता पाएको छ।

न्यु साउथ वेल्सले २० प्रतिशतको वृद्धिसँगै शुक्रवार ३७ हजार ७ सय ९६ कोभिड मामिलाहरू दर्ता गरेको छ।

भिक्टोरियामा २१ प्रतिशतको वृद्धि हुँदै २६ हजार ९ सय ७१ नयाँ मामिला देखिएका छन्।

यद्यपि, महामारी रोग विशेषज्ञहरू भने क्रिसमस अगाडी नै चौथो लहर उच्च बिन्दुमा पुग्ने कुरालाई लिएर सकारात्मक देखिएका छन्।

मेलबर्नको सङ्क्रमण र प्रतिरक्षा सम्बन्धी पिटर डोअर्टी इन्स्टिच्युटले एन्टीभाइरल औषधि लगेभ्रियो ७० र सो भन्दा माथिका वृद्ध स्याहार केन्द्रका बासिन्दाहरूका लागि प्रयोग गर्ने कुराको समर्थन गरेको छ।

लगेभ्रियो बेलायत र अन्य राष्ट्रहरूमा भने प्रयोगमा ल्याउन बन्द गरिएको छ।

इन्स्टिच्युटका अनुसार, उसले गरेको तर समीक्षा हुन भने बाँकी रहेको औषधि सम्बन्धी विश्लेषणले ७० वर्ष माथिका व्यक्तिहरूमा लगेभ्रियोको प्रयोगले अस्पताल भर्ना र मृत्यु हुने दरमा ३० प्रतिशतको कमी ल्याएको देखाएको छ।

फाइजरको प्याक्सलोभिड सबैभन्दा प्रभावकारी एन्टीभाइरल औषधि रहेको छ जसले कोभिडका कारण अस्पताल भर्ना र मृत्युको जोखिममा ८९ प्रतिशतको कमी ल्याउँछ।

अस्ट्रेलियाली तथ्याङ्क विभागको पछिल्लो एक आँकडाले अक्टोबर ३१ सम्ममा १३ हजार २१ जना कोभिड सङ्क्रमितहरूले ज्यान गुमाएको देखाएको छ।

जसमध्ये १० हजार ६ सय २० (८१.६ प्रतिशत) को मृत्युको कारण कोभिड-१९ रहेको थियो।

बाँकी २ हजार ४ सय १ जनामा भने कोरोनाभाइरस सङ्क्रमण देखिए पनि अन्य कारणले नै ज्यान गुमाएका थिए।

बिहीबार मेलबर्नमा फर्किएको ४ हजार यात्रुहरू बोकेको क्रुज पानी जहाजका पाँच जनालाई अस्पताल लागिएको छ।

अधिकारीहरूले ग्रान्ड प्रिन्सेसमा रहेका कति यात्रुहरूमा सङ्क्रमण रहेको छ भनेर कुल सङ्ख्या भने सार्वजनिक गरेका छैनन्।

न्यु साउथ वेल्स सरकारले सन् २०२१ को समयमा जारी गरेको ६२ हजार १ सय ३८ जरिवाना सूचना मध्ये ३३ हजार १ सय २१ वटा फिर्ता लिएको छ। कतिपय जरिवाना सूचना जरिवाना सम्बन्धी कानुन अन्तर्गत रहेर पर्याप्त जानकारी नराखी जारी गरिएको भन्दै न्यु साउथ वेल्स सर्वोच्च अदालतमा बहस भएपछि सो निर्णय गरिएको हो।

राज्य सरकारले जरिवाना तिरिसकेकाहरूको रकम फिर्ता गर्ने छ।

भिक्टोरियाका प्रमुख स्वास्थ्य अधिकारी प्रोफेसर ब्रेट सटनद्वारा सह लेखन गरिएको खोजमा कोभिडले विभिन्न प्रणालीहरूलाई असर पार्ने प्रमाण भेटिएको दाबी गरिएको छ।

महामारी रोग विशेषज्ञ स्टेसी रोवीले कोभिड-१९ सङ्क्रमितहरू मायोकार्डाइटिस (मुटु सुन्निने अवस्था) भएर अस्पताल भर्ना हुनु पर्ने सम्भावना अन्यमा भन्दा १५ गुणा बढी भएको बताएकी छिन्।

चिनियाँ अधिकारीहरूले आगामी दिनहरूमा कोभिड-१९ क्वारेन्टिन प्रतिबन्ध र सामूहिक जाँचलाई लिएर लचकता अपनाउने अनुमान गरिएको छ। बेइजिङ, शाङ्घाइ र गोञ्जाउ जस्ता ठुला सहरहरूमा प्रदर्शन भए पछि सो सम्भावना देखिएको हो।

विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो रिपोर्टले ३० नोभेम्बर सम्मको एक महिनामा विश्वव्यापी कोभिड मामिलाहरूको सङ्ख्या स्थिर रहेको देखाएको छ।

जापान, कोरिया, अमेरिका, फ्रान्स र इटालीमा सबैभन्दा धेरै कोभिड-१९ मामिलाहरू दर्ता गरिएको छ।

एसबीएस अस्ट्रेलियाका बहु सांस्कृतिक र बहुभाषिक समुदायहरूलाई कोभिड-१९ बारे सबै अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित र जानकार रहनुहोस्, र नेपाली भाषामा पछिल्लो जानकारीका लागि एसबीएस कोरोनाभाइरस पोर्टल नियमित हेर्नुहोस्


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now