ईस्लामिक राज्यको आतङ्कमा साथ दिएका भनिएका निल प्रकाशको अस्ट्रेलियन नागरिता खारेज गर्ने गृह मन्त्री पिटर डट्टनको निर्णयले पूर्णता नपाउन सक्ने पछिल्ला समाचारहरूले जनाएका छन्। सुरुमा, फीजी र अस्ट्रेलियाको दोहोरो नागरिक रहेको भनिएका प्रकाशको, फीजीसँग कुनै सम्बन्ध नरहेको त्यहाँको प्रधानमन्त्रीले बताएको त्यहाँको समाचारपत्रहरूले उल्लेख गरेका छन्।
तर यता, अध्यागमन मन्त्री डेभिड कोलम्यान र गृह मन्त्री डट्टनले प्रकाशको नागरिता खारेजीमा अस्ट्रेलियाको सरकार अडिग रहेको बताएका छन्। दुई देशबिच यससम्बन्धीमा निरन्तर छलफल भइरहेको मंत्रीद्वयले जानकारी दिए।

यो पछिल्लो निर्णयका साथ, अस्ट्रेलियाले अहिलेसम्म १२ जनाको नागरिता खारेजी गरेको घोषणा गरेको छ।
मेलबर्नमा जन्मिएका प्रकाश, अहिले विभिन्न अभियोगका साथ टर्कीको जेलमा रहेका छन्। केही समयअघि अस्ट्रेलियाले उनको सुपुर्दगीको लागि टर्की समक्ष आग्रह गरेको थियो। तर टर्कीले, त्यहाँ गरिएको अपराधका लागि उनले त्यही सजाय पाउनु पर्छ भनी बताएको थियो।
यस विषयलाई थप स्पष्ट पार्दै, मन्त्री डट्टनले अपराधमा सक्रिय रहेकाहरूलाई अस्ट्रेलियाभित्रै कुनै ठाउँ छैन भनी बताए। देशभित्रै यसै पनि विभिन्न विषयमा सुरक्षा प्रबन्धिकरण गर्नु पर्ने बेलामा, दोहोरो नागरिता हुनेहरूलाई, यहाँ कुनै स्थान नरहेको सरकारको आधिकारिक भनाई रहँदै आएको छ।
मन्त्री डट्टनले आतङ्कवादमा रहेकाहरूलाई सरकारको स्पष्ट सन्देश छ भन्दै, दोहोरो नागरिता हुनेहरूको राहदानी, नागरिता सहजै खारेज गर्ने बताए।
निल प्रकाश ईस्लामिक राज्यका विभिन्न भिडियोहरूमा प्रभावकारी रूपमा प्रस्तुत भएका थिए। सन् २०१६मा सिरियाबाट टर्की प्रवेश गर्ने क्रममा उनलाई त्यहाँका सुरक्षाकर्मीहरूले पक्राउ गरेका थिए।
यसै समबन्धमा, मन्त्री डट्टनले – प्रकाशबिनाको अस्ट्रेलिया थप सुरक्षित रहेको बताए। यस देशको मान्यतालाई प्रकाशले प्रतिनिधित्व गर्दैनन्, त्यसैले उनी यहाँ नआएकै हामी सबैको हितमा छ भनी उनले बताए।
प्रकाशमाथि अस्ट्रेलियाभित्रै आतङ्क मच्चाउन खोजेको आरोप छ। मेलबर्नको एक पुलिस चौकी अगाडि दुई सुरक्षाकर्मीहरू घाइते हुने गरी भएको आक्रमणमा पनि उनको हात रहेको बताइन्छ।

समाचार अनुसार, प्रकाशका बाबु फीजीबाट आएकाले उनी फीजीका पनि नागरिक रहेका छन्।
तर कतिले भने, फीजी माथि समस्या थोपरेर, अस्ट्रेलिया समस्याबाट पन्छन् खोजेको आरोप लगाएका छन्।
डिकन युनिभर्सिटीका ग्रेग बार्टनले, फीजी आफ्नै विभिन्न समस्याहरूले अल्झिरहेको छ र यसमा, प्रकाशको समस्या पनि थप्नु अस्ट्रेलियाको लागि सुहाउँदैन भनी बताउँछन्। उनको भनाइमा, अस्ट्रेलियामै जन्मेका र हुर्केको प्रकाश, यस देशको उत्पादन हुन् र यही देशको जिम्मेदारी पनि हुन्।
प्राध्यापक बार्टनले, आर्थिक समस्याले ग्रस्त रहेको प्रशान्त महासागरिय देश फीजीको जिम्मामा प्रकाशलाई छोड्दा, दुई मुलुकबिच समस्याहरू आउने समभावना रहेको छ। तर सरकारले यस तथ्यलाई बेवास्ता गरेको उनको आरोप छ।
अस्ट्रेलिया सरकारको पछिल्लो निर्णय, देशको आन्तरिक राजनीतिले प्रभावित भएको प्रस्ट हुन्छ भनी, उनी बताउँछन्।
उता टर्कीले भने, प्रकाशले, त्यहाँ लागेको अभियोगको जेल सजाय काटे पछि मात्र उनलाई उनको देश फिर्ता गरिने बताएको छ।




