असाधारण राष्ट्रिय सम्बोधन मार्फत अस्ट्रेलियनहरूलाई 'आफ्नो जिम्मेवारी पूरा गर्न' प्रधानमन्त्रीद्वारा आग्रह

राष्ट्रको नाममा एक दुर्लभ सम्बोधन गर्दै प्रधानमन्त्री एन्थोनी आल्बनिजीले इन्धनको अभावका बेला देशवासीहरूले सहयोग गर्न सक्ने तरिकाहरू सुझाएका छन्।

A close up shot of Anthony albanese in a black suit

The prime minister has delivered an address to the nation, calling for Australians to 'help each other' as petrol and diesel prices spike. Source: AAP / Mick Tsikas

प्रधानमन्त्री एन्थोनी आल्बनिजीले आफ्नो पहिलो राष्ट्रिय सम्बोधनका क्रममा अस्ट्रेलियनहरूलाई "आफ्नो जिम्मेवारी पूरा गर्न" आग्रह गरेका छन्।

उनले मध्यपूर्वी युद्धका कारण उत्पन्न भएको "अविश्वसनीय समय" मा सबैलाई आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरेका हुन्।

स्ट्रेट अफ होर्मुजको जलमार्गमा जारी अवरोधले आर्थिक अस्थिरता तीव्र भएसँगै, पहिले नै रेकर्ड गरिएको तीन मिनेट लामो उक्त सम्बोधन, बुधवार, १ एप्रिल साँझ ७ बजे देशभर प्रसारण गरिएको थियो।

विश्वव्यापी इन्धन आपूर्ति व्यवस्थामा देखिएका व्यवधानहरूले कच्चा तेलको मूल्य बढाएर स्थानीय रूपमा पेट्रोल एवं डिजेलको अभाव सृजना गरेता पनि, आफ्नो सम्बोधनमा, उल्लेखनीय रूपमा, प्रधानमन्त्रीले यसलाई एक सङ्कटको नाम दिन भने अस्वीकार गरेका छन्।

राष्ट्रको नाममा जारी प्रधानमन्त्रीको सम्बोधन हेर्नुहोस्

अस्ट्रेलियामा, सामान्यतया, इराक युद्धमा संलग्नता जस्ता देशका ठूलो राष्ट्रिय घटनाहरूको घोषणा गर्न मात्र प्रयोग हुने सञ्चारको विधि प्रयोग गरेर आल्बनिजीले यसपाली परम्परा तोडेका छन्।

"मेरा अस्ट्रेलियन बन्धुहरू, स्वभावैले, हामी एक आशावादी देश हौँ। तर म बुझ्छु कि अहिले सकारात्मक हुन गाह्रो छ," आफ्नो सम्बोधन सुरु गर्दै उनले भने।

"मध्यपूर्वको युद्धले पेट्रोल र डिजेल मूल्य इतिहासमै सबैभन्दा उच्च मूल्यमा पुर्‍याएको छ। अस्ट्रेलिया यस युद्धमा सक्रिय सहभागी छैन।

"तर यसको कारणले सबै अस्ट्रेलियनहरू उच्च मूल्य तिर्दैछन्।"

यस सम्बोधनमा नयाँ कुराहरू थिएनन्, बरु केही दिनअघि घोषणा भएका कुराहरू नै दोहोर्‍याइएका थिए।

यस्ता योजनाहरूमा सोमबार राष्ट्रिय क्याबिनेटले स्वीकृत गरेको नेश्नल फ्यूल सेक्युरिटी प्लान भनिने राष्ट्रिय इन्धन सुरक्षा योजना, तीन महिनाको इन्धन अन्तःशुल्कमा २६.३ सेन्ट प्रति लिटर कटौती र ट्रक चालकहरूको हकमा भारी सवारी साधन सडक प्रयोगकर्ता शुल्कमा कटौती समावेश थियो।

उनले अस्ट्रेलियनहरूलाई इस्टर ब्रेकमा जान सुझाव दिँदै, सम्भव भएसम्म इन्धन बचत गर्न र आगामी दिनमा आउनसक्ने चुनौतीपूर्ण समयबाट पार पाउन "आफ्नो जिम्मेवारी पूरा गर्न" आग्रह गरे।

"यदि तपाईँ सडक मार्गबाट यात्रा गर्दै हुनुहुन्छ भने, आवश्यक भन्दा बढी इन्धन नलिनुहोस् - सामान्य अवस्थामा जस्तै तेल भर्नुहोस्। आफ्नो समुदायका अरूका बारेमा, ग्रामीण भेगमा बस्ने र अत्यावश्यक क्षेत्रमा काम गर्नेहरूका बारेमा सोच्नुहोस्," आल्बनिजीले भने।

"र, आउँदा साताहरूमा, यदि तपाईँ ट्रेन, बस वा ट्राममा यात्रा गर्न सक्नुहुन्छ भने, त्यही प्रयोग गर्नुहोस्।"

उनले स्वीकार गरे कि आर्थिक झट्काहरू "महिनौंसम्म हाम्रो साथ रहनेछ।"

"म बुझ्छु कि किसान, ट्रक चालकहरू, सानो व्यवसायहरू र परिवारहरू कठिनाइमा छन्।"

यो राष्ट्रको नाममा गरिएको सम्बोधन, पछिल्ला केही पटकहरूभन्दा स्पष्ट रूपमा फरक छ। अन्तिम पटक यस्तो सम्बोधन मार्च २०२० मा पूर्व प्रधानमन्त्री स्कट मोरिसनले कोभिड-१९ महामारीको सुरुवातमा गरेका थिए।

फेब्रुअरी २००९ मा, पूर्व प्रधानमन्त्री केभिन रडले यो विधि प्रयोग गरी चोरी भएका पुस्ता वा 'स्टोलन जेनेरेसन्स'सँग माफी मागेका थिए।

SORRY CANBERRA KEVIN RUDD
In 2009, then-Prime Minister Kevin Rudd delivere a long-awaited apology, saying sorry for "profound grief, suffering and loss" inflicted on generations of indigenous men and women. Source: AAP / Alan Porritt

पूर्व प्रधानमन्त्री जन हावर्डले भने सन् २००३ मा राष्ट्रलाई सम्बोधन गरेर घोषणा अस्ट्रेलिया इराक युद्धमा सहभागी हुने बताएका थिए।

अहिले अस्ट्रेलिया, चार चरणको राष्ट्रिय इन्धन प्रतिक्रिया योजनाको दोस्रो स्तरमा छ, र सरकारले जनतालाई आपूर्ति स्तर स्थिर रहने विश्वास दिलाएको छ, यद्यपि माग बढ्ने क्रममा मूल्यहरू उच्च भएका छन्।

बिहीबार, २ एप्रिलमा नेश्नल प्रेस क्लबमा उपस्थित हुँदै गर्दा, आल्बनिजीले अस्ट्रेलियाको स्थिति र मन्दीको सम्भावनाबारे थप प्रश्नहरूको सामना गर्नुपर्ने हुनसक्छ।


3 min read

Published

Updated

By Ewa Staszewska

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now