पेन्सन पाक्ने उमेर बढ्दैन, सुपरएन्नुएसन बढ्छ: सङ्घीय ट्रेजरर जोस फ्राइडेनबर्ग

सङ्घीय सरकारले उमेरको हदबाट पाइने पेन्सन, अनिवार्य सुपरएन्नुएसन र स्वैच्छिक बचत माथि एक नयाँ विशेष समीक्षा हुने बताउँदै गर्दा विपक्षी लेबर पार्टीले भने उक्त समीक्षाका कारण "रिटायर्ड" भएपछि हुने कमाइमा कटौती हुने चिन्ता व्यक्त गरेको छ।

Treasurer Josh Frydenberg is moving to squash speculation of a rise in the pension age.

Treasurer Josh Frydenberg.. Source: AAP

सेवा निवृत्ति आय प्रणाली माथि हुने एक व्यापक समीक्षा घोषणा गर्ने क्रममा सङ्घीय ट्रेजरर जोस फ्राइडेनबर्गले पेन्सन पाउने उमेर नबढ्ने बताएका छन्।

अस्ट्रेलियामा तीन दशक यता पहिलो पटक हुन लागेको उक्त समीक्षाले उमेरका पुगेर ज्येष्ठ नागरिकहरूले पाउने पेन्सन, अनिवार्य सुपरएन्नुएसन र आवास स्वामित्व समेत रहने स्वैच्छिक बचत लगायतका विषयहरू हेर्नेछ।

उक्त समीक्षाका लागि विज्ञहरूको एक स्वतन्त्र टोली गठन हुने बताइएको छ जसले सेवा निवृत्त भएकाहरूलाई के कुराले मद्दत वा असहयोग गरिरहेको छ भनेर अध्ययन गर्नेछ।

अघिल्लो हप्ता पत्रकारहरूद्वारा गरिएको प्रश्नलाई सम्बोधन गर्ने क्रममा उनले पेन्सन पाक्ने उमेर हद नबढ्ने आश्वासन दिएका थिए।

उक्त घोषणा, “प्रडक्टिभीटी कमिसन” भनिने उत्पादकत्व आयोगले, यो वर्षको सुरुतिर जारी गरेको एक प्रतिवेदन सार्वजनिक भए देखि नै हुने अपेक्षा गरिएको थियो।

“हामीले हाम्रो सोच बदलेका छैनौँ।”

“हामीले खाली भविष्यमा गरिने नीति सम्बन्धी निर्णयहरू प्रमाणमा आधारित रहने दृष्टिकोणको विकास गर्न खोजेका हौँ, उनले भने।

चुनावी मिष्ठान्न?

सन् २०१४ मा आफ्नो विवादास्पद बजेट भाषणका बेला तत्कालीन ट्रेजरर जो हकीले सेवानिवृत भएर पेन्सन पाक्ने उमेरको हदलाई बढाएर ७० वर्ष पुर्‍याउने प्रस्ताव गरेका थिए।

तर, गत वर्ष म्यालकम टर्न्बुल पछि प्रधानमन्त्री बने लगतै, स्कट मरिसनले उक्त प्रस्ताव ठिक नरहेको भन्दै किनारा लगाएका थिए।

धेरै विश्लेषकहरूले मरिसनको उक्त कदमलाई चुनावी मिष्ठान्नको संज्ञा दिएका थिए।

६५, ६७ कि ७०?

पहिले कायम रहेको व्यवस्था अनुसार ६५ वर्ष भए पछि उमेर हदका कारण सेवा निवृत्त हुँदै पेन्सन पाक्थ्यो। तर, अहिले भने, हरेक दुई वर्षमा उक्त हद क्रमिक रूपमा ६-६ महिना बढ्दै गएर सन् २०२३ सम्ममा ६७ पुग्नेछ।

सजिलोको लागि, सन् १९५४, १ जनवरी देखि सन् १९५५, ३० जुनसम्म जन्मेका मानिसहरूको उमेर ६६ वर्ष पुगेपछि पेन्सन पाक्छ।

त्यसै गरी, सन् १९५५ जुलाई १ देखि सन् १९५६ डिसेम्बर ३१ सम्म जन्मेका मानिसहरूको हदमा भने सन् २०२१ जुलाई १ तारिखदेखि पेन्सन पाक्नेछ।

सन् १९५७ जनवरी १ पछि जन्मिने अरू सबैका लागि भने ६७ वर्ष पुगेपछि, १ जुलाई २०२३ देखि पेन्सन पाइने प्रावधान छ।

बढ्ला त सुपर?

सन् २०२१ देखि सुपरएन्नुएसन कम्तीमा १० प्रतिशत हुने र सन् २०२५ सम्ममा त्यसलाई बढाएर १२ प्रतिशत पुर्‍याइने सरकारी प्रतिबद्धतामा कुनै फेरबदल नहुने पनि फ्राइडेनबर्गले बताएका छन्।

विशेष गरी, लिबरल पार्टीका केही सांसदहरूद्वारा अनिवार्य रूपमा त्यसरी बढाइने सुपरएन्नुएसन को विरोध भएपछि उनले सरकारको अवधारणा स्पष्ट पारेका हुन्।

लेबरद्वारा प्रतिपादित सुपर सम्बन्धी उक्त योजनालाई पूर्व ट्रेजरर हकीले ७ वर्ष पछिका लागि धकेलिदिएका थिए।


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now