यस वर्षको संघीय संसद सभाको पहिलो सातामा वेस्टर्न अस्ट्रेलियाका सांसदहरू क्वारेन्टिनबाट प्रस्तुत हुने छन्। वेस्टर्न अस्ट्रेलियाका केही ठाउँहरूमा पाँच-दिने लकडाउनको घोषणा भए पछि यस्तो कदम चालिएको हो।
गत आइतबार होटेल क्वारेन्टिनका एक पुरुष सुरक्षा गार्डमा कोभिड-१९ पुष्टि भए पछि प्रिमियर मार्क म्याकगोवानले लकडाउन जारी गरेका हुन्। पछिल्लो १० महिनामा राज्यमा यो पहिलो सामुदायिक सङ्क्रमणको मामिला हो।
देशका अन्य राज्य तथा टेरिटोरीहरूले पनि वेस्टर्न अस्ट्रेलियाको पर्थ, पील र दक्षिण पश्चिमी क्षेत्रका लागि यात्रा प्रतिबन्धहरू जारी गरेका छन्। अस्ट्रेलियन क्यापिटल टेरिटोरीले (एसिटी) यात्रुहरू पाँच दिने क्वारेन्टिनमा बस्नु पर्ने बताएको छ।
यो नियम लागु भएको समयमा वेस्टर्न अस्ट्रेलियाका थुप्रै राजनीतिज्ञहरू मङ्गलबार सुरु हुने संसद सभाका लागि क्यानबेरातिर लागिसकेका थिए।
क्वारेन्टिनमा रहेका सांसदहरू मध्य रक्षा मन्त्री लिन्डा रेनाल्डस, आदिवासी अस्ट्रेलियाली मन्त्री केन व्याट र लेबरका एन एली र प्याट डड्सन पनि पर्दछन्। उनीहरूले भिडियो लिङ्क मार्फत सभामा प्रश्नहरू उठाउन पाउने छन्, तर कुनै भोट भने दिन पाउने छैनन्।

कोरोना भाइरस परीक्षणले सङ्क्रमण नभएको पुष्टि गरे तापनि उनीहरू शुक्रबार राति ९ बजेसम्म क्वारेन्टिनमा बस्नु पर्ने एसिटीकी उप प्रमुख स्वास्थ्य अधिकारी भनेसा जोन्सटनले बताइन्।
'हामीले वेस्टर्न अस्ट्रेलियाको परिस्थितिलाई नजिकैबाट नियालिरहेका छौँ र थप जानकारी प्राप्त भए लगत्तै अन्य घोषणा गर्ने छौँ।', उनले भनिन्।
त्यस्तै, हाल एसिटीमा रहेका वेस्टर्न अस्ट्रेलियाली बासिन्दाहरूलाई पनि तत्कालै एसिटीमा नफर्कन आग्रह गरिएको छ।
न्यु साउथ वेल्स, क्विन्सल्याण्ड, भिक्टोरिया र नर्दन टेरिटोरीले पनि आफ्ना यत्र प्रतिबन्ध जारी गरेका छन्।

न्यु साउथ वेल्समा - वेस्टर्न अस्ट्रेलियाबाट आएका यात्रुहरूलाई घर बस्न आग्रह गरिएको छ भने, सङ्क्रमण देखिएका स्थानहरूमा गएकाहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।
क्विन्सल्याण्ड पर्थ र त्यसका वरिपरिका क्षेत्रलाई कोरोना भाइरस हटस्पट घोषित गरेको छ र त्यहाँबाट आएका यात्रुहरू अनिवार्य १४ दिने क्वारेन्टिनमा बस्नु पर्ने हुन्छ।
भिक्टोरियाको ट्राफिक लाइट व्यवस्था अनुसार पर्थलाई "रेड जोन" मा राखिएको छ र त्यहाँका मानिसहरू यात्रा अनुमति बिना भिक्टोरिया प्रवेश गर्न पाउँदैनन्।
नर्दन टेरिटोरीमा भने कोरोना भाइरस नभएको भनी नतिजाले पुष्टि नगरे सम्म मानिसहरू सेल्फ-आइसोलेसनमा बस्नु पर्दछ।
ती सङ्क्रमित होटेल कर्मचारीका नजिकी सम्पर्कहरू मध्य सङ्क्रमण फैलिएको हुन सक्ने चेतावनी वेस्टर्न अस्ट्रेलियाली स्वास्थ्य अधिकारीहरूले दिएका छन्।
उनमा कोरोना भाइरसको बढी सङ्क्रामक बेलायती रूप पनि हुन सक्ने बताइएको छ। होटेलमा उनले काम गर्ने तल्लामा उक्त परिवर्तित रूपका सङ्क्रमित रहेको प्रिमियर म्याकगोवनले बताए।
ती सङ्क्रमित कर्मचारीले २६ र २७ जनवरीमा १२-१२ घण्टा काम गरेका थिए, २८ जनवरीदेखि लक्षणहरू देखिन थालेका थिए। बिरामी भएको होटेललाई खबर गरे पछि उनी काममा आएका छैनन्।
राज्य अधिकारीहरूले भाइरसको जोखिम रहेका क्षेत्रहरूको सूची तयार पारेको छ - त्यो हेर्न यहाँ जानुहोस्। यी स्थलहरूमा गएका सबैजनालाई परीक्षण गरी, नतिजा नआएसम्म सेल्फ-आइसोलेट गर्न बताइएको छ।
अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
तपाईँको राज्य वा क्षेत्रका लागि सान्दर्भिक निर्देशनहरू हेर्नुहोस् । न्यू साउथ वेल्स, भिक्टोरिया, क्विन्सल्याण्ड, वेस्टर्न अस्ट्रेलिया, नदर्न टेरीटरी, एसीटी, तास्मेनिया।
