अस्ट्रेलियन नागरिकता सम्बन्धी प्रस्तावित नयाँ कानूनबारे वकिलहरु चिन्तित

अस्ट्रेलियाका वकिलहरूको छाता सङ्गठन - ल काउन्सिल अफ अस्ट्रेलियाले आतङ्कवादी क्रियाकलापमा लागेकाहरूको नागरिकता खारेज गर्ने गरी आउन लागेको नयाँ कानूनलाई सङ्घीय सांसदबाट कुनै पनि हालतमा पारित हुन नदिन केन्द्रियस्तरका राजनीतिज्ञहरूलाई आग्रह गरेका छन्।

Australian Citizenship

Source: AAP

अस्ट्रेलियन नागरिकता सम्बन्धी नयाँ एवं कडा कानूनले निम्न स्तरको आपराधिक एवं धार्मिक क्रियाकलापमा लागेका जो सुकै पनि राज्य विहीन हुनसक्ने भन्दै वकिलहरूले त्यसो चिन्ता व्यक्त गरेका हुन्।

मरिसन सरकार अस्ट्रेलिया मै जन्मे पनि अन्य कुनै राष्ट्रको नागरिक बन्न हकदार रहेका एवं आतङ्कवादी गतिविधिमा लागेका मानिसहरूलाई देश निकाला गर्नुपर्छ भन्ने मान्यता राख्दछ।

तर, अस्ट्रेलियाली कानून परिषद् भने नागरिकता रद्द गर्ने त्यस्तो कानून असामान्य किसिमले कडा रहेको र त्यसले अन्तर्राष्ट्रिय कानून मिच्दै मानिसहरूलाई राज्य विहीन बनाउने डर रहेको बताउँछन्।

हालको व्यवस्था अनुसार यदि तपाईँ अस्ट्रेलियन नागरिक हुनुहुन्छ र अन्य कुनै राष्ट्रको पनि नागरिकता तपाईँसँग छ र आतङ्कवादी हर्कतमा सामेल भएको आरोपमा यदि ६ वर्षभन्दा बढीको कारावास सजाय पाउनुभएको भए तपाईँको नागरिकता रद्द हुनसक्छ।

प्रस्तावित नयाँ कानूनमा भने सङ्घीय गृहमन्त्रीद्वारा आतङ्कवादको दोषी ठहर गरिएका कुनै पनि अस्ट्रेलियन नागरिकहरूको नागरिकता रद्द गर्न सक्ने छन्।

The Greek God of Justice
Source: AAP

क्यानबेरामा यो प्रस्तावित कानूनबारे छलफल गरिरहेको एक संसदीय जाँच समिति समक्ष कानून परिषद्का डेभिड नील सङ्घीय कानून निर्माताहरूलाई साबिक बमोजिम ६ बर्से कारावास सजाय थ्रेसहोल्ड नयाँ कानूनमा पनि राखिनुपर्नेमा जोड दिँदैछन् ।

"प्रस्तावित नयाँ कानून सरकारले पेस गरेकै रूपमा पारित भए साना-तिना कसुरहरु जुन स्थानिय अदालतको कार्यक्षेत्रमा पर्छ, त्यो पनि नयाँ बन्ने नागरिकता खारेजी सम्बन्धी कानूनको दायरामा आउने छ," उनले उक्त संसदीय जाँच समिति समक्ष प्रस्तुत गर्ने बयानमा उल्लिखित रहेको छ।

प्रस्तावित कानूनले कस्ता अपराधहरूलाई आतङ्कवादी सङ्गठनसँग जोडेर हेर्छ भन्ने कुरामा पनि डा. नील चिन्तित रहेका छन्।

"यो नयाँ कानून विना संशोधन यसै पारित भएमा केही विल्कुलै वैध सामाजिक तथा धार्मिक क्रियाकलाप एवं कार्यक्रमहरूमा भाग लिनु मात्रले पनि मानिसहरूको नागरिकता जोखिममा पर्न सक्छ," उनको बयानमा भनिएको छ।

साथै, दोषी प्रमाणित भएका आतङ्कवादीहरू अन्य देशको नागरिकता लिन हकदार छन् भन्ने कुरामा सङ्घीय गृहमन्त्री यथोचित रूपले सन्तुष्ट भए उनले त्यस्ता मानिसहरूको नागरिकता खारेज गरिदिन सक्नेछन्।

"हालसालैको घटनालाई आधार लिने हो भनेपनि अस्ट्रेलियनहरु अन्य देशको नागरिकता लिन हकदार छन् कि छैनन् भन्ने कुराको निर्क्योल गरिहाल्न त्यति सजिलो छैन। नील प्रकाश र सङ्घीय सांसदहरूको विदेशी नागरिकताको निर्धारण गर्न गाह्रो भएको घटनाले हामीलाई यो बताइसकेको छ," उनले समिति समक्ष भन्नेछन्।

"अन्य विदेशी राष्ट्रको निर्णयमा आधारित हुँदै हाम्रा नागरिक अन्य देशको नागरिक लिन हकदार छन् कि छैनन् भन्ने कुराले निकै भयावह स्थितिको सृजना गर्नेछ।"

ग्रिष्मकालिन छुट्टीहरू पछि मरिसन सरकारले आतङ्कवादी क्रियाकलापमा लागेका नील प्रकाश फीजीका नागरिक पनि हुन् भन्दै उनको नागरिकता खारेज गर्दै उक्त राष्ट्रसँग कूटनीतिक लडाइमा उत्रेको थियो।

मेलबर्नमा जन्मेका नील प्रकाशका बाबु फीजीका नागरिक भएता पनि फीजीले प्रकाशलाई आफ्नो नागरिक मानेको छैन।

प्रस्तावित कानून यथारुपमा पारित भएको खण्डमा दोहोरो नागरिकता हुने मानिसहरूको अस्ट्रेलियन नागरिकता रद्द भएर अर्को मुलुकले पनि उनीहरूलाई लिन अस्वीकार गरे त्यस्ता मानिसहरू गैर कानूनी आप्रवासीहरूलाई राख्ने स्थलमा अनिश्चित समयसम्म थुनिन सक्छन् भन्ने कुरा सङ्घीय सरकारले सङ्केत दिएको छ।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now